+
+

५० करोडका लागि भौंतारिरहेको कीर्तिपुर अस्पताल

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ असार २४ गते १०:२२

२४ असार, काठमाडौं । बुबाले शरीरमा पेट्रोल छर्किएर आगो लगाइदिएपछि गम्भीर घाइते भएका दुई युवतीको कीर्तिपुर अस्पतालमा केही दिनको अन्तरालमा मृत्यु भयो ।

काठमाडौंको चाबहिलमा जेठ २४ गते बेलुका भएको घटनामा एकै परिवारका पाँच जनामध्ये दुई छोरीले मृत्युलाई जित्न सकेनन् । अहिले चञ्चलबहादुर सिंह (५५), उनीकी श्रीमती बिन्दु सिंह (४४) र कान्छी छोरी सुहानी (८) को उपचार भइरहेको छ ।

२४ वर्षीया सुप्रियाको ५५ प्रतिशत र १६ वर्षीया समृद्धिको ८५ प्रतिशत जलेकाले चिकित्सकले बचाउन सकेनन् । उनीहरू मात्रै होइन, नेपालमा ६० प्रतिशतभन्दा माथि जलेको जो–कोहीलाई बचाउन असम्भव जस्तै छ ।

जलनको ठूलो संख्यामा उपचार गर्ने कीर्तिपुर अस्पतालको अहिलेको संरचनामा ६० प्रतिशतसम्म जलेका एकाध बिरामी बचाउन सकिएको छ भने ४० प्रतिशतसम्म जलन भएका ५० प्रतिशत बिरामी बचाउन सकिएको छ ।

गम्भीर जलन भएका बिरामी छिमेकी देश भारत जाने वा मृत्यु कुर्नुबाहेक अन्य विकल्प छैन ।

अस्पतालसँग भएको स्रोत–साधन, जनशक्तिले जलनमा परेका बिरामीलाई सकेसम्म सेवा–सुविधा दिएको छ । तर भवनकै अभावमा त्यस्ता बिरामीलाई अन्य बिरामीसँगै राख्नुपर्ने बाध्यता छ ।

वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा. शंकरमान राईका अनुसार जलेका बिरामीलाई संक्रमण हुने सम्भावना धेरै हुन्छ, त्यसैले छुट्टा–छुट्टै कोठामा राख्नुपर्छ । तर पर्याप्त भौतिक पूर्वाधार नहुँदा एकै ठाउँमा राखेर उपचार गरिराख्नुपरेको छ । ‘एकै ठाउँमा राख्दा संक्रमण फैलिएर केही बिरामीको मृत्यु हुनसक्छ’ डा. राईले भने, ‘अहिले सोचे जस्तो बिरामीलाई केयर दिन सकिएको छैन ।’

कीर्तिपुर अस्पतालले सन् २०१४ देखि जलेका बिरामीको उपचार गर्न थालेको थियो । अस्पतालको तथ्यांक अनुसार पहिलो वर्ष ९० जना जलनका बिरामी भर्ना भएका थिए, २०२३ मा आइपुग्दा ७९० जनाको उपचार गरिएको छ ।

हाल जलेका बिरामीका लागि २ अप्रेशन थिएटर, आठ वटा आईसीयू र २८ वटा जनरल बेड छुट्याइएको छ ।

प्रा.डा. राईका अनुसार पहिलो वर्ष ४० प्रतिशतसम्म जलेका बिरामीलाई पनि बचाउन सकिएको थिएन । ‘त्यतिबेला हामीले ४५ प्रतिशतभन्दा माथि जलेकालाई बचाउन कोसिस नगरेको भए आज ६० प्रतिशत जलन भएकालाई बचाउन सकिंदैनथ्यो होला’ प्रा.डा. राई भन्छन्, ‘अहिले बचाउन नसकिने बिरामीलाई बचाउन सक्ने क्षमताको विकास गर्न हामीलाई छुट्टै भवन चाहिएको छ ।’

 

अस्पतालले प्रस्ताव गरेको ७० बेडको यो अत्याधुनिक भवन बनाउन ५० करोड रुपैयाँ चाहिन्छ । ‘भवनको डिजाइन गरिसकेका छौं, तर बजेट अभावले भवन निर्माणको परिकल्पना अलपत्र छ’ प्रा.डा. राईको दाबी छ, ‘५० करोड पैसा भयो भने बिरामीलाई भारत पठाउन नपर्ने खालको अस्पताल बनाउन सक्छौं ।’

