 
																						२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमाले मिलेर सरकार बनाउने विषयमा ठोस सम्वाद नभएको बताएका छन् ।
तर आम नागरिकमा जस्तै दुबै दलभित्र पनि मुलुकमा धेरै स्थिरता भएकाले ठूला दलहरु मिलेर सरकार बनाउने हो कि भन्ने धारणा रहेको उनले बताए ।
बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले राजनीतिक दलहरुबीच वार्ता र सम्वाद हुन स्वभाविक भएपनि आफूहरु अहिले नै समीकरण भत्काउन नहतारिएको बताए ।
एमालेसँग मिलेर सरकार बन्छ कि भन्ने प्रश्नमा उनले भने, ‘यसका बारेमा कुनै ठोस सम्वाद भएको छैन । एमालेसँग बसेर औपचारिक अनौपचारिक रुपले अब सरकार बनाऔं, यसरी बनाऔं भनेर सम्वाद भएको छैन ।’
उनले अगाडि भने, ‘तर समीकरणहरु बन्ने भत्किने हुन थाले, ससाना दलहरुलाई समेट्नुपर्ने, दलहरुका बीचमा कुरा नमिल्ने यसले अस्थिरता ल्याएको हुनाले कमसेकम ठूला दलहरु मिलेर सरकार बनाउने हो कि भन्ने आम धारणा बुझ्छु ।’
नागरिकमा जस्तै कांग्रेसभित्र र एमालेभित्र पनि धारणा रहेको हुनाले बेलाबेला सरकार बनाइहाल्ने हो कि भन्ने जसरी प्रकट हुने गरेको उनले बताए । कांग्रेस प्रमुख सचेतक लेखकले भने, ‘सरकार बनाइहाल्नेसम्म वार्ता सम्वाद भएको छैन ।’
तर ठूला राजनीतिक दलहरुका बीचमा केही विषयमा निरन्तर सम्वाद र सहकार्य हुनुपर्ने उनको भनाइ छ । शान्ति प्रक्रिया, संविधान निर्माण सबै सहमतिमा सम्भव भएको भन्दै नेता लेखकले भने, ‘संविधान जारी भएको ८ वर्ष भइसक्यो । संविधान आफैंले केही विषय १० वर्षमा रिभ्यू गर भनेको छ ।’
संविधानको अभ्यास गर्ने क्रममा केही जटिलता देखिएकाले यसको समीक्षा गर्नुपर्ने उनले बताए । अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन लगायतमा पनि प्रमुख दलहरुबीच निरन्तर सम्वाद हुनुपर्ने कांग्रेस प्रमुख सचेतक लेखकको जोड छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4