+
+
कथा :

जुठी

सञ्जीव थापा सञ्जीव थापा
२०८१ असार २२ गते ८:००

रङ फेरिएकी जुठी, अंगै फेरिए झैं देखिएकी छे आजभोलि । कसले पो सोच्याथ्यो र ! मरुभूमिमा उम्रेकी जुठी यसरी वसन्ती यामकी हराभरा फूल हुन्छे भनेर ! सेता मिलेका दन्तलहर, सानो चिटिक्क परेको मुख, सुलुत्त परेको नाक, उज्यालो अनुहार, गुलावी गाला, लामो केश अनि मृगनयनी जुठीका खँदिला बान्की मिलेका शरीरका पोटिला यौवन कुनै सुरिला, खिरिला वृक्षमा लटरम्मै फलेका उन्नत जातका फल जस्तै देखिएका छन् । मान्छे उही हो तर समयसँगै बैंसालु उमेर १७ मा टेकेकी जुठीको चोला नै फेरिए झैं भा’की छ ।

१५ वर्ष पहिले सारसौंदै सुतेकी जुठीकी आमा ‘कोप्ची’ त्यो रातपछि कहिल्यै उठिन । बिहान गाउँले पुग्दा दुई वर्षकी जुठी काठ झैं दह्री आमाको छाती चुसिरहेकी थिई रे ! जुठीका बा कोप्चे मिजार काजी जंगवीरको हली हुन् । जुठीलाई पनि सातै वर्षको बालखैमा गोठालो बनाइयो । आफ्नै सन्तानको जुठोपुरो र जडौरीले हुर्केकीले उसको नाम जुठी राखिदिए काजीले । त्यो नाममा–जुठीप्रतिको काजीको स्नेह भन्दा पनि हेलाँको प्रचुरता थियो ।

उसैको रेखदेख र हेरचाह गर्नुपर्ने त्यो अबोधलाई के सहज हुन्थ्यो र ? त्यत्रा बथान वस्तुको बोझ । रोजाना कुनै न कुनै गल्ती त भई नै हाल्थ्यो । कहिले बाच्छो छुट्थ्यो त, कहिले पाठो, कहिले गोरु डाम्नोले बाली खाइदिन्थ्योे त, कहिले भैंसी हराउँथ्यो । त्यसपछि के निहुँ चाहियो र सिर्कनाले जुठीका कलिला पिंडौलामा सुम्ल्याउनु सुम्ल्याउँथे र छोइछिटो हालिटोपल्थे काजी । बालक छोरी माथिको त्यो यातनाले रन्थनिएको लाचार कोप्चे मुन्टो फर्काएर बरर्र आँसु झार्ने गथ्र्याे ।

बालकैमा सबैको उपेक्षा, अपमान र तिरस्कारकी पात्र जुठी आजभोलि सबैको लागि रहरलाग्दी भएकी छे । बैंसका पालुवाले उसलाई ढपक्क ढाकेको छ । विछट्टै राम्री जुठीलाई सानामा जस्तो घृणा गर्दैनन् मान्छेहरू आजकल । उसको यौवनबाट सम्मोहित मनहरू गर्छन् त केवल मौकाको पर्खाइ ।

वैशाखको उखरमाउलो गर्मी थियो । काजी असिनपसिन भएर बाहिर बरण्डामा बसिरहेका थिए । कजिनी टुप्लुक्क माइतबाट आइपुगिन् । गोठमा जुठी कुनै ठूलै पीडा खप्न नसकेर रोइरहेकी थिई । टोपीले आफैंलाई हम्किरहेका काजीले छोइछिटो हाल्न अह्राए कजिनीलाई । काजीको शरीरमा टाँसिएको धुस्नो र तोरीको कुसाउरो टिप्दै ‘के भयो जुठीलाई ?’ भनेर सोधिन् कजिनीले । ‘पेट दुख्यो भनी । के भएछ भनेर हेर्न गएको मोरीले छोइदी त हाली’ काजीले भने ।

