 
																			२० जेठ, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय र पतञ्जली आयुर्वेद मेडिकल एण्ड रिसर्च सेन्टरबीच परीक्षा खर्चको विवाद हुँदा ३७ जना विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन् ।
काभ्रेको धुलिखेलस्थित पतञ्जली रिसर्च सेन्टरमा ब्याचलर अफ आयुर्वेद मेडिसिनमा अध्ययनरत ३७ जना विद्यार्थीको अन्तिम वर्षको प्रयोगात्मक परीक्षा १६ जेठदेखि हुनुपर्ने थियो । विश्वविद्यालयले अन्तिम समयमा आएर परीक्षा रोकिदिँदा विद्यार्थीहरु अन्यौलमा परेका छन् ।
परीक्षा सञ्चालन खर्च नदिएका कारण परीक्षा नै रोक्नुपरेको विश्वविद्यालयका अधिकारीहरु बताउँछन् ।
विश्वविद्यालयको आयुर्वेद अध्ययन संस्थानका सहायक डीन राजेश्वर अर्यालका अनुसार १६ वैशाखदेखि ११ जेठसम्म भएको सैद्धान्तिक परीक्षाको अनुमानित २ लाख खर्च पठाउन पटक पटक पत्राचार गरेपनि पतञ्जली रिसर्च सेन्टरले रकम पठाएन ।
विश्वविद्यालयले २१ चैतमै ‘परीक्षा सञ्चालनका लागि लाग्ने खर्च अनुमानित २ लाख रकम पछि हिसाबकिताब मिलान हुने गरी ३० चैतभित्र पठाउनू’ भनेर पत्र काटेको थियो । तर रकम नआएपछि ३० चैतमा फेरि पत्र काटेर ११ वैशाखभित्र रकम नआए परीक्षा गराउन बाध्य नहुने चेतावनी दियो । तर पतञ्जली रिसर्च सेन्टरले रकम पठाएन ।
क्याम्पसको बदमासीको कारण विद्यार्थीलाई तनाव नदिऊँ भनेर परीक्षा सञ्चालन गरेको डिन अर्याल बताउँछन् । ‘हामीले पठाएका केन्द्राध्यक्षले आफ्नो खल्तीबाट परीक्षामा लागेको खर्च बेहोर्नुभएको छ, परीक्षकदेखि सुरक्षा गार्डलाई आफ्नै पैसा दिनुभएको छ’, उनले भने ।
विश्वविद्यालयले सैद्धान्तिक परीक्षाका लागि वाल्मीकि क्याम्पसका उपप्राध्यापक सुदर्शन ढुंगानालाई केन्द्राध्यक्षका रुपमा खटाएको थियो । विगतमा विश्वविद्यालयले नै रकम दिने भएपनि यो पटक ‘परीक्षा सञ्चालनको लागि लाग्ने खर्च र टीएडीए पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरले बेहोर्नुहोला’, भन्ने पत्र थमाएको थियो ।
सामान्यत: परीक्षा संचालन गर्दा लाग्ने खर्च केन्द्राध्यक्षले गर्ने र विश्वविद्यालयले सोधभर्ना गर्ने गरिन्छ । यो पटक कलेजले व्यहाेर्ने पत्र थमाएपछि उप–प्राध्यापक ढुंगानाले प्रश्न पनि गरेका थिए । तर विश्वविद्यालयका अधिकारीहरुले ‘आयोग, पतञ्जली र विश्वविद्यालयबीच सहमति भएको र क्याम्पसबाट खर्च आउँछ’, भन्ने आश्वासन दिए ।
परीक्षा सञ्चालनका लागि पतञ्जली सर्च सेन्टर पुगेका उनले विश्वविद्यालयको पत्र देखाए । तर पहिला नै बढी रकम गएको र विश्वविद्यालयसँग हिसाब गर्न बाँकी रहेको भन्दै परीक्षा सञ्चालन गर्न दिन नसक्ने बताए । ढुंगाना भन्छन्, ‘म परीक्षा सञ्चालन गर्न आएको हुँ, लाग्ने खर्च दिनुहोस्, सक्नुहुन्न भने लिखित दिनुस्’, भन्दा पनि मानेनन् ।
ढुंगाना विश्वविद्यालयको आग्रहमा परीक्षा सम्पन्न गरेर फर्किए । विश्वविद्यालयले सैद्धान्तिक परीक्षा सञ्चालन वापत २ लाख रुपैयाँ दिन र १६ गतेदेखि हुन लागेको प्रयोगात्मक परीक्षाका लागि आउने विशेषज्ञहरुको पारिश्रमिक तिर्नुपर्ने प्रतिबद्धता माग्यो ।
तर पतञ्जली रिसर्च सेन्टरले त्यसो नगरेकाले परीक्षा स्थगित गरिएको सहायक डीन अर्याल बताउँछन् । क्याम्पसले पैसा नपठाएसम्म परीक्षा सञ्चालन नहुने भन्दै उनले भने, ‘हामीले भइसकेको परीक्षामा लागेको खर्च पठाउन पटक पटक पत्राचार गर्यौं, आसन्न परीक्षाको लागि प्रतिवद्धता पत्र पठाऊ भन्दा पनि नआएपछि परीक्षा रोकिएको हो ।’
पतञ्जली रिसर्च सेन्टरका क्याम्पस प्रमुख चन्द्रकिशोर यादवले भने परीक्षा रोकेर विद्यार्थीलाई दुःख दिएको आरोप लगाएका छन् । ‘यो विश्वविद्यालयको लापरवाही हो’ उनले भने, ‘हामीले परीक्षाको पैसा बुझाएको हो । तर हुन लागेको परीक्षाको खर्च एड्भान्समा मागेर परीक्षा रोकिएको छ । युनिभर्सिटीका कारण विद्यार्थीले दुःख भोगिरहेका छन् ।’
विश्वविद्यालयले बढी पैसा मागेको विषयमा चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरी गरेको पतञ्जली रिसर्च सेन्टरका अधिकारीहरु बताउँछन् ।
विश्वविद्यालय भने यो मान्न तयार छैन । नतिरेको पैसा तिर्यौं भन्नु फट्याइँ भएको भन्दै सहायक डीन अर्यालले भने, ‘नियमानुसार शुल्क बुझायो भने परीक्षा हुन्छ, नभएसम्म परीक्षा रोकिन्छ ।’
विश्वविद्यालय र क्याम्पसको विवादका कारण विद्यार्थीहरुको परीक्षा नै रोकिएपछि शिक्षा मन्त्रालयले भने मंगलबार दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4