 
																			तवानालाई आफ्नो गर्भमा छोरा रिवर हुर्किरहेको कुराको कत्ति पनि सुइँको थिएन, जो अहिले जन्मिएर पनि एक वर्षको भइसकेका छन् ।
२१ वर्षको उमेरमै एउटा बच्चा जन्माउने योजना तवानाले कहिल्यै पनि बनाएकी थिइनन् । उनको जीवन सिद्धान्त नै थियो- उन्मुक्त र मोजमस्तीले भरिएको जीवन । पार्टी गर्ने र साथीहरूसँग रमाउने ।
बेहोस भएर अस्पताल नपुगुन्जेलसम्म उनको जीवन त्यसैगरी बितिरहेको थियो ।
यस्तो किन भयो भन्ने उनलाई कत्तिपनि थाहा थिएन । तर, उनलाई भनियो कि अबको ४ हप्तामा उनले एउटा बच्चा जन्माउनेवाला छिन् ।
बीबीसँगको कुराकानीमा तवाना भन्छिन्- त्यो कुरा थाहा पाउँदा मलाई त्रस्त आघात (पेनिक अट्याक) हुन थालेको थियो । मेरो आँखा अगाडि अन्धकार भरियो । किनकि कसैले मलाई भनिरहेको थियो कि म सँग आफ्नो जीवन सम्हाल्नका लागि केवल ४ हप्ताको समय छ।
अस्पतलमा भर्ना भएपछि डाक्टरहरुले तवानालाई एमआरआइ गर्नुअघि नै गर्भ परीक्षण गर्न लगाएका थिए।
तर उनले भने त्यस्तो सल्लाहलाई मजाक ठानिन् र त्यसलाई हावामा उडाइदिइन् । किनकि उनले पाखुरामा गर्भनिरोधक साधन प्रत्यारोपण गरेकी थिइन् र उनमा गर्भावस्थाका कुनै लक्षण देखिएका पनि थिएनन् ।
र, जब परीक्षणको नतिजा पनि नेगेटिभ आयो तब तवानालाई आफू सही रहेको एकिन भयो।
तर एकजना नर्सले चाहिं तवानालाई अल्ट्रासाउण्ड गराउन लगाउनका लागि डाक्टरलाई मनाउने कोसिस गरिरहेकी थिइन् । गर्भजाँचको रिपोर्टमा नदेखिए पनि तवाना गर्भवती भएको हुनसक्ने अनुमान ती नर्सको थियो।
तवानाका पार्टनर इम्यानुएलका अनुसार आफु गर्भवती रहेको कुरा सुरुमा तवानाले बताउँदा उनलाई पत्यार नै लागेन ।
तवाना भन्छिन् – मैले त्यो कुरा बुझ्दै सकिनँ
आफ्नो छोरा रिवरलाई सँगै लिएर तवाना र इमेनुयल भन्छन्- त्यो नितान्त जादुमयी थियो ।
वास्तवमा कुनै पनि लक्षण, जस्तै वान्ता हुने वा पेट बढ्ने जस्ता गर्भावस्थाको लक्षण नै नदेखिइकन हुने गर्भाधारणलाई क्रिप्टिक प्रेग्नेन्सी अर्थात् गुप्त गर्भ भनिन्छ।
यो दुर्लभ घटना हो । तथापि अश्वेत समुदायमा यसको दर उच्च रहेको डाक्टरले बताएको तवानाको भनाइ छ।
उनी भन्छिन्- डाक्टरका अनुसार हाम्रो कम्मर तथा हड्डीहरुको संरचनाका कारण यस्तो हुन्छ । बच्चा बाहिरतर्फ बढ्दैन र भित्रैतिर बढ्दछ। अर्थात् हाम्रो शरीरको पछाडिको भाग ठूलो हुने सम्भावना रहन्छ । त्यसैले जब मैले पेटमा बच्चा भएको थाहा पाए तब त्यो उल्टो बसेको पो छ कि भन्ने चिन्ता मलाई थियो ।

यद्यपि क्रिप्टिक प्रेग्नेन्सीका विषयमा धेरै तथ्यांक तथा जानकारीहरू उपलब्ध छैनन् । साउथ बैंक युनिभर्सिटीमा स्वास्थ्यसेवा विषयका प्राध्यापक एलिसन लेयरीका अनुसार उपलब्ध रहेका तथ्यांकले अल्पसंख्यक जातीय समुदायका महिलाहरुले गर्भावस्थामा हेरचाहको असमानताको सामना गर्नु पर्दछ।
