 
																			९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले २०८१ जनाका लागि खुलाएको निःशुल्क सीप तथा तालिम लिन ४३ हजार जनाभन्दा बढीले आवेदन दिए ।
सुरुमा अनलाइन फारम लिएको महानगरले आवदेक धेरै भएपछि टुँडिखेलमै फारम भर्ने व्यवस्था मिलायो । मागिएको सिटसंख्याभन्दा ४० हजार जनाभन्दा बढीले आवेदन दिएपछि महानगर चकित परेको छ ।
‘सुरुमा यसरी सीप सिक्न आउनेहरु धेरै हुन्छन् भन्ने यसरी सोचेका थिएनौं । यो हाम्रो लागि पनि नयाँ हो’ महानगरको योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झा भन्छन् ।
सीप मेलामा महानगरले अटोमोबाइल्स, हस्पिटालिटी, सूचना प्रविधि, मेकानिकल, गार्मेन्ट्स, ब्युटिसियन २९ प्रकारका पेशागत तालिम दिने बताएको थियो ।
आवेदकमध्ये सबैभन्दा धेरैको रुचि हस्पिटालिटी, ब्युटिसियन र सूचना प्रविधिमा देखिएको छ । ‘अहिले बजारमा माग पनि राम्रो छ । त्यसमाथि यो क्षेत्र भनेको आफैंले उद्यम सुरु गर्न सक्ने क्षेत्र हो’, योजना आयोगका सदस्य झाले भने ।

टुँडिखेलमा जारी सीप मेलामा तालिम लिन आवदेन दिएको मध्ये धेरैमा युवामा सीप सिकेर आत्मनिर्भर बन्ने हुटहुटी छ । बारिस्टा तालिम लिन सीप मेलामा आएकी सुनसरीकी बबिता लिम्बु पनि आफैं उद्यमी बन्ने सोचमा रहेको बताइन् । ‘सीप सिकेरै विदेश जाँदा पनि राम्रै हुन्छ । तर, आफैं सीप सिकेर व्यवसाय गर्दा पनि राम्रै होला भन्ने लाग्यो’ उनले भनिन् ।
काठमाडौं, बसुन्धाराकी अस्मिता योञ्जन पनि उद्यम बन्ने योजनाका साथ सीप मेलामा पुगेकी थिइन् । सामान्य सिलाइ मेसिन चलाउन जानेको उनले मेलाबाट पूरा तालिम लिएर आफ्नै पसल खोल्ने योजनामा रहेको सुनाइन् । ‘अलिअलि मेसिन चलाउन आउँछ, यतै राम्रोसँग सिकें भने आत्मविश्वास पनि आउला !’ योञ्जनले भनिन्, ‘त्यसपछि आफैं टेलर खोल्ने विचारमा हो ।’
टुँडिखेलमा किन ओइरिए युवा ?
प्राविधिक तालिम दिने सरकारको आधिकारिक निकाय प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) हो । तर यसले छोटो अवधिको तालिम चलाउन छाडेको छ । ‘छोटो अवधिका तालिम चलाउन हामीसँग बजेट नै हुँदैन’ सूचना अधिकारी एकराज अधिकारीले अनलाइनखबरसँग भने ।
पछिल्लो समय स्थानीय तहहरुले वार्षिक बजेटको व्यवस्था गरेरै सीपमुलक तालिम चलाइरहेका छन् । तर बजार र आवश्यक जनशक्तिको अध्ययन बिना नै सञ्चालन गरिने अधिकांश तालिम कर्मकाण्डी हुने गरेको छ ।
शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘स्थानीय तहमा प्रतिफल बिनाको तालिम र सीप प्रशिक्षणको लहर चलेको देखिन्छ । यो युवाहरुमाथिको राजनीतिक बेइमानी हो ।’
पछिल्लो समय अधिकांश स्थानीय तहले चुरा पोते, गुडिया बनाउने, माला बुन्ने, पञ्चेबाजा बजाउनेदेखि साबुन बनाउनेजस्ता तालिम दिएको देखिन्छ । जबकी पालिकाअनुसार आवश्यकता फरक फरक छ ।
बजारमा आवश्यक जनशक्तिबारे अध्ययन नगरी दिइने तालिमले रोजगारी, आत्मनिर्भर बनाउने सम्भावना कम हुने सरोकारवाला बताउँछन् ।
‘युवाहरु एउटा हुटहुटी बोकेर तालिममा सहभागी हुन्छन् । आँट गरेर उद्यम सुरु गरेपनि त्यसको ग्यारेन्टीबारे सरकारले नै सोच्न सक्दैन । अनि नयाँ व्यवसाय सुरु गरेको केही समयभित्रै समस्या देखिन थाल्छ’, शिक्षाविद् कोइराला भन्छन्, ‘सीपसँगै बजार पनि नदेखाइदिने र त्यसको ग्यारेन्टी वहन नगरिदिने हो भने युवाहरु स्वतः निराश हुन्छन् ।’

