+
+
गफ स्टेसन :

पुष्पणको पन्छीजस्तै स्वच्छन्द उडान

पुष्पणका गीतमा समाज बोल्छ, दुखाइ र भोगाइ बोल्छन् । परदेशका कथा बोल्छन्, सँगै प्रेमिल भाव पनि व्यक्त हुन्छन् । ‘धिनधिना’ र ‘पन्छी’ गीतबाट नेपाली सांगीतिक आकाशमा जबर्जस्त उडान भरेका पुष्पणलाई मायाप्रेमका गीतमा खासै लगाव छैन ।

खेम रिसाल खेम रिसाल
२०८१ जेठ २२ गते १६:४०

काठमाडौं । जीवन भोगाइ र सामाजिक कथालाई गीतमा दुरुस्तै उतार्छन् पुष्पण प्रधान । भारत पश्चिम बंगालको डुवर्सबाट गीतमार्फत नेपाली भाषामा कथा भन्नकै लागि उनी काठमाडौं ओर्लिए । काठमाडौं आउनुको यत्ति मात्र र एक मात्र कारण हो यो उनको ।

यो साता अनलाइनखबरको गफ स्टेसनमा अन्तर्वार्ताका लागि आएका पुष्पणले डुवर्सदेखि काठमाडौंसम्मको सांगीतिक यात्राबारे सविस्तार कुराकानी गरे ।

‘म नेपाल आउनुमा नेपाली भाषाप्रतिको मोह नै मुख्य कारण हो । काठमाडौंबाट बगेको नेपाली संगीतको मूल नै संसारभरि पुग्ने हो भन्ने कुरामा म स्पष्ट थिएँ । आफ्नो भाषामा निस्फिक्री भएर गाउन र संसारभरिका नेपालीभाषीमाझ पुग्न सकिने भएकाले म काठमाडौं आएँ,’ पुष्पण भन्छन् ।

आफ्नो मातृभाषाप्रतिको मोह हरेकलाई हुन्छ । तर पनि पुष्पणलाई यतिसम्मको लगाव र माया छ कि पहिलोपटक पूर्वी नेपाल प्रवेशद्वार काँकडभिट्टा प्रवेश गर्दा सबैले नेपाली बोलेको सुन्दा उनी खुसीले पुलकित भएका थिए । बसको नाम ठूला-ठूला अक्षरमा नेपालीमा लेखिएको थियो । सडक, अटो रिक्सा, टेम्पो, बस, बजार जताततै नेपाली मात्रै बोलेको सुने उनले । गाडीमा नेपाली गीत बजिरहेको छ । उनलाई यस्तो लाग्यो आफ्नो भाषामा मन खोलेर बोल्न, पढ्न पाइने ठाउँ रहेछ यो ।

‘आफ्नो भाषामा लेखिएका कुराहरु पढ्दा कति मीठो महसुस भयो मलाई,’ पुष्पण सुनाउँछन्, ‘अनि यो हो नि त । यो एउटा ठाउँ रहेछ, जहाँनेर हामी हाम्रा हरकुरा आफ्नो भाषामा गर्न पाउने रहेछौं । म १० कक्षासम्म नेपाली माध्यममा पढेर ११-१२ नेपालीमा पढ्न नपाएको व्यक्ति हुँ । मलाई त्यहीबेलादेखि आफ्नो भाषाप्रति लगाव झनै बढ्यो ।’

भाषाप्रति प्रेम दर्शाउँदै उनले गीत नै सिर्जना गरेका छन् ।

मैले आमा चिनेको भाषा

मैले माया गरेको भाषा

संसारका सबै बोलीहरुमा सबैभन्दा मीठो भाका

मेरो प्यारो नेपाली भाषा

मेरो ढुकढुकीको भाषा

‘म भाषाको कुरा अन्तिम अवस्थासम्म पनि गरिरहन्छु । सबै भाषा सिक्नुपर्छ तर अप्ठ्याराहरुका लागि मात्रै । अंग्रेजी माध्यममा स्कुल पढाउनुपर्ने बाध्यता होला तर नेपालीलाई पनि प्राथमिकता दिनुस् भन्छु,’ पुष्पण भन्छन्, ‘स्कुलमा नेपाली बोलेकै भरमा नानीबाबुले पिटाइ नखाउन् । यसले उनीहरुमा नेपाली बोल्दा ए पिटाइ पो खाइने रहेछ भन्ने छाप नपरोस् ।’

देशको भौगोलिक सीमा फरक भएपनि भाषा, संस्कृतिमा समानता छ मेचीवारि र पारिका दार्जिलिङ, सिक्किममा र डुवर्समा पनि । पुष्पणलाई संघर्षका दौरान आफू त भौगोलिक सीमाअनुसार यो देशको होइन भनेर कुनैबेला ‘आउटसाइडर’को महसुस पनि भयो कि ?