एलिसनका अनुसार गर्भावस्ता तथा प्रसूतिका सन्दर्भमा खासगरी अश्वेत महिलाहरुले खराब नतिजाको सामना गर्नु परिरहेको छ । यस विषयमा विभिन्न अध्ययन पनि भएका छन् ।
गुप्त गर्भका विषयमा अझै थप अनुसन्धानको आवश्यकता रहेको उनको भनाइ छ ।
यस्तो समस्या दुर्लभ भए पनि यदि छिट्टै राम्रो प्रसूतिजन्य हेरचाह नहुँदा र बच्चा जन्माउनुअघि राम्रो सुविधा नपाउँदा त्यसबाट खराब नतिजा को सामना गर्नुपर्ने खतरा हुन्छ।
गर्भवती भएको थाहा पाएको ४ हप्तापछि तवानाले बेबी शावर समेत गरेर बच्चा जन्माइन् ।
बच्चा जन्माएपछि आफू पोस्ट नेटल डिप्रेसनबाट गुज्रिएको उनी बताउँछिन् । त्यसबेला उनी कम उमेरमा आमा बन्ने विषयका भिडियोहरू हेर्ने गर्थिन् ।
तर उनले त्यतिबेला आफूजस्तै स्थितिबाट गुज्रिरहेकी एक अमेरिकी महिलाबाहेक कोही पनि भेटिनन् ।
आफलाई सल्लाह दिने कोही पनि फेला नपरेका कारण आफू डिप्रेसनग्रस्त भएको उनी बताउँछिन् ।
उनी भन्छिन्- यो के हो ? भन्ने विषयमा कोही पनि बोल्दैन । त्यसपछि मैले एकजना अमेरिकी युवतीले बनाएको एउटा भिडियो हेरें, जसमा १०० लाइक्स प्राप्त भएको थियो । त्यो भिडियो हेर्दा मलाई लाग्यो कि वास्तवमा उनले मलाई नै सल्लाह दिइरहेकी छिन् ।
त्यसपछि तवानाले आफ्नो अनुभवको एउटा भिडियो बनाएर अनलाइनमा शेयर गर्ने निधो गरिन् । त्यसमा ४ लाख लाइक्स प्राप्त भएका छन् ।
तवानाले एउटा पडकास्ट पनि सुरु गरिन्, जसमा अन्य आमाहरूसँग कुरा गर्दछिन् ।
आफूले आफ्नो कथा शेयर गरेको र यसले आफूजस्तै कम उमेर तथा अन्तिम समयमा गर्भवती भएको कुरा थाहा पाउने आमाहरुलाई मद्दत मिल्ने उनी बताउँछिन् ।
आफूलाई त्यसबेला आमाले आर्थिक सहयोग गरेकोमा आफू भाग्यमानी रहेको उनी बताउँछिन् । तर सबै महिलाहरु इस्तो भाग्यमानी नहुने भएकाले उनीहरुको लागि एउटा च्यारिटीको सुरुवात् होस् भन्ने उनको चाहना छ।
के हो गुप्त गर्भ ?
जब कुनै युवती वा महिलालाई आफू गर्भवती भएको थाहा नै हुँदैन त्यसालई क्रिप्टिक प्रेग्नेन्सी भनिन्छ। कतिपय महिलालाई त प्रसवका बेलासम्म पनि त्यसको पत्तो हुँदैन ।
हरेक २५ सय गर्भमा एउटा क्रिप्टिक प्रेग्नेन्सी हुनसक्छ। यो संख्या बेलायतमा जन्मिने कुल बच्चामध्ये ३०० जना हो ।
कतिपय मामिला तनावपूर्ण पनि हुन्छन् जब महिलाहरुले आफू गर्भवती भएको लक्षणलाई अनुभव गर्न सक्दैनन् ।
यहाँसम्म कि सही समयमा महिनावारी नहुने तथा महिनावारी नै नहुने महिलाहरुले समेत गर्भावस्थाका लक्षणहरू अनुभव गर्दछन् ।
-बीबीसीबाट
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4