
काठमाडौं । नेपालीलाई लक्षित गरी गुगल करियर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रम सुरु भएको छ ।
प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न आवश्यक कौशलसहित विश्वव्यापी दक्षता प्रदान गर्ने उद्देश्यले आईटी र प्रविधि क्षेत्रमा रुचि भएका व्यक्तिले यो कार्यक्रममा भाग लिन सक्ने छन् ।
गुगल एलएलसीको सहकार्यमा मेरो जब लिमिटेडले सुरु गरेको कार्यक्रमले सहभागीहरूको दक्षता र योग्यता विशेष गरी गतिशील सूचना प्रविधि क्षेत्रमा अगाडि बढाउन उपयुक्त हुने विश्वास गरिएको छ ।
कार्यक्रमबाट ५०० आवेदकहरूलाई गुगल प्रमाणित करियर सर्टिफिकेट पाठ्यक्रमहरूमा ६ महिनाको अनलाइन प्रशिक्षणका लागि छात्रवृत्ति भर्ना गर्ने योजना छ ।
आर्थिक पत्रकारलाई समेत उक्त कार्यक्रममा सहभागिता गराउने उद्देश्यले सेजनसँग सहकार्य समेत भएको छ । सेजन अध्यक्ष सुजन ओली र मेरो जबका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले समझौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अनलाइनमाध्यमबाट सञ्चालन हुने छात्रवृत्ति कार्यक्रममा कुल ६ वटा क्षेत्रमा पाठ्यक्रम सञ्चालन हुने छ । यी कार्यक्रमहरू सामान्यतया आईटी समर्थन, डाटा एनालिटिक्स, परियोजना व्यवस्थापन, प्रयोगकर्ता अनुभव यूएक्स डिजाइन, डिजिटल मार्केटिङ र साइबर सुरक्षा जस्ता क्षेत्रको भूमिकाका लागि आवश्यक प्राविधिक सिप र ज्ञानमा केन्द्रित हुन्छन् ।
छात्रवृत्ति कार्यक्रममा छनोट हुनेले ६ महिनाको अवधिको पाठ्यक्रम र त्यसमा लिइने परीक्षा तथा मूल्यांकनमा उत्तिर्ण भएपछि प्रमाणपत्र प्राप्त गर्नेछन् । यो प्रमाणपत्र अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त हुने प्रवन्ध निर्देशक गिरिले जानकारी दिए । आर्थिक रूपमा पिछडिएको वर्ग वा सीमान्तकृत समूहका आवेदकहरूलाई प्राथमिकता दिइने गिरिले जानकारी दिए ।
गुगलबाट पहिलो पटक यस प्रकारको कार्यक्रम नेपालमा सञ्चालन हुन लागेको हो ।
प्रतिक्रिया 4