 
																						३१ वैशाख, काठमाडौं । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत लिनका लागि बिहान ११ बजे बस्ने भनिएको कोशी प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन । नेपाली कांग्रेस आन्तरिक छलफलमा रहेपछि बैठक सुरु हुन नसकेको हो ।
सरकारको वैधतामा प्रश्न उठाउँदै अदालतमा मुद्दा विचाराधीन रहेको बेला विश्वासको मत लिन लागेको भन्दै कांग्रेस असन्तुष्ट छ । आजको प्रदेश सभा बैठकमा कांग्रेसले संविधान, कानुन र अदालतमा विचाराधीन मुद्दाका विषयमा सभामुखको ध्यानाकर्षण गराउने जनाएको छ । यदि त्यसको बेवास्ता गरे प्रदेश सभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेस केन्द्रको पदाधिकारी बैठकको यही सन्देश लिएर नेता मीन विश्वकर्मा विराटनगर पुगेका छन् । उनले अनलाइनखबरसँग भने, ‘संविधान, कानुन र अदालतमा विचाराधीन मुद्दाका विषयमा सभामुखको ध्यानाकर्षण गराउने भनिएको छ ।’
संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोजमा नियुक्त मुख्यमन्त्री केदार कार्कीले साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकालेर २६ वैशाखमा नयाँ सरकार गठन आह्वान गरेका थिए ।
२७ वैशाखमा एमालेका हिक्मत कार्कीले माओवादीको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेपछि त्यसै दिन प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसै दिन मुख्यमन्त्री कार्कीले एमाले र माओवादीका एक/एक नेतालाई मन्त्रिपरिषदमा सहभागी गराइसकेका छन् ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले सरकार गठनको प्रक्रिया नमिलेको जिकीर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले हिक्मत कार्कीको नियुक्त बदर गर्न र आफूलाई मुख्यमन्त्रीका रूपमा काम गर्न दिन अन्तरिम आदेशसमेत माग गरेका थिए ।
रिटमा गत शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फुँयालको इजलासले अन्तरिम आदेश भने दिएन । तर यो मुद्दाको अन्तिम टुंगो लगाउँदा पूर्ण इजलासले निर्कयौल गर्नुपर्ने प्रश्नहरू सूचीबद्ध गर्दै आगामी जेठ ८ जेठका लागि पेशी तोकिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4