२० वैशाख, काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औं कंग्रेस आगामी भदौको अन्तिम हप्ता नेपालमा हुने भएको छ ।
स्पेनको सान्ता सुसानामा बसेको एआईपीएस एसियाको बैठकमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजनाको जिम्मा पाएको हो ।
बैठकमा नेपाल मलेसिया र कीर्गिस्तानले दावी पेश गरेकोमा नेपालले उक्त दाबी जितेको थियो ।
नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि सन् २०१६ मा एआईपीएस एसियाको केन्द्रीय कार्यसमितिको वैठकको आयोजना गरेको थियो ।
नेपाललाई कंग्रेस आयोजनाको जिम्मा दिँदै एआईपीएस एसियाका अध्यक्ष दक्षिण कोरियाका हि डोङ जुङले एसियाको एक सक्रिय संस्था नेपाल खेलकुद पत्रकार मञ्चले विगतमा प्रभावकारी कार्यक्रम गर्दै आएको हुनाले ठूलो सम्मेलनको आयोजना गर्न सक्षम भएकोमा आफू विश्वस्त रहेको बताए ।
अध्यक्ष हि डोङले थपे, ‘एसियाली खेलकुद पत्रकारिताको दायरा सबै एसियाली मुलुकहरु फैलाउनका लागि पनि नेपाललाई यति ठूलो जिम्मेवारी दिइएको हो।’
एआईपीएस एसियाको कंग्रेस कतार, दक्षिण कोरिया, चीन, साउदी अरेविया जस्ता सक्षम राष्ट्रहरुले मात्र गरिरहेको इतिहासमा नेपालले पाएको यो पहिलो अवसर हो।
एआईपीएस एसियाको कंग्रेसमा ३० बढी एसियाली राष्ट्रका खेलकुद पत्रकारहरु उपस्थित हुनेछन् । त्यसमा अरु पाहुना राष्ट्रका पत्रकारहरु पनि सहभागी हुने बताइएको छ ।
आयोजनाको जिम्मा पाएपछि नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी देबेन्द्रले नेपाल खेलकुद पत्रकार मञ्चले यो अवसर पाउनुको पछाडि सम्पूर्ण सदस्यहरुको मिहिनेत र परिश्रम रहेको बताए ।
विगतमा मञ्चले गर्दै आएका कार्यक्रमहरु देखेर पहिलो पटक एउटा सानो सदस्य राष्ट्रलाई जिम्मेवारी दिएकोमा एआईपीएस एसियालाई धन्यवाद पनि दिए ।
उनले कंग्रेसलाई नेपाली खेलकुद क्षेत्र, नेपालको पर्यटन, नेपाली खेल पत्रकारहरुको बारे एसियालाई देखाउने मौकाको रुपमा सदूपयोग गर्ने बताए ।
यस्तै बैठकले अर्को वर्षको कंग्रेसको जिम्मा हङकङ स्पोर्ट्स प्रेस एशोसियसनलाई दिएको छ ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4