+
+

डीपी ढकालको पुस्तक ‘समाजवादी क्रान्तिका दुई चरण’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १८:४५

३० वैशाख, काठमाडौं । राजनीतिक नेता तथा अर्थराजनीतिका विज्ञ सर्जक डीपी ढकालको नयाँ पुस्तक ‘समाजवादका दुई चरण’ सार्वजनिक भएको छ ।

ढकालले नेपालमा समाजवादी क्रान्ति पूरा गर्न दुई चरण पार गर्नुपर्ने निष्कर्षसहित ती दुई चरण के–के हुन् र तीनलाई कसरी पूरा गर्नुपर्छ भन्ने तथ्य र तर्कहरू पुस्तकमा पेस गरेका छन् ।

ढकालले पुस्तकमा समाजवादका लागि पहिलो चरणमा ‘समाजवादोन्मुख राज्य संरक्षित औद्योगिक पुँजीवाद’ को बाटोमा अघि बढ्नुपर्ने र दोस्रो चरणमा ‘समाजवादमा संक्रमणको महाभियान आवश्यक हुने’ तर्क गरेका छन् ।

‘समाजवाद निर्माणको पहिलो चरण समाजवादोन्मुख राज्य संरक्षित औद्योगिक पुँजीवाद निर्माण गर्नुपर्ने हुन्छ । जसअर्न्तगत उत्पादनको वृद्धि, उत्पादक शक्तिको विकास, राष्ट्रिय आयको समानताका आधारमा वितरण, राष्ट्रिय आय र बचतको वृद्धि र मौलिक हक र अधिकारको कार्यान्वयनमार्फत आधारभूत समानता कायम गर्ने हुनुपर्दछ’, ढकालले समाजवादी क्रान्तिको पहिलो चरणबारे पुस्तकमा उल्लेख गरेका छन् ।

उनले उत्पादन वृद्धिको कार्यक्रम बनाउँदा सार्वजनिक क्षेत्रको नेतृत्वदायी भूमिका बनाउन योजनावद्ध पहल लिनुपर्ने आवश्यक्ता औंल्याएका छन् । यो चरणका लागि कति समय अवधि आवश्यक पर्दछ भन्ने देशको आर्थिक अवस्था, वर्गहरूको आन्तरिक शक्ति सन्तुलन र कम्युनिस्ट पार्टीको आत्मगत अवस्थाले निर्धारण हुने तर्क गरेका छन् । ‘समाजवादोन्मुख राज्य संरक्षित औद्योगिक पुँजीवादको चरणमा छिटो पुग्ने र छिट्टै समाजवादको परिपक्व चरणमा समाजलाई लैजानमा कम्युनिस्टको हरदम कोसिस हुनुपर्दछ’, ढकालले पुस्तकमा उल्लेख गरेका छन् ।

ढकालले पहिलो चरणमा उत्पादकत्व वृद्धि, कृषि, जलस्रोत, वन पैदावर र जडिबुटी, खनिज, विज्ञान प्रविधि र आविष्कार, पर्यटनअन्तर्गत धार्मिक पर्यटन, हिम पर्यटन, जल पर्यटन, वन, सांस्कृतिक पर्यटनको विकासमा जोड दिएका छन् ।

उनले समाजवादी क्रान्तिको दोस्रो चरण अघि बढाउन समाजवादमा संक्रमणको महाभियान आवश्यक हुने तर्क गरेका छन् । ‘अर्थ राजनीतिको पहिलो चरण सफलतापूर्वक कार्यान्वयन गरिसकेपछि समाजवादमा संक्रमणको बलियो आधार निर्माण हुनेछ । समाजवादमा संक्रमणको आधार उत्पादन वृद्धि, आधारभूत समानता, बलियो राष्ट्रियता र सवल जनतन्त्रको जगमा टेकेर मात्र सम्भव हुनेछ’, दोस्रो चरणबारे उनको तर्क छ ।

अर्थ राजनीतिको पहिलो चरण सफलतापूर्वक कार्यान्वयन गरिसकेपछि समाजवादमा संक्रमणको बलियो आधार निर्माण हुने तर्क गर्दै ढकालले समाजवादमा संक्रमणको आधार उत्पादन वृद्धि, आधारभूत समानता, बलियो राष्ट्रियता र सवल जनतन्त्रको जगमा टेकेर मात्र सम्भव हुने उल्लेख गरेका छन् ।