छोइछिटो हाल्ने काजीको पुरानै परम्परा हो । तर, यो क्रम बढ्दो छ आजभोलि । फेरि हुर्केकी जुठीले काम पनि बिराएकी छैन अचेल । तथापि जुठी गोठमा तड्पिने, काजी बाहिर निस्केर छोइछिटो हाल्ने क्रम चलिनै रहेको छ ।

भदौको महिना सिमसिम पानी परिरहेको थियो । मन्दिर परिसरभित्र धनचा पोडेको भोज खाइरहेको थियो कोप्चे । उसको छिमेकी पुड्के मिजार त्यही बाटो हुँदै घर जाँदैथियो । आफ्नै सुरमा खाइरहेको कोप्चेलाई पुड्केको हेक्कै भएन । साँझ ६ बजेतिर टोलका सबै छिमेकी कोप्चेको घर आए । आफूभन्दा तल्लो जाति पोडेको भोज खाएको कसुरमा कोप्चेलाई सामाजिक बहिष्कार गर्ने निर्णय सुनाए । कोप्चेलाई ठूलो चोट पुग्यो ।

कजिनीप्रतिको काजीको रुचिमा एकाएक कमी आउँछ । कजिनीलाई चिन्ताले गाँज्छ । काजीलाई तागत नभएको भान हुन्छ उनलाई । विभिन्न पोषिला खाना खुवाउँछिन् । अनेक शक्तिवर्धक घरेलु उपाय पनि गर्छिन् । तर, उनीप्रतिको काजीको रुचिमा झनै शिथिलता आउँछ । काजीको छोइछिटो र जुठीको पेट दुख्ने क्रम भने एवम् रीतले दोहोरिरहन्छ ।

जनयुद्ध देशव्यापी चर्किरहेको थियो । मूलधारका दलहरूसँग निकट सम्बन्ध थियो काजीको । उता भूमिगत दलसँग पनि गोप्य भेटघाट भइनैरहन्थ्यो उनको । उनले धेरैचोटि जनसेनालाई घरमा बास दिए । अन्न र नगद चन्दाले पटक–पटक गुन लगाए । विद्रोही पार्टीको गोप्य भेलामा महिला हिंसा, सामन्ती प्रथा र जातीय विभेदको विरुद्धमा चर्का भाषण दिन्थे उनी । घर फर्केर, कजिनीका आँखा झिमिक्क भयो कि, जुठी भएको गोठमा पस्थे अनि बाहिर आएर छोइछिटो हाल्थे ।

सुरुका दिनमा जुठीले धेरै प्रतिकार गरी; संघर्षको सक्दो कोशिशमा जुटी आफ्नो अस्मिता जोगाउन । तर, गुरिल्ला कदका काजीसँग फूल जस्ती जुठीको के नै लाग्थ्यो र ! उसको विमतिमै पटक–पटक लुटी नै रही विचरी जुठी । आजभोलि ऊ जिउँदो लास बनेर पल्टिदिन्छे, गिद्घझैं निर्धक्क रजाइँ गर्छन् काजी उसको अर्धमृत शरीरमाथि । काजीलाई त छोइछिटोले नै चोख्याइरह्यो । बरा जुठी नाम जसरी नै आजीवन जुठी भई ।

जुठीलाई उपेक्षा मात्र गर्ने काजी एकाएक अचाक्ली माया मान्न थाल्छन् । कजिनीलाई छलेर नयाँ कपडा, मिठो मिठो खाना समेत दिन थाल्छन् । जुठीप्रति अलि बढी नै चासो र चिन्ता देखिन थाल्छ उनको । तर, जुठीलाई काजीको त्यो माया केटाकेटीको चुटाइभन्दा पनि असह्य दुख्ने गर्छ ।

