 
																			११ जेठ, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।
यो सम्भावित कार्यसूची संसद सचिवालयले सभामुख देवराज घिमिरेसँगको समन्वयमा राखेको हो । यो कार्यसूची यथावत रहे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ । प्रतिनिधि सभामा जम्मा दुई वटा संशोधनको सूचना दर्ता भएको छ ।
संसद् सचिवालयका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रममाथि छुट्टाछुट्टै संशोधनको सूचना दिएका छन् । उनीहरूले नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनको प्रस्ताव राखेका छन् ।
नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिने सांसदहरूलाई बैठक बस्नुभन्दा एक घण्टा अगावै नाम टिपाउन संसद सचिवालयले भनेको छ । त्यसक्रममा हुने छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् । त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने र पारित हुने छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । यो नीति तथा कार्यक्रम पारित भएपछि यसैको आधारमा तयार पारिएको सरकारको बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुनेछ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन गठित कार्यदलको बैठक दिनहुँजसो बस्दै आए पनि संसदीय समितिको कार्यादेशमा सहमति जुट्न नसक्दा संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।
आज संसदीय समितिको कार्यादेश टुंगो लगाएर सहज ढंगले संसद बैठक सन्चालन गर्ने तयारी सत्ता पक्षको छ । त्यसैले कार्यदलको बैठक आज पनि बस्दै छ ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4