 
																			३० वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरु सांसद र मन्त्रीका लागि मात्रै नभई समाजवादका लागि ०८४ को चुनावमा जान लागेको बताएका छन् । उनले ०८४ को चुनावलाई समाजवादी अभियानका रुपमा प्रयोग गर्न लागेको बताए ।
लामो समयदेखि चुनाव बहिष्कार गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलको वैशाख पहिलो हप्ता कपिलवस्तुमा बसेको पोलिटब्युरो बैठकबाट ०८४ को निर्वाचनमा भने भाग लिने निर्णय भएको थियो ।
महासचिव विप्लवले जनताहरुले आफूबाट धेरै आशा राखेकाले चुनावमा भाग लिने गरेको सुनाए । ‘चाहे नयाँ पार्टीलाई दिनुस् या अर्को पार्टीलाई दिनुस् आधारभूत रुपमा यो सत्ताको चरित्रलाई बदल्नुपर्छ र त्यो भनेको समाजवाद हो’, न्युज एजेन्सी नेपालसँग विप्लवले भनेका छन्, ‘त्यसैले समाजवादमा जाने अभियानको रुपमा चुनावलाई प्रयोग गर्ने हो ।’
महासचिव विप्लवले समाजवादकै लागि भनेर आफूहरुले भोट माग्ने योजना सुनाए । ‘अहिले भइरहेको परम्परागत लिडर हुँदैन भने त्यही गएर पोखिने होइन’, उनले भने, ‘अहिले विचलन, विघटनतिर गइरहेको गोलचक्करको राजनीतिलाई ट्रयाकमा ल्याउन समाजवादी अभियानमा लागौं र नयाँ राज्य बनाउने आन्दोलनमा लागौं ।’
कम्युनिस्ट आन्दोलनमा चुनावलाई हेर्ने दृष्टिकोण २१औं शताब्दीमा आइपुग्दा अपूर्ण बताउँदै विप्लवले भने, ‘२१ औं शताब्दीमा नयाँ वर्गहरुको विकास भएको छ, नयाँ राजनीतिक विशेषताहरु देखापरेका छन्, विश्वमा प्राविधिक र सूचना क्षेत्रहरु नयाँ बनेका छन् । योबाट चुनावलाई हेर्ने दृष्टिकोण र गर्ने व्याख्या नयाँ बनाउनुपर्छ भन्ने हामीेले विश्लेषण गर्यौं ।’
नेपालको राजनीति पनि संवेदनशील ठाउँमा आएको र साम्राज्यवादीहरुको हस्तक्षेप भइरहेको बताउँदै यो बेला हामीले चुनावबारे फरक दृष्टिकोण अपनाउन जरुरी रहेको विप्लवको तर्क छ । ‘किनकी यो कम्युनिष्ट आन्दोलनसँग पनि सम्बन्धित भएर आएको छ र तात्कालीक राजनीति पनि नयाँ ठाउँमा देखापरेको हाम्रो निष्कर्ष छ’, उनले भने, ‘यसकारण हामीले यसलाई प्रयोग गर्न खोजेका छौं ।’
आम निर्वाचनमा भाग लिने निष्कर्ष निकाले पनि आफूले कहाँबाट चुनाव लड्नेबारे अझै टुंगो नलागेको विप्लवले बताएका छन् । उनले नेकपा एमाले, माओवादीसँगै चुनावी मोर्चा बनाएर निर्वाचनमा जान सक्ने सम्भावना रहेको सुनाए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4