 
																			बेलायतका एक व्यापारीले एप्पलविरुद्ध मुद्दा हालेका छन् ।
उनले दायर गरेको मुद्दाको कारण थाहा पाउँदा तपाईंलाई अचम्म लाग्न सक्छ। आफूले डिलिट गरिसकेका म्यासेज पत्नीले पढेको भन्दै उनले एप्पलविरुद्ध मुद्दा दायर गरेका हुन् ।
समाचार अनुसार ती व्यापारीले एकजना कल गर्ललाई आफ्नो आइफोनबाट म्यासेज गरेका थिए र पछि सो म्यासेज डिलिट पनि गरेका थिए । तर, आइफोनबाट डिलिट गरिसकेको उक्त म्यासेज उनकी पत्नीले आइम्याकबाट पढिन् । त्यसपछि त के चाहियो र ? उनको परिवारमा बबण्डर सुरु भयो । पत्नीले डिभोर्स मागिन् । त्यही म्यासेजलाई प्रमाण बनाउँदै उनले डिभोर्सको लागि अदालतमा निवेदन दिइन् । अन्ततः उनीहरुको सम्बन्ध विच्छेद नै भयो ।
आफ्नो वैवाहिक जीवन समाप्त हुनुमा एप्पल जिम्मेवार रहेको जिकिर ती व्यक्तिले गरेका छन् । एप्पलले सही सूचना नदिएका कारण आफ्नो घरबार बिग्रिएको उनको भनाइ छ । यदि दुईवटा डिभाइसमा एउटै एप्पल आइडी लगइन भएको अवस्थामा एउटा डिभाइसबाट डिलिट गरिएका म्यासेज तथा अन्य सामग्रीहरु अर्को डिभाइसबाट हेर्न सकिन्छ भन्ने कुराको जानकारी एप्पलले नगराएको उनी बताउँछन् ।
Family Sharing फिचरको खेल
एप्पल प्रयोगकर्तालाई थाहै भएको कुरा हो कि एप्पलले आफ्ना प्रयोगकर्तालाई फेमिली सेयरिङको सुविधा दिन्छ । यसअन्तर्गत आफ्नो परिवारका ५ वटासम्म आइफोन वा एप्पल डिभाइसमा एउटै एप्पल आइडी लगइन गर्न सकिन्छ । जुन डिभाइसमा एउटै एप्पल आइडी खोलिएको छ त्यसमा म्यासेज, फोटो तथा अन्य सबै सामग्रीहरू साझा हुन्छन् ।
एप्पलले यस्तो फिचरका बारेमा आफूलाई जानकारी नगराएका कारण आफ्नो सम्बन्ध विच्छेद हुन पुगेको भन्दै ती व्यवसायीले एप्पलमाथि ५० लाख पाउण्ड अर्थात् करिब ८५ करोड रुपैयाँ क्षतिपूर्तिको माग गर्दै मुद्दा हालेका छन् ।
एप्पलको गल्तीका कारण यस्तो पारिवारिक विखण्डनको अवस्था भोग्नु परेका सबैले त्यस्तो क्षतिपूर्ति पाउनुपर्ने उनको माग छ । एउटै एप्पल आइडी धेरैवटा डिभाइसमा लगइन भएको अवस्थामा कुनै पनि सामग्री पूर्णरुपमा डिलिट गर्नका लागि सबै डिभाइसबाट एकएक गरी डिलिट गर्नुपर्ने कुराको जानकारी एप्पलले गराउनुपर्ने उनको माग छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4