+

हेपाटाइटिसको समयमै उपचार नभए कलेजोमा हानि पुग्छ  

२०८१ जेठ  ३२ गते १८:३५ २०८१ जेठ ३२ गते १८:३५
Shares
हेपाटाइटिसको समयमै उपचार नभए कलेजोमा हानि पुग्छ  

कलेजोले हामीले खाएको खानेकुराबाट प्राप्त पोषक तत्वलाई ग्रहण, प्रशोधन, रगत छान्नेदेखि संक्रमणविरुद्ध लड्छ । यस्तोमा कुनै कारणवश कलेजो सुन्निएर क्षति पुगेमा यसको कार्य प्रभावित हुन्छ ।

कलेजो सुन्निने प्रमुख कारण ‘हेपाटाइटिस’ हो ।

के हो त हेपाटाइटिस ?

कुनै कारणवश कलेजो सुन्निनु हेपाटाइटिस हो । जसको मुख्य कारण ‘हेपाटोट्रोपिक भाइरस’को संक्रमण हो । यो भाइरसले मौका पाउने बित्तिकै कलेजोलाई हमला गर्छ । फलस्वरुप कलेजो सुन्निंदै गई कालान्तरमा त्यहाँ रहेका कोषलाई क्षति गरी मार्नेसम्मको असर देखिन्छ ।

हेपाटाइटिस पनि धेरै प्रकार छन्, जसलाई हेपाटाइटिस ‘ए’, बी’, ‘सी’ ‘डी’ र ‘ई’ को नामले चिनिन्छ । यी सम्पूर्णले कलेजो रोग निम्ताउँछ । जसको कारण तथा उपचार भिन्नाभिन्न हुनसक्छ । जसमा सबैभन्दा बढी देखिने र कलेजोको दीर्घ समस्या ल्याउने टाइप बी र सी हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा ३ लाख ५४ हजारमा ‘बी’ र ‘सी’ छ । जुन लिभर सिरोसिस र यसको क्यान्सरको कारण बनेको छ ।

कुन हेपाटाइटिस कस्तो ?

हेपाटाइटिस ‘ए’ र ‘ई’ : दूषित पानी र खानपानबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हेपाटाइटिस ‘ए’ र ‘ई’ सर्न सक्छ ।

हेपाटाइटिस ‘बी’ र ‘सी’ : हेपाटाइटिस बी भनेको भाइरल संक्रमणले कलेजोलाई क्षति पुर्‍याउँछ । यो एक्युट (अस्थायी) र क्रोनिक (दीर्घ) दुवै हुनसक्छ । जुन आमाबाट प्रसबको समयमा बच्चामा सर्न सक्छ ।

संक्रामक व्यक्तिसँग यौन सम्बन्ध राख्दा वीर्य वा योनी रस र रगतमार्फत सर्न सक्छ । यो संक्रमण हेपाटाइटिस बी विरुद्ध सुईले रोकथाम गर्न सक्छ । सीको पहिचान नभएमा लिभर सिरोसिस, कलेजो क्यान्सर हुनसक्छ ।

हेपाटाइटिस ‘डी’ : एचडीभी भाइरस संक्रमणले कलेजो बिगार्नु हेपाटाइटिस डी हो । बी हुनेलाई पछि गएर हेपटाइटिस डी हुन सक्छ । तर यो विरलै मात्रामा देखिन्छ ।

कारण

भाइरल संक्रमण : विशेषगरी हेपाटाइटिस ए, हेपाटाइटिस बी र हेपाटाइटिस सी भाइरल संक्रमणको कारणले हुन्छ ।

स्वतः प्रतिरक्षा अवस्था : प्राय: शरीरको प्रतिरक्षा कोषिकाहरूले कलेजोका कोषिकाहरू क्षतिग्रस्त भएको संकेत गर्छ ।

अल्कोहोलिक हेपटाइटिस : मदिरा हाम्रो कलेजोले सिधै पाचन गर्छ । अत्याधिक मदिरा कलेजोले थेग्न सक्दैन र यसको काममा बाधा गर्छ । त्यसैले जब धेरै मदिरा सेवन गर्छ, त्यो व्यक्तिलाई हेपाटाइटिसको जोखिम बढ्छ । अत्याधिक मदिरा पिउने ४० प्रतिशतको कलेजो बिग्रिएर मृत्युकै मुखमा पुग्ने जोखिम रहन्छ ।

औषधिको साइड इफेक्ट : यो पनि हेपाटाइटिसको कारण हो । कतिपय औषधिको अत्याधिक सेवनले कलेजोका कोषिकाहरू सुन्निएर हेपाटाइटिसको जोखिम बढाउँछ ।

जडिबुटी भएका आयुर्वेदिक औषधिको जथाभावी प्रयोग, क्षयरोगको औषधि जस्ता केही एलोप्याथिक औषधिले पनि हेपाटाइटिस गराउन सक्छ ।