‘आउटसाइडरको अनुभव त मैले यहाँ भोगिनँ । बरु आफ्नै गाउँठाउँमा चिनिने नभएसम्म स्वीकार्य भइनँ । आफ्नो गाउँमा मैले प्रोग्राम नै पाएको थिइनँ,’ पुष्पण भन्छन्, ‘प्रगतिको चुचुरोमा पुगेर देख्ने तपाईं हुनुहुनुहुन्न नि तबसम्म त्यो गाउँले हाम्रो भन्दैन रहेछ । अहिले आशीर्वाद त छ मेरो गाउँको मलाई । म आग्रह गर्छु- संघर्षका दिनदेखि नै कलाकारलाई गाउँठाउँले माया गर्नुपर्छ ।’

आफू उम्रिएको डुवर्समा भएपनि सांगीतिक रुपमा भने काठमाडौंले फुलाएको उनी बताउँछन् ।

गीतमा सामाजिक कथा

पुष्पणका गीतमा समाज बोल्छन्, दुखाइ र भोगाइ बोल्छन् । परदेशका कथा बोल्छन्, सँगै प्रेमिल भाव पनि व्यक्त हुन्छन् । ‘धिनधिना’ र ‘पन्छी’ गीतबाट नेपाली सांगीतिक आकाशमा जबर्जस्त उडान भरेका पुष्पणलाई मायाप्रेमका गीतमा खास लगाव छैन । तर पनि समयको भेललाई नछोपे जीवन धान्न सकस हुने उनले राम्रैसँग बुझेका छन् ।

उनले जुनशैलीका गीत गाउँछन्, त्यसलाई नेपाली कन्सर्टमा खास ‘रुचाइँदैन’ । अवस्था यस्तोसम्म आयो उनलाई कन्सर्टमै कम निम्त्याउन थालियो ।

‘कार्यक्रम भनेपछि मात्ने अनि नाच्ने मात्रै भएको पाएँ । मलाई यस्तो कार्यक्रममा रुचि नै थिएन । फेरि उहाँहरुले मलाई शब्दमा मात्रै एप्रिसियट गरेको पाएँ । इन्डोर कार्यक्रम र सामाजिक कार्यक्रममा मात्रै मलाई निम्त्याउन थालियो,’ पुष्पण भन्छन्, ‘अनि मलाई अहिले चलिरहेका कन्सर्टप्रति रुचि लाग्न छाड्यो ।’

कन्सर्ट नपाउँदा पुष्पणलाई सँगैका साथीहरुले ‘तेरो दिन गयो’ सम्म पनि भने । ‘तर मलाई विश्वास छ । मैले मेरो यात्रा सुरु गरेको छैन । म वार्मअपमै छु । मेरो यात्रा मण्डला थिएटरबाट हुँदैछ भन्छु म,’ पुष्पण भन्छन् ।

आगामी असार ३ गते मण्डला थिएटरमा पुष्पण आफ्नो ढंगले गुञ्जिंदैछन् । आफूले चाहेको शैलीमा गीत प्रस्तुत गर्दैछन्, समाजका कथा भन्दैछन् । ‘जहिले पनि रमाइलो गरेर मान्छे उफारेर आउने तर आत्माले चाहिं सन्तुष्टि पाएन । तँ यसका लागि होइन, तेरो काम होइन यो भनेर मेरो आत्माले सधैं भनिरहन्थ्यो,’ पुष्पण भन्छन्, ‘आशा छ त्यो कार्यक्रम मैले सोचेजस्तो जिन्दगीको पहिलो कार्यक्रम हुनेछ ।’

पुष्पणले केही समयअघि भारतको कोलकातामा पियुश मिश्राको कार्यक्रम हेरेका थिए । डेढ घण्टासम्म धैर्यपूर्वक दर्शक-श्रोताले उनको प्रस्तुति सुनेको पलले उनलाई लोभ्यायो । त्यसबेला उनलाई ‘मैले यस्ता गीतहरु मान्छेले सुनेनन् भनेर सोच्नु त मूर्खता रहेछ’ भन्ने महसुस भयो । ‘म गलत ठाउँमा गएर गलत कुरा सुनाउँदो रहेछु नि त,’ उनी भन्छन्, ‘मेरो डेढ घण्टासम्म हुने कार्यक्रममा नितान्त सुन्ने र हरेक गीतले एउटा कथा बोकेको हुन्छ ।’

पुष्पणले एउटा प्रण गरेका छन्- अब सक्दो आउटडोर शो नगर्ने । ‘पबहरुमा त मैले शो गर्नै छाडें । ट्रयाकमा चाहिं पर्फर्म गर्दिनँ भन्ने हो । लाइभ ब्यान्डमै गाउने अब । कम्पोजिसन गर्छु तर गीत चाहिं यस्तै तरिकाले गाउँछु,’ उनी योजना सुनाउँछन् ।

गीत कसलाई सुनाउने भन्ने कुराको चयन गर्नुपर्ने रहेछ भन्ने उनले बुझेका छन् । हो पनि आफूसँग भएको सामग्री बोकेर कहाँ जाने भन्ने निर्क्योल आफैंले गर्नुपर्छ ।

भन्नुपर्ने कुरा

कार्यक्रमको बिट मार्ने बेला पुष्पणले समाज र देशबारे पनि केही कुरा गरे । भन्छन्, ‘नेपाली राजनीतिका विषयमा त खास जानकार छैन । उतै (डुवर्समा) धेरै बस्ने भएकाले ।’

उनले अगाडि भने, ‘संसारै परिवार रहेछ । हामीले पो तेरो र मेरो भनेर बनाएका रहेछौं । यो संसार नै मजस्तै देखिने, मजस्तै बोलिने, जम्मै चीज मेरा आफ्ना हुन् नि भनिसकेपछि मैले केही कुरा गर्दा यो संसारलाई राम्रो हुन्छ कि हुँदैन, मेरो परिवार, समाज र देशलाई राम्रो हुन्छ कि हुँदैन भन्ने सोच्नुपर्नेरहेछ । सबैले सोचिदिनुस् पनि भन्न चाहन्छु ।’

गायक पुष्पण प्रधानसँगको विस्तृत कुराकानी भिडियोमा

फोटो, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?