उनले समाजमा समाजवादी विचारधाराको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रभुत्व स्थापित गर्ने काम पहिलो चरण पार गरेपछि दोस्रो चरणमा समाजवादमा संक्रमण बल प्रयोगद्वारा हुन्छ कि शान्तिपूर्ण भन्नेबारेमा त्यसबेला पैदा हुने शक्ति सन्तुलनले निर्धारण हुने तर्क गरेका छन् ।

प्रतिक्रियावादी विचार र पुनरुत्थानवादी शक्तिहरूलाई जनताको संगठित राजनीतिक पहलकदमीबाट निस्तेज पारेपछि मात्र समाजवादमा हुने अन्तरसंघर्षको सञ्चालनमा माओले भनेझैं विचारका सयौं फूललाई फुल्न दिने नीति लिनुपर्ने ढकालको बुझाइ छ । समाजवादलाई जनताको व्यापक स्वेच्छिक केन्द्रीकरणको साझा अभियानको रूपमा विकसित गरिनुपर्ने तर्कसहित उनी समाजवादको अर्थनीतिमा मूलतः समाजको स्वामित्व स्थापित भएको हुनुपर्ने पक्षमा छन् ।

पुस्तकमा समाजवादको निर्माण, पुँजीवादी विश्व व्यवस्थाको विकास, समाजवादी अर्थराजनीतिको अन्तर्राष्ट्रिय अनुभव, समाजवादी क्रान्तिका दुई चरण, समाजवादमा संक्रमणको नेपालको मौलिक बाटोलगायतका आठ वटा शीर्षकमा तर्क र तथ्यहरू प्रस्तुत गरिएका छन् ।

पुस्तकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढकालले गरेका तर्कलाई बहसको विषय बनाउनु पर्ने टिप्पणी गरेका छन् । ‘समाजवादको तयारीका सन्दर्भमा पनि नेपालको आफ्नै मौलिकता रहन्छ । जहाँसम्म समाजवादको आधार तयार पार्ने कार्यभारलाई कसरी व्याख्या गर्ने, दुई चरणका रुपमा परिभाषित गर्ने वा सोभन्दा कम वा बढी, त्यो एउटा बहसको विषय हुन सक्छ’, प्रचण्डले ढकालको पुस्तकमा टिप्पणी गरेका छन् ।

यस्तै बागमती प्रदेश नीति तथा योजना आयोगका नरविक्रम थापाले ढकालको पुस्तकमा वर्तमान विश्वको अर्थ राजनीतिक अवस्था, दक्षिण एसिया र नेपालको विगतदेखि वर्तमानसम्मको आर्थिक, राजनीतिक र सामाजिक अवस्थाको बारेमा मार्क्सवादी दृष्टिकोणबाट सटिक व्याख्या तथा विश्लेषण गरिएको टिप्पणी गरेका छन् ।

अर्थराजनीतिका विज्ञ हरि रोकाले असल मौकाको सदुपयोग गर्न चुकेर उबडखाबड बाटो हिंडेर यहाँसम्म आइपुगेको नेकपा माओवादी केन्द्रले अबका दिनमा सैद्धान्तिक रूपमा कसरी अगाडि बढ्नुपर्छ भनेर सैद्धान्तिक तथा वैचारिक हिसाबले चिन्ता लिने व्यक्तिका रुपमा ढकालले माओवादी केन्द्रको बचाउमा यो पुस्तिका लिएर उभिएको भनेका छन् ।

अर्का विश्लेषक सोमत घिमिरेले यो किताव पढेर यसैमाथि बहस गर्ने हो भने समाजवादी बाटोका लागि सानै भए पनि योगदान पुग्ने टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका ढकालको यो सातौं कृति हो । ढकालका यसअघि नेपाली क्रान्ति, अग्नियात्रीका सपनाहरू, पर्खालभित्रबाट चियाउँदा राजनीति, कम्युनिस्ट आन्दोलनका बहस, पुँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम, समाजवाद र नेपाल जस्ता पुस्तक प्रकाशन भइसकेका छन् । समसामयिक विषयमा स्तम्भहरू लेख्ने ढकाल अर्थराजनीकि विषयमा गहिरो ज्ञान राख्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?