यता विवश जुठी कजिनीको मुटुको काँडो बन्न पुग्छे । काजीलाई हाल्ने प्रत्येक छोइछिटो कजिनीलाई आफ्नो शरीरको कुनै अङ्ग काटेर रगत छर्के जस्तो दुख्न थाल्छ । तर, काजीलाई प्रश्न गर्ने साहस थिएन उनमा । लाचार बनेर अनदेखा गर्छिन्, अनभिज्ञ बन्छिन् ।

पल्लो गाउँको बले विक खेतीको याममा काजीको कृषि औजार अर्जापेर ल्याउँथ्यो । एक महिना काजीकोमै काम गथ्र्याे अनि बाली, ज्याला उठाएर फर्किन्थ्यो । सामान्य कद, कालो वर्ण, कसिलो शरीरको बलेको मुहार हँसिलो अनि मन रसिलो थियो । २० पुगेर २१ लागेको बलेको पनि आफ्नो भन्ने कोही थिएन यो संसारमा । उमेर र परिस्थिति दुवैले घरजमको दबाब थियो बलेलाई । कुत्कुते उसको बैंसको माग पनि त्यस्तैत्यस्तै नै थियो ।

काजीको खेतीले बले र जुठीलाई सानैमा परिचित गराएको थियो । उनीहरू प्रत्येक खेतीको सिजनमा सँगै काम गर्दै आएका थिए । बिरामी परेर बले गत दुई सिजन आउन सकेन । करिब डेढ वर्षको अन्तरालको भेट थियो यी दुईको त्यो ।

बले ताज्जुबमा पर्छ जुठीको शारीरिक परिवर्तनले । मौन मस्काइको आदानप्रदान हुन्छ उनीहरूबीच । बले गोठको पालीको खाँबो समातेर आँखा नझिम्काई हेरिरहन्छ जुठीलाई । लाजले जुठीको अनुहार रक्तिम हुन्छ । बलेका आँखा अझै अघाउँदैनन् । जुठी थेगिरहन असमर्थ हुन्छे बलेका तिखा नजरको काउकुती । ऊ शिर झुकाएर जान्छे त्यहाँबाट । अलि पर पुगेर फर्केर हेर्छे । खाँबो फुत्केर भाग्ला झैं गरी अँठ्याइरहेको जुठेका नजर उसैगरी जुठीमै लोलाइरहेका थिए । ऊ मुसुक्क मुस्काएर परालको टौवामा छेलिन्छे ।

आत्मीयता र निकटता त बाल्यकालदेखि नै थियो यी दुईबीच । तर, त्यो आत्मीयतामा कुनै खास उद्देश्य थिएन । मौसमी चरा जस्तो बले आउँथ्यो, काम सकेर फर्किन्थ्यो अनि फेरि आउँथ्यो । तर, यो पटकको उसको आगमन जुठीलाई किन किन असाध्यै खास लाग्छ । भोलि बिहानैदेखि गहुँ काट्नु थियो । अनेक तर्कनाले ऊ ढिलोसम्म निदाउन्न त्यो रात ।

जेठको धुप, त्यसमाथि खडेरी, खपिनसक्नु गरी गर्माएको थियो पूरै धर्ती । जुठी र बले सहित अरू थुप्रै खेताला गहुँ काट्ने मेलोमा छन् । हेराहेरमै सीमित उनीहरू बीचको पहिलो संवाद ‘अहिले त सञ्चै छ नि तिमीलाई बले ?’ भनेर जुठीले नै सुरु गर्छे । बले प्रसन्न मुद्रामा ‘ठिकै छु’ भन्छ । यो पटक किन किन दुई दिन लाग्यो उनीहरूबीचको यो पहिलो संवादको लागि । तर, संवादको खाता के खुल्यो, दिनभर गफिएर अघाएनन् उनीहरू ।

