 
																			१० जेठ, काठमाडौं। शान्तिका नायक भगवान् गौतम बुद्धको २६४८औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ ।
बुद्धको जन्मस्थल लुम्बिनी तथा देशभरका बौद्ध घर, गुम्बा, चैत्य, विहारमा शान्तिको कामना गर्दै भगवान् गौतम बुद्धको २६४८औँ जन्मजयन्ती मनाइएको हो ।
लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएका थिए भने काठमाडौंलगायत देशभरका विहारमा बुद्धको प्रवचन, प्रार्थना र शान्तिको सन्देश फैल्याइएको थियो। काठमाडौंको स्वयम्भूस्थित आनन्द कुटी विहारले दिनभर बुद्धको अस्थि धातु हेर्न सर्वसाधारणका लागि विहार खुल्ला गरेको थियो।
यस्तै शान्तिनगरस्थित विश्व शान्ति विहारमा पाठसहित बौद्ध शिक्षाबारे प्रवचन गरिएको थियो। साथै भिक्षुहरुलाई रथमा बसाएर नगर परिक्रमा गराइएको थियो।
यसअघि विश्व शान्ति बिहार, चैनपुर शाक्य समाज, भोजपुर टक्सार शाक्य समाज, कल्याण पुच तथा टक्सार सेवा समाजकले संयुक्त रुपमा विश्वशान्ति बिहारबाट पदयात्रा गरेको भोजपुर शाक्य समाजका अध्यक्ष दुर्गाप्रसाद शाक्यले बताए ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्याएको योगदानको स्मरणमा उनीप्रति आराधना, ध्यान गरी मनाइन्छ । कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उनी हालको रुपन्देहीको लुम्बिनीमा जन्मिएका थिए।
राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्कए। तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उनले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्याए ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
उनको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाएका छन् ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहकका रुमपा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिएको थियो । यस अवसरमा नागरिकले भने बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाएका छन् ।
लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा पनि विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइएको छ ।
आजभन्दा २६४८ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको हो ।
इसापूर्व ५२८को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएका ज्ञान हो ।
सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।
यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन (धर्मदेशना)का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।
विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ । यसप्रति अध्ययन, अनुसन्धान गर्नेको सङ्ख्या पनि बढेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4