
२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयमसेवक बनाउने कार्यको आलोचना गरेका छन् ।
आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले यस्तो कार्यको आलोचना गरेका हुन् । महिनावारीको समयमा चार दिन ट्राफिक महिलालाई सुविधा दिने विषय सकारात्मक भएता पनि यसका लागि कानुन बनाउनुपर्ने उनको सुझाव छ ।
‘उपप्रधानमन्त्रीको ट्विट पढें । ट्राफिकमा काम गर्ने महिलालाई चार दिन पिरियडको समयमा बिदा दिने भन्नुभएको छ । कानुन बनाएर गर्दाै राम्रो । यसलाई हामी धन्यवाद दिन चाहन्छौं’ खतिवडाले थपे, ‘मुलुक हुकुमी शासनमा चल्ने होइन । कानुन अनुसार चल्नुपर्छ । कुनै पनि काम गर्दा कानुन निर्माण गरेर चल्नुपर्छ ।’
यसैसँग जोडिएर खतिवडाले ट्रफिक नियम उल्लंघन गर्नेलाई स्वयमसेवक बनाउने कार्यको आलोचना गरेका हुन् । ‘मापसे गरेका व्यक्तिहरुलाई सडकमा ल्याएर उभ्याउने अरे । यो कुन कानुन र नियममा छ ?’ खतिवडाको प्रश्न छ ।
आफूहरु हुकुमी शैलीमा मुलुक चलाउने शासन पद्धतिको अन्त्य गर्न लडेको र फेरि हुकुमी शासनको विरुद्धमा रहने उनले बताए ।
स्वयमसेवी ट्राफिकको रुपमा विदेशी नागरिकहरु, विद्यार्थीहरू, समाजसेवाीहरु समेत देखिने गरेको उल्लेख गर्दै उनले थपे, ‘सबै स्वयमसेवी सडकमा हुने मापसे हो भन्ने भयो भने के हुन्छ ?’
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नलिएर उनले पत्रकारिता गरे जस्तो बोलेर शासन नहुने बताए । उनी थप्छन्, ‘मन्त्रालय कानुन अनुसार चलाउनुपर्छ । बोलेर, ट्विट गरेर सरकार चलाउने होइन । कानुन बनाएर काम गर्नुपर्छ । म सभामुखको रुलिङको माग गर्न चाहन्छु ।’
प्रतिक्रिया 4