विगत ८–१० वर्षदेखि काजीका प्रायः सबै बाली रोप्ने, भित्र्याउने काम सँगै गर्दै आएका थिए उनीहरू । तर, यो पटक त्यो गहुँबारी बगैंचा जस्तै लाग्छ यी दुवैलाई । गहुँ बारीको केराउ, कुट्लीकोसा, कान्लाको ऐंसेलु, चुत्रो, आरुबखडामा थरीथरीका रङ्गीन फूलमा झैं रमाउँछन् यी दुवै । अरू तिर्खाउँछन्, भोकाउँछन्, थाक्छन् । तर, कुनै असर थिएन उनीहरूलाई । काम होइन, कुनै पार्कमा प्रेमिल समय बिताइरहेको महसुस भइरहेथ्यो उनीहरूलाई । त्यो खेतालाका भीडमा पनि आफूलाई एक्लो महसुस गरिरहेका थिए उनीहरू । साँझ पर्छ, त्यो दिनको मेलो सकिन्छ । उनीहरूलाई भने अझै त्यो मेलो नटुङ्गिए हुन्थ्यो झैं भइरहेको थियो ।

यसैगरी पच्चीसौं दिन बित्छ । गहुँ काट्ने, चुट्ने, थन्क्याउने अनि धानको बीउ राख्ने काम करिब करिब सकिनै लाग्छ । तर, उनीहरूको गफ सकिन्न, धोको मेटिन्न । यस्तैमा बलेले जुठीलाई आफ्नो दुलही बनाउने प्रस्ताव राख्छ । मनमनै तुरुन्तै स्वीकारेकी जुठी शरम माने झैं गरी मौन बस्छे । यस्तो कुरो बासँग कसरी भन्नु ! ऊ द्विविधामा पर्छे । साँझ कजिनीसँग फुकाउँछे गाँठो ।

बढार्नुपर्ने कसिङ्गर हावाले उडाउने भो भनेर कजिनीको मनमा लड्डु फुट्छ । ‘तेरो बाउलाई म सम्झाउँला, तँ बलेलाई हुन्छ भन्दे जा’ भनेर जुठीलाई अह्राउँछिन् उनी ।

खेतालाहरूबीच गाइँगुइँ चलेको बले र जुठीको प्रेमको सुइँको काजीको कानमा पनि पर्छ । काजीलाई यो धुपको शीतल छहारी खोसिन लागेझैं हुन्छ । आँधीको वेगले बालुवा उडाएर उनको मरुभूमिको कुवा पुरिने पीरले पिरोल्छ उनलाई । साँझपख फटाफट दुई–चार पेग लगाउँछन् । उनको चिन्ता रक्सीको मातले आक्रोशमा बदलिन्छ । कोप्चेलाई बोलाएर टन्न विदेशी रक्सी धोकाउँछन् । कोप्चे अनुहार रातो पारेर मुख बङ्ग्याउन थाल्छ ।

काजी झोक्किंदै, ‘ए कोप्चे, छोरी त डाङ्ग्राले उडाउन लागिसक्यो रे त, तँलाई भने अत्तोपत्तो छैन ? छोरीलाई रोक् ढिलो नहुँदै । नत्र आफूभन्दा तल्लो जातसँग पोइला गएर नाक काट्ली नकच्चरीले तेरो’ भनेर उचाल्छन् । कोप्चे जुरुक्क उठेर जान्छ । ८–१० जना छिमेकी बोलाएर बलेलाई कुटपिट गरेर भगाउँछ ।