अहिले जलनका बिरामी हेरिरहेका मुख्य दुई अस्पतालमध्ये कीर्तिपुरमा ८ र सुषमा कोइराला मेमोरियलमा चारवटा आईसीयू बेड छन् । डा. राईका अनुसार प्रस्तावित नयाँ भवनमा छुट्टा–छुट्टै १५ वटा आईसीयू कक्ष बनाउने योजना छ । एक कोठामा एक बिरामी रहने गरी १५ वटा सिंगल रुम बनाउने पनि खाका छ ।

सरकारको घोषणा मात्रै

गत फागुनमा ग्याँस सिलिण्डर लिक भएर भएको आगलागीमा गम्भीर घाइते भएका कांग्रेस सांसद चन्द्र भण्डारीलाई भारत लैजानुपर्ने अवस्था आएपछि नेपालमै जलनको अत्याधुनिक अस्पताल बन्नुपर्ने बहस चलेको थियो ।

संसद्मा समेत यो विषय उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत २०८० मा रोष्ट्रममा उभिएर कीर्तिपुर अस्पताललाई जलन उपचारको प्रमुख अस्पतालका रूपमा विस्तार गर्नका लागि अनुदान दिने प्रक्रिया अगाडि बढिसकेको बताएका थिए ।

तर अनुदान रकमबारे कुनै जानकारी नआएपछि कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जनहरूले यही जेठमा प्रधानमन्त्री प्रचण्डसँग भेटेर ध्यानाकर्षण पनि गराएका थिए । ‘त्यसबेला प्रधानमन्त्रीले दुई मिनेट समय दिनुभएको थियो, सबै कुरा भन्न पनि पाइएन’ अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. किरण नकर्मीले गुनासो गरे, ‘पछि समय मिलाएर बोलाउँछु भन्नुभएको थियो । तर अहिलेसम्म केही पहल भएको थाहा छैन ।’

अस्पतालले हालसम्म कतैबाट बजेट पनि पाएको छैन । ‘भवन नक्साको काम भइसकेको छ, सञ्चालन गर्ने क्षमता पनि छ तर, बजेट नै नभएर काम रोकिएको छ’, उनले भने ।

ठूला अस्पतालमा ५ देखि १० बेडको जलन उपचार विभाग तोकिएको छ, तर उपचार गर्ने दक्ष जनशक्ति नहुँदा अधिकांश बिरामी कीर्तिपुर नै रेफर हुने गरेका छन् ।

‘धेरै अस्पताल जलनको उपचारका लागि तोकेर मात्रै समस्याको समधान हुँदैन’ डा. राईले भने, ‘जलेका बिरामीको उपचार गर्न प्रविधिसहित ठूलो टिम चाहिन्छ । कुनै एक अस्पताललाई अब्बल बनाउन सक्दा मात्रै राम्रो सेवा दिन सकिन्छ ।’

वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा. शंकरमान राई

प्राथमिक उपचारमै त्रुटि

अमेरिका लगायतका विकसित मुलुकमा अत्याधुनिक उपकरण र स्तरीय उपचारका कारण ९० प्रतिशतसम्म जलेर आएका ५० प्रतिशत बिरामीलाई बचाएको रेकर्ड छ । तर नेपालमा ४० प्रतिशत जलेका बिरामीलाई पनि बचाउन हम्मेहम्मे पर्छ । प्रा.डा. राईका अनुसार कीर्तिपुरमै शरीरको बाहिरी भाग जलेकामा ३० प्रतिशत र श्वासनली जलेकोमा ६० प्रतिशतभन्दा बढी मृत्युदर छ ।

अस्पतालसँग हाल ३५ जनाको उपचार गर्ने क्षमता छ । गर्मी मौसममा जेनतेन भरथेग गर्न सके पनि जाडो महिनामा बिरामीको चाप अत्यधिक हुने भएकाले उपचार गर्न धौ–धौ हुन्छ । ‘जाडो मौसममा ५०–६० जना बिरामी भर्ना हुँदा अस्पतालको अन्य वार्डमा समेत राखेर उपचार गर्नुपर्छ । जलेका बिरामीलाई अन्य बिरामीबाट संक्रमण हुने सम्भावना अधिक हुन्छ’, डा. नकर्मी भन्छन् ।

हाल आकस्मिक कक्षमा जनरल र जलनका बिरामीलाई एकै ठाउँमा राख्नुपर्ने बाध्यता छ । अन्य बिरामीबाट संक्रमण हुने हुँदा जलेका बिरामीको अवस्था जटिल बन्न जान्छ । चिकित्सकहरूका अनुसार सामान्यतया जलनका बिरामीलाई आइसोलेसन गरेर छुट्टै क्याबिनमा उपचार गर्नुपर्ने हुन्छ ।

त्यसै त जलेका बिरामीले प्राथमिक उपचार सही रूपमा पाउने गरेका छैनन् । प्रा. डा. राईका अनुसार जलेका