मोटोपन : अहिले मोटोपन पनि हेपाटाइटिसको कारण बनेको छ । मोटोपन भएपछि शरीरमा फ्याटी लिभर (अनावश्यक बोसो) बढ्छ । जसले कलेजोको कोषलाई क्षति गराई हेपाटाइटिस गराउन सक्छ । फ्याटी लिभर धेरै भएको अवस्थामा ३० प्रतिशतमा हेपाटाइटिसको जोखिम रहन्छ ।

लक्षण

एक्युट हेपाटाइटिसको स्पष्ट लक्षण देखिंदैन । यद्यपि, संक्रामक र दीर्घ हेपाटाइटिसमा यी लक्षण देखा पर्छन् ।

– जण्डिस

– चुरोटको लत लागेकालाई पिउँदा असहज अनुभव हुने

– पिसाबको रंगमा परिवर्तन

– अत्याधिक थकान

– बान्ता हुने वा वाकवाकी लाग्ने

– पेटको माथिको भाग सुन्निने र दुख्ने

– चिलाउने

– एक्कासि तौल घट्ने

– भोक कम लाग्ने वा लाग्दै नलाग्ने

जटिलता

हेपाटाइटिसको समयमा उपचार भएन र फैलिंदै गयो भने कलेजोले काम गर्न सक्दैन । जसले कलेजो फेल, क्यान्सर र लिभर सिरोसिस नै गराउन सक्छ ।

यस्तोमा दिमाग बेसुर हुने, रगत पातलो भएर एक ठाँउमा घोच्यो भने पनि रगत बगिरहने र शरीरमा निलो धब्बा देखिने लगायत गम्भीर लक्षण देखिनुका साथै ज्यान जाने जोखिम रहन्छ ।

कसरी जण्डिस गराउछ ?

हामीले खाएको खाना पचाउन कलेजोबाट पित्त बाहिर निस्कन्छ । यस्तोमा संक्रमणले सुन्निएमा पित्त बग्ने बाटोमा अवरोध हुनसक्छ । त्यससँगै बिलोरुविनको  व्यवस्थापन गर्ने कलेजोका कोषले पनि राम्रोसँग काम गर्न नसक्दा जण्डिस हुनसक्छ।

पहिचान

लक्षण र अवस्थाको गम्भीरताका आधारमा हेपाटाइटिसको पहिचान हुन्छ ।

– पेटको अल्ट्रासाउन्ड

– कलेजो कार्य परीक्षण

– ‘अटोइम्युन ब्लड मार्कर’ परीक्षण

– कलेजो बायोप्सी

उपचार

हेपाटाइटिस उपचार लक्षण, यसको प्रकृति र कारणअनुसार हुन्छ । अस्थायी ए र ई हेपाटाइटिस चिकित्सकको निगरानीमा केही हप्तामा कम हुन्छ । यो औषधिसँगै शरीरले बिस्तारै आफैं ठीक पार्छ ।

दीर्घ हेपाटाइटिस बी र सी भने नियन्त्रण हुनसक्छ । हेपाटाइटिस सीको समयमै पहिचान र १२ सातासम्म सिफारिस गरिएको औषधि खाएमा ९५ प्रतिशत सफल उपचार गर्न सकिन्छ ।

त्यस्तै, बीको हकमा गम्भीरताको आधारमा उपचार सुरु भएपनि रोकथाम गर्न कठिन हुन्छ । कलेजो फेल भएमा कलेजो प्रत्यारोपण पनि एक विकल्प हो ।

हेपाटाइटिसमा आहार कस्तो हुनुपर्छ ?

स्वस्थ आहारको मद्दतले हेपाटाइटिसको समस्यालाई व्यवस्थापन गर्न सजिलो हुन्छ । यद्यपि, के खाने र कति खाने भन्ने कुरा यसको गम्भीरता र कलेजोको कति भाग सुन्निएको छ त्यसआधारमा निर्धारित गरिन्छ ।

– प्रशस्त पानी, ताजा फलफूल, गेडागुडी खाने, चिल्लो कम खाने, अण्डाको सेतो भाग खाने, आफ्नो खानामा प्याज र लसुन जस्ता परम्परागत मसलाहरू जिरा, बेसार समावेश गर्न सकिन्छ ।

– रक्सी, जंकफुड, प्रशोधित खानेकुरा खानुहुँदैन ।

कसरी बच्ने ?

– दूषित खानपानबाट बच्ने

– जथाभावी जडिबुटी र औषधि नखाने

– मोटोपन घटाउने र बढाउने औषधि भन्दै हचुवाको भरमा नखाने

– मदिरा नपिउने

– तौल नियन्त्रण गर्ने

– असुरक्षित यौन सम्बन्ध नराख्ने

– अरुले प्रयोग गरेको धारिलो हतियारबाट टाढा रहने ।

डा. अजित खनाल स्वास्थ्य हेपाटाइटिस
डा. अजित खनाल
लेखक
डा. अजित खनाल
कन्सल्टेन्ट ग्यास्ट्रोइन्ट्रोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २५०६ अध्ययन : एमबीबीएस, इन्टरनल मेडिसिन एमडी, ग्यास्ट्रोइन्ट्रोलोजीमा डीएम काठमाडौंस्थित वीर अस्पताल तथा ग्रीन सिटी अस्पताल र ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न