भोलिपल्ट मात्र थाहा पाउँछे जुठीले यो कुरा । बले उसको पहिलो प्रेम मात्र थिएन, मिठो सपना थियो उसको । गोठ, मेलापात, बस्तुभाउ भन्दा अलि परको क्षितिज देखाउने सारथि थियो । दुःखैदुःख, हिंसा, शोषणको खाडलबाट उसलाई उतार्ने उद्धारकर्ता थियो । उसको नयाँ जीवनको सहयात्री थियो । उसलाई काजीको बन्धनबाट छुटाउने मुक्तिदाता थियो बले । उसलाई आफ्नो सपनाको संसारको जगमै पहिरो गए जस्तो हुन्छ । बलेको चिन्ताले असाध्यै सताउँछ उसलाई । बले सम्झेर डाँको छोडेर रुन्छे ऊ एकछिन । काजीले आफूमाथि गरेको सबै अत्याचारको रहस्य खोलेर बलेमाथि भएको त्यो अन्यायको लागि बाउलाई पनि धिक्कार्छे उसले ।

कोप्चे बेस्सरी पछुताउँछ । आफूबाट अन्जानमा ठूलो पाप भएको महसुस गर्छ । छोरीको भविष्यको चिन्ताले पिरोल्छ उसलाई । माफी मागेर बलेलाई फर्काउने निधो गरेर भोलिपल्ट सबेरै बलेको गाउँ जान्छ । बलेको ढोकामा भोटे ताल्चा ठोकेको देख्छ । यताउता खोज्छ, बले कतै भेटिंदैन । पल्लो घरको छिमेकीेले ‘काजीको घरबाट फर्केको रात बले एकदम डराएको थियो । ऊ रातभरी बेस्सरी रोयो अनि भोलिपल्ट सबेरै मुग्लान पस्यो’ भन्छन् ।

बले लखेटिएको घटनाले काजीमा बेजोड हर्ष अनि कजिनीमा गहिरो विस्मात् छाउँछ । काजीको षड्यन्त्रले बले लखेटिएको खबरले झन् सुर्ताउँछिन् कजिनी । त्यो घटनापछि कोप्चे र जुठी दुवै काजीको काममा नआउने सोच बनाउँछन् । काजीले बोलाउन पठाउँछन् । काजीको आदेश अवज्ञाको साहस र हातमुख जोर्ने अर्को विकल्प पनि थिएन उनीहरूसँग । फेरि भासिए त्यही शोषणको खाल्डोमा दुवै बाउ–छोरी ।

काजीको नियत बुझेकी कजिनीले पनि भित्री चालको योजना बुन्न थालिन् । धेरै सोचिन् । केही उपाय निक्लेन । उनले हार मानिन् । काजीको छोइछिटोले उसै गरी निरन्तरता पाउन थाल्यो ।

एक दिन काजी घर बाहिर बाथरुममा नुहाउँदै थिए । कजिनी ‘पण्डितकोमा जान्छु’ भनेर निस्किइन् । एक्लो मौका छोपेर जुठीलाई ढाड माड्न बोलाए कजीले । जुठीले आनाकानी गरी । गर्जिएर हप्काए काजीले । जुठी काप्दै लुरुक्क आएर माड्न थाली । बडो आनन्द लिएर नुहाए काजीले । फेरि तेल लाइदे भने जुठीलाई । मनले नमाने पनि विवश भई जुठी तेल लगाउन पनि ।

कजिनी खोक्दै गेटबाट भित्र छिरिन् । हतार–हतार कपडा भिर्न भ्याए काजीले । तर, कपडासँगै राखेको दुई वटा औंठी, एउटा सिक्री र घडी नदेखेपछि काजी बहुलाए । जुठीलाई सोधे । ‘देखिनँ’ भनी । फेरि यताउति खोजे फेला परेन ।

जुठी बाहेक शंका गर्न अरू कोही थिएन त्यहाँ । जुठीलाई बोलाएर फिर्ता गर्न फकाए । आफूले नलिएको भन्दै रुन थाली ऊ । काजीले धम्क्याए जुठीलाई । उसको जवाफ त्यही नै थियो । सिक्री, औंठी गरी सात तोला सुन र घडी चोरीको आरोपमा जुठीलाई प्रहरीको जिम्मा लगाउने निधो गरे । फेरि यसो सोचे एकछिन । प्रहरीमा उनको आफ्नो कर्तुत खुल्न सक्ने भय पैदा भयो उनमा । त्यसपछि ‘उपरान्त पाइलो नटेक् यो घरमा’ भन्दै घोक्र्याएर निकाले जुठीलाई ।