सीटीईभीटीको अध्ययनले पनि यही भन्छ । सीटीईभीटीले सीप परीक्षण पास गरेका प्रशिक्षार्थीमाथि अध्ययन गरेको थियो, जसमा छोटो अवधिको तालिम लिएकामध्ये ४३ प्रतिशत जनशक्ति रोजगारमा जोडिन नसकेको देखाएको थियो ।
त्यतिबेला सीटीईभीटीबाट ८२ हजार ४२१ जनाले सीप प्रमाणीकरण गरेका थिए । यो संख्या अहिले बढेर ५ लाख नाघेको छ ।
काठमाडौं महानगर योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झा पनि बजारको आवश्यकताअनुसार तालिम दिन नसकेको स्वीकार गर्छन् ।
‘यो हाम्रोमात्र होइन, देशभरकै समस्या हो’ उनले भने, ‘तालिम दिँदा प्रशिक्षण, बजार वा प्रशिक्षार्थी केलाई केन्द्रमा राखेका छौं भन्ने महत्वपूर्ण हुँदो रहेछ । हामीले चलाउने सीपमुलक तालिम जनतासँग नजोडिएको रहेछ भनेर बल्ल थाहा पाउँदैछौं ।’
उनका अनुसार काठमाडौं महानगरले पनि ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ गौरवको योजना अन्तर्गत वर्षभरि तालिम सञ्चालन गर्न भदौदेखि नै आवेदन खुलाएको थियो । १५ हजारलाई तालिम दिने लक्ष्य राखिएको योजनाका लागि ८ महिनामा २५ हजार जनाले मात्र आवेदन दिएका थिए ।
तर टुँडिखेलको सीप मेलामा १५ दिनमै ४३ हजार बढीले आवेदन दिनुले पनि सीपमुलक तालिममा रोजगार/स्वरोजगारको ग्यारेन्टीको महत्व देखाएको छ ।
‘अहिलेसम्म हामीले सीप, तालिमहरुलाई कर्मकाण्डी रुपमा दिँदै आएका रहेछौं । सीप सिक्ने भनेको खाली भत्तामुखीमात्रै भएको थियो’, झाले भने, ‘तर, अहिले हामीले रोजगार/स्वरोजगारको ग्यारेन्टी पनि भनेर भनेपछि धेरै आएका हुन सक्छन् ।’
महानगरले यस पटक सीपसँगै रोजगार वा स्वरोजगारको ग्यारेन्टीलाई प्राथमिकता दिएको छ । चालु आर्थिक वर्षमा १५ हजारलाई सीप दिने र उनीहरुमध्ये ५ हजारलाई रोजगार वा स्वरोजगारमा आबद्ध गराउने महानगरको लक्ष्य छ ।
‘रोजगार प्रदायक संस्था र कम्पनीहरुसँग छलफल गरिरहेका छौं । हामीले सीप ग्यारेन्टी गर्ने, रोजगारदाताले बजार ग्यारेन्टी गर्ने गरी काम गर्दैछौं’, झाले भने, ‘महानगरसँग जोडिने ठेक्कापट्टादेखि सबै कामका लागि पनि महानगरको तालिम लिएका जनशक्ति अनिवार्य रुपमा सहभागी गराउनुपर्ने व्यवस्था पनि गर्दैछौं ।’
 
                









 
                     
                                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4