+

नेपाल र श्रीलंकाको खेलमा प्रभाव पार्न सक्ने चार खेलाडी

२०८१ जेठ  २९ गते २०:२२ २०८१ जेठ २९ गते २०:२२
नेपाल र श्रीलंकाको खेलमा प्रभाव पार्न सक्ने चार खेलाडी

२९ जेठ, अमेरिका । नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा बुधबार बिहान श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ५ : १५ मा फ्लोरिडामा भएको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियमा सुरु हुनेछ । दुवै टोली पहिलो जितको सोचमा छन् ।

समूह डी मा रहेको नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग–२ विकेटले पराजित भएको थियो । श्रीलंका नेपालसँग पराजित भएमा समूह चरणबाटै बाहिरिने छ ।

नेपाललाई पनि शीर्ष दुईमा रहँदै सुपर–८ खेल्ने सम्भावना कायमै राख्न जित्नै पर्ने हुन्छ । नेपाल र श्रीलंकाबीचको खेलमा प्रभाव पार्नसक्ने २–२ खेलाडी यस प्रकार छन् ।

रोहित पौडेल– नेपाल

नेपालका कप्तान रोहित पौडेल पछिल्लो समय लयमा छन् । नेदरल्यान्ड्सविरुद्ध एकतर्फबाट ३५ रन जोडेपनि अर्को एण्डबाट साथ पाउन सकेनन् । रोहित कप्तान हुँदा उनीमाथि अतिरिक्त जिम्मेवारी हुनेछ । टेस्ट टोली वेष्टइन्डिज ए विरुद्ध रोहितले ११२, ७१ र ८२ रनको अविजित इनिङ खेलेका थिए । उक्त इनिङले मनोबल झनै बढेको छ ।

उनले नेपालबाट ५० टी–२० आई खेलमा ६ अर्धशतकसहित कुल ११ सय ४३ रन बनाएका छन् । नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल दुवै लयमा छन् । त्यसैले श्रीलंकालाई स्तब्ध पार्न रोहितले कप्तानी इनिङ खेल्नुपर्ने हुन्छ ।

सोमपाल कामी – नेपाल

तीव्र गतिका बलर सोमपाल कामी नेपालका सबैभन्दा अनुभवी खेलाडी हुन् । विश्वकप दबाबको खेल हुँदा उनले आफ्नो अनुभवको भरपूर्ण फाइदा उठाउन सक्छन् ।
दुई पटक टी २० विश्वकप खेल्ने एक्लो नेपाली खेलाडी समेत रहेका सोमपल ब्याटिङ र बलिङ दुवैबाट खेल जिताउन सक्छन् ।

सोमपाल कामी

तीव्र गतिका प्रमुख बलर सोमपालले पावर प्लेमा एक दुई विकेट लिन सके श्रीलंकालाई दबाबमा राख्न सक्छ । उनले ६६ टी–२० आई खेलमा ५९ विकेट लिनुको साथै ३१५ रन बनाएका छन् ।

कुशल मेन्डिस– श्रीलंका

श्रीलंकाका ओपनर तथा विकेटकिपर कुशल मेन्डिस आक्रामक ब्याटर हुन् । कुशल दक्षिण अफ्रिकासँग १९ र बंगलादेशसँग १० रनमा आउट भएका थिए । उनी क्रिजमा टिकेको खण्डमा ठूलो इनिङ खेल्न सक्छन् । उनले श्रीलंकाबाट ६६ टी२ ० आई खेलमा १४ अर्धशतकसहित कुल १५८३ रन बनाएका छन् ।

नुवान थुषारा– श्रीलंका

तीव्र गतिका बलर नुवान थुषारा योर्करका लागि चिनिन्छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मुम्बई इन्डियन्सबाट खेल्ने उनले जारी विश्वकपमा पनि राम्रो प्रदर्शन गरेका छन् । मलिङ्गाको झल्को दिने उनले बंगलादेशविरुद्ध ४ विकेट लिंदै अन्त्यमा जितको आशा देखाएका थिए ।

नुवानको बलमा गती र योर्कर दुवै छ । पावर प्ले र डेथ ओभरमा राम्रो प्रदर्शन गर्दै आएका छन् । १० टी २० आई खेलमा उनले १६ विकेट लिएका छन् ।

टी–२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय