+
+

टिमुर खेतीलाई व्यवसायीकरण गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते ८:२७

१३ जेठ,बुटवल । टिमुरको व्यवसायिक खेती गरी आर्थिक लाभ लिन सकिने भन्दै सरोकारवालाले यसमा लगानी गर्न सरकारसँग माग गरेका छन् ।

दाङको लमहीमा भएको पहिलो टिमुर सम्मेलनमा सहभागीहरुले लुम्बिनी प्रदेशका ६ वटा पहाडी जिल्लामा टिमुर उत्पादन हुने गरेको भए पनि यसको व्यवसायीकरण हुन नसकेको औंल्याए ।

लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा भएको टिमुर सम्मेलनमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले टिमुरलाई व्यवसायीकरण गरेर जनताको जीवनस्तर बदल्न सकिने बताए ।

टिमुर भान्सामा प्रयोग हुने एक खालको मसला मात्र नभई औषधियुक्त जडीबुटी भएकाले यसलाई वैज्ञानीकरण र व्यवसायीकरण गर्न सके विदेश निर्यात गर्न समेत सकिने उनले बताए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा टिमुर खेती प्रवर्द्धनलाई प्राथमिकता दिन उनले सुझाए ।

प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकालले टिमुरलाई व्यवसायीकरण गर्न प्रदेश सरकारले नीतिगत रुपमा व्यवस्था गर्ने बताए ।

कृषि र वनको उत्पादन र उत्पादकत्व बढाउँदै सबैले साझा प्रतिबद्धता व्यक्त गरेर टिमुरबाट आर्थिक विकासको लागि लाग्नुपर्ने उनले बताए ।

स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले प्रदेशमा टिमुर उत्पादनको प्रचूर सम्भावना भएको भन्दै बजारीकरणमा सरकारले लगानी गर्नुपर्ने सुझाव दिए ।

उनले टिमुरको न्यूनतम मूल्य तोकिनु पर्ने बताए ।

सामाजिक विकासमन्त्री रत्न खत्रीले टिमुरलाई व्यवसायिकरण गर्न कानुनी जडिटलता हटाउन सरकार प्रतिबद्ध रहेको बताए ।

वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसीले टिमुरलाई व्यवसायिकरण गरेर कृषकको जीवनस्तर सुधार्न प्रदेश सरकार तयार रहेको बताए ।

लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले टिमुरको बिउको गुणस्तर मापन नहुनु, संकलन प्रविधि नहुनु, अस्थिर भाउ, प्रशोधन प्रविधिको अभाव, दीगो संकलन विधिको ज्ञान, सीप र प्रविधिको प्रयोग गर्न नसक्नु, वन विनास र डेढेलो, रोग किराको पहिचान र नियन्त्रण जस्ता कारणले टिमुरको व्यवसायीकरण हुन नसकेको बताए ।

एक हजारदेखि २५ सय मिटर उचाइमा फल्ने टिमुर लुम्बिनीको पूर्वी रुकुम, रोल्पा र प्युठानमा बढी पाइन्छ भने अन्य पाल्पा, अर्घाखाँची, गुल्मी दाङलगायत जिल्लामा पनि टिमुर फल्ने गरेको उनले बताए ।

रोल्पाको माडि गाउँपालिकाकी उपाध्यक्ष जयपुरी घर्तीले रोल्पामा टिमुरबाटै जीवनयावन गर्नेको संख्या ठुलो रहेको भए पनि बिचौलियाको समस्या रहेको बताइन् । ‘रोल्पामा टिमुरबाटै जीवनयापन गर्नेहरु धेरै छन्,तर कम मूल्यको चामल र टिमुर साट्ने चलन अझै छ,’ उनले भनिन्, ‘जसले गर्दा बिचौलियाले मात्र फाइदा लिने गरेका छन् ।’

कृषि समिति सभापति विश्वप्रेम पाठकले टिमुर पनि प्रदेशको आर्थिक समृद्धिको एउटा आधार बन्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?