+
+

रणनीतिक साझेदारीमा सी र पुटिनको  हस्ताक्षर, युद्धबारे के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १७:३१

३ जेठ, काठमाडौं । चीन र रूस थप रणनीतिक साझेदारीतर्फ अग्रसर भएका छन् । बिहीबार बेइजिङ पुगेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङले रणनीति साझेदारी सम्बन्धमा संयुक्त हस्ताक्षर सहित सहमति गरेको सिन्ह्वाले उल्लेख गरेको छ ।

दुई मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाठको उपलक्ष्यमा चीन र रूसले रणनीतिक साझेदारीबारे हस्ताक्षर गरेका हुन् । सिन्ह्वासँग कुराकानी गर्दै पुटिनले बहुध्रुवीय विश्वको नयाँ आवश्यकता अनुसार चीन र रूसबीच रणनीतिक साझेदारीमा हस्ताक्षर हुने बताएका थिए ।

रणनीतिक साझेदारीमा हस्ताक्षर गर्दै सीले रूस र चीनबीचको सम्बन्ध कडा मिहिनेतले बनेको भन्दै विश्वमा न्याय र निष्पक्षताका लागि दुई मुलुकको आपसी सम्बन्ध अझै गहिरो हुन जरुरी रहेको बताएका छन् ।

सीको भनाइ उधृत गर्दै मस्को टाइम्सले लेखेको छ, ‘विश्वमा न्याय र निष्पक्षता स्थापनाका लागि दुई मुलुकबीच अझै सहकार्य हुन जरुरी छ । कडा मिहिनेतपछि स्थापित आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्ने आवश्यकता छ ।’

अन्तर्राष्ट्रिय जगतलाई नयाँ ढंगमा चलाउन र विश्वको स्थायित्वका लागि चीन र रूसबीचको मित्रता विशेष रहेको पुटिनले बताएका छन् । ‘रूस र चीनको सम्बन्ध अवसरवादी छैन । हाम्रो मित्रता कसैको विरुद्धमा पनि होइन । हाम्रो सम्बन्ध बहुध्रुवीय विश्वलाई नयाँ रूपमा अघि बढाउनका लागि हो । अन्तर्राष्ट्रिय कानुनमा आधारित हाम्रो सम्बन्ध विश्वको हितमा छ’, पुटिनको भनाइ उधृत गर्दै मस्को टाइम्सले जनाएको छ ।

सी र पुटिन दुबैले रूस-युक्रेन युद्धको समाधान राजनीतिक रूपमा हुनुपर्ने बताएका छन् । पुटिन र सीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा सम्बोधन गर्दै पुटिनले भनेका छन्, ‘युद्ध अन्त्यका लागि संवाद गर्न रूस सधैं खुला छ । युद्धमा संलग्न सबै राष्ट्रको हित हुनेगरी हामी सम्झौताका लागि तयार छौं । हाम्रो धारणा चीनले राम्रोसँग बुझेको छ ।’

सम्बोधनमा सीले युद्धबारे चीनको नीति सबैलाई जानकारीमा रहेको बताएका छन् । ‘सबै राष्ट्रको स्वाधीनता र अखण्डताको सम्मान हुनेगरी र क्षेत्रीय शान्ति र स्थायित्व सुनिश्चित हुनेगरी युद्ध अन्त्य हुनुपर्छ भन्ने चीनको धारणा हो’, उनको भनाइ उधृत गर्दै सिन्ह्वाले लेखेको छ ।

यस्तै सीले चीन सधैं युरोपमा शान्ति र स्थायित्वको पक्षमा रहेको र त्यसका लागि रचनात्मक पहल गर्ने बताएका छन् । ‘युरोपेली महादेशमा शान्ति र स्थायित्व कायमका लागि रचनात्मक सहयोग गर्न चीन सधैँ तयार छ’, उनले भनेका छन् ।

सी गत सातामात्रै युरोपको पाँच दिने भ्रमणमा अन्त्य गर्दै बेइजिङ पुगेका थिए । फ्रान्सेली सकमक्षी इम्यानुएल म्याक्रोंले सीलाई युद्ध अन्त्यका लागि पुटिनसँग संवाद गर्न आग्रह गरेका थिए ।

रूसमा पाचौं कार्यकालका लागि राष्ट्रपतिमा चयन भएका पुटिनले शपथपछि पहिलो अन्तर्राष्ट्रिय भ्रमण चीनमा गरेका हुन् । पश्चिमा प्रतिबन्धविरुद्ध जुध्नका लागि रूसले चीनको सहयोग लिइरहेको छ । त्यति मात्रै नभएर पश्चिमा गठबन्धनविरुद्ध नयाँ विकल्प पेशका लागि चीन र रूसले वैकल्पिक गठबन्धन निर्माणको प्रयत्न समेत जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?