पहिले जुठी दुख्दा काजीलाई अपार सन्तुष्टि मिल्थ्यो, आज कजिनीलाई अपूर्व आनन्द मिलेको छ । जुठी गरिब थिई तर बेमान किमार्थ थिइनँ । नखाएको विषले उसको मन, इमान छियाछिया भयो । केहीबेर बेस्सरी रोई जुठी एकान्तमा । एकैछिनमा मुक्तिको लामो सास फेरेर जोडजोडले हाँस्न थाली । केही महिनापछि हराएको औंठी, सिक्री, घडी सबै कजिनीको कन्तुरमा फेला पारे काजीले ।

दिनमा ज्याला मजदुरी गर्ने जुठी साँझ मन लगाएर प्रौढ शिक्षा पढ्न थाली । छोटो समयमै उसले राम्रो प्रगति गरी । नेपाली पढ्न, लेख्न र सामान्य हरहिसाब गर्न समेत सक्ने भई ऊ । देशमा राजनीतिक परिवर्तन भयो । बदलियो व्यवस्था । महिला स्वास्थ्य स्वयंसेविका बनी जुठी ।

त्यही सिलसिलामा एउटा गैरसरकारी संस्थाकी महिला हाकिमसँग चिनजान भयो उसको । ती म्याडमले विभिन्न तालिम, गोष्ठी, सेमिनारमा सहभागी हुने अवसर दिलाइन् जुठीलाई । थुपै्र नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्यो उसलाई । विभिन्न पुस्तक, पत्रपत्रिकाहरू पढेर, रेडियो, टेलिभिजन सुनेर, हेरेर आफूलाई माझ्दै अरूलाई समेत बुझाउन सक्ने भई ऊ । उसको सोच बदलियो । उसको जीवनशैली फेरियो । आफ्नो अस्तित्व बोध भयो उसलाई । फेरि अर्को जन्म भयो जुठीको ।

उही म्याडमको सहयोगमा गाउँमा विभिन्न चेतनामूलक, सीपमूलक, आयमूलक तालिम सञ्चालन गर्न सफल भई जुठी । थुप्रै महिलालाई उद्यमशील र आत्मनिर्भर बन्न मद्दत पुर्‍याई । महिला हिंसा र जातीय विभेद, छुवाछूत विरुद्ध पनि थुप्रै कार्यक्रम सम्पन्न गरी । हिंसा पीडित महिलाहरूलाई कानुनी परामर्श, उपचार उपलब्ध गराउन समन्वयकारी भूमिका निभाई । गाउँको हरेक गाह्रो, अप्ठ्यारोमा हमेसा भरथेग गरी जुठीले । दुःख पर्दा हरेकलाई आफू नखाएर, नलगाएर पनि सक्दो मद्दत गर्दै गई मनकारी जुठीले ।

जीवनशैली त सुध्रियो जुठीको तर, जति बुझ्दै गई उति बिझाउन थाल्यो उसका अतीतले उसलाई । एकदिन उसले म्याडमसँग आफ्नो पुरानो घाउ कोट्याएर कानुनी उपचारको सहयोगको याचना गरी । म्याडमका आँखा रसाए । उनले सकेको गर्ने वचन दिइन् । तर, जब पीडकको नाम सुनिन् उनको हिम्मत धेरैबेर टिकेन । किनकि जुठीलाई महिला स्वास्थ्य स्वयंसेविकासम्म बनाएको मुलुकको त्यही राजनीतिक परिवर्तनले ज¨वीर जस्ता अवसरवादी सामन्तीलाई मन्त्री नै बनाइसकेको थियो ।

जनयुद्धले मुद्दा जेसुकै बोकोस्, शान्ति वार्तापछि काजी जंगवीर जस्ताकै हालीमुहाली बढ्न पुगेको थियो मुलुकमा । नवधनाढ्य बनिसकेका थिए काजी ज¨वीर । राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति केन्द्रसम्म पहुँच थियो उनको । शोषित, उत्पीडित, दलित, सीमान्तकृतहरूलाई यो परिवर्तनले एक कान्लो माथि त उकाल्यो तर, उनीहरूलाई समताको मैदानसम्म पु¥याउन भने फेरि पनि असमर्थ भयो । तीन बीस काटेको कोप्चेको शरीरमा पहिले जस्तो स्फूर्ति थिएन । कमजोर देखिन्थ्यो ऊ । उसैले खाएको रक्सी र चुरोटले उसलाई भित्रभित्र खाइसकेको थियो ।

भदौको महिना सिमसिम पानी परिरहेको थियो । मन्दिर परिसरभित्र धनचा पोडेको भोज खाइरहेको थियो कोप्चे । उसको छिमेकी पुड्के मिजार त्यही बाटो हुँदै घर जाँदैथियो । आफ्नै सुरमा खाइरहेको कोप्चेलाई पुड्केको हेक्कै भएन । साँझ ६ बजेतिर टोलका सबै छिमेकी कोप्चेको घर आए । आफूभन्दा तल्लो जाति पोडेको भोज खाएको कसुरमा कोप्चेलाई सामाजिक बहिष्कार गर्ने निर्णय सुनाए । कोप्चेलाई ठूलो चोट पुग्यो ।

जुठी झन् विक्षिप्त भई समाजको निर्णयले । समाजबाट छुवाछूत हटाउन वर्षौं विभेद हटाउने अनवरत कोशिशमा लागिरहेकी उसलाई यो पुरस्कार दियो समुदायले आज । तर हारिन् जुठी, हार्‍यो यो त बस् उसको बाउ कोप्चे ।

केही दिन झोक्राएर बसेको कोप्चेले एकाएक घरमा पञ्चबलि पूजा आयोजना गर्‍यो । राँगो, बोको, थुमो, कुखुरा, हाँस काटिए । उसका पूरै टोलवासी आएर भोज खाए । राति अबेरसम्म नाचगान गरे । आफूमाथिको बहिष्करण फुक्का भएको खुशियालीमा टन्न रक्सी खाएर सुतेको कोप्चे सदासदाको लागि चिर निद्रामा प¥यो ।

पञ्चबलिले उसको खोरिया बारी र ज्यान दुवै गयो । भोज फुक्यो तर कोप्चेमाथि टोलवासीको बहिष्करण फुकेन । उसको लाश उठाउन गाउँले कोही आएनन् । ढोका थुनेर लुके घर–घरमा सबै । जीवनभर अरूको काम आएकी जुठीको यो विपद्मा समेत कोही भएन । जातको पट्टीले अन्धो भएका टोलवासीमा घरमा लास पर्दा समेत जुठीप्रति अलिकति पनि दया पलाएन । असहाय जुठी पुर्पुरोमा हात राखेर पिंढीमा डाँको छोडेर रुन थाली । तर, कोही आएनन् ।

अचानक भगवान् झैं प्रकट भयो बले । एकछिन सपना झैं लाग्यो जुठीलाई । बलेले उसको टाउकोमा हात राखेर ‘नरो जुठी, म छु’ भन्यो । बलेलाई गम्लङ्ग अँगालो हालेर रोई ऊ । एक्लै डोकोमा बोकेर तल नदी किनारमा लग्यो बलेले कोप्चेको शव । दुवैले दागबत्ती दिएर अन्त्येष्टि गरे । अन्ततः उनीहरूको अधुरो प्रेमले वैवाहिक सम्बन्धको रूपमा पूर्णता पायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?