४ जेठ, धुलिखेल । नेपाली खेलकुदले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्ने अभियानमा राष्ट्रिय खेलकुद परिषदले अर्को पुस्तक एसियाडमा नेपाल प्रकाशन गरेको छ ।
चीनको हाङचाउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा केन्द्रमा राखेर प्रकाशन गरिएको पुस्तकको शुक्रबार धुलिखेलमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ ।
राष्ट्रिय खेल संघ सबलीकरण कार्यक्रमको उद्घाटनका क्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल र नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले संयुक्त उक्त पुस्तकको विमोचन गरेका थिए ।
मन्त्री श्रेष्ठले खेलकुदको अभिलेख राख्ने कार्य महत्वपूर्ण रहेको बताउँदै एसियाडमा नेपाल पुस्तक आउनु सराहनीय भएको बताए । उनले आफ्ना खेलाडी, प्रतियोगितासहितका गतिविधिलाई हरेक संघले अझ डिटिजलको माध्यमबाट अभिलेखीकरण गर्न सके भविष्यमा नेपाली खेलकुद विकासमा त्यसले ठूलो भूमिका खेल्ने बताए ।
परिषद्का सदस्यसचिव घिसिङले नेपाली खेलकुदलाई लिपिबद्ध गर्ने कार्यलाई राखेपले प्राथमिकता दिएको बताए । उनले नवौं राष्ट्रि«य खेलकुद, वार्षिक दर्पण प्रकाशन गरिसकिएको र तेस्रो प्रकाशनको रुपमा एसियाली खेलकुदलाई समेटिएको यस पुस्तक तयार गरिएको बताए । आउने दिनमा पनि प्रकाशन कार्यलाई निरन्तरता दिने बताउँदै उनले डिजिटलको माध्यमबाट पनि आफ्नो गतिविधिलाई प्रकाशन र प्रशारण गरिरहेको जानकारी गराए ।
राखेप प्रचारप्रसार शाखाका प्रमुख खुशराज दाहालले १९ औं एसियाडलाई केन्द्रविन्दुमा राखेर नेपालको अहिलेसम्मको एसियाड सहभागिता, पदक जितेको इतिहास, रजत पदक विजेता खेलाडीहरुको अनुभव, चौथो पारा एसियाली खेलकुदका बारेमा विस्तृत विवरण समावेश गरिएको जानकारी गराए । उनले हरेक संघले आफ्नो गतिविधिलाई यस्तै पुस्तकबाट माध्यमबाट लिपिबद्ध गर्न आह्वान पनि गरे । प्रमुख दाहालले पुस्तक लेखनमा खेलपत्रकार धु्रवकुमार तुलाधर र गोविन्दराज नेपालले सहयोगी भूमिका खेलेको जानकारी गराए ।
 
                    










 २०८१ जेठ  ४ गते २१:५८
                        २०८१ जेठ  ४ गते २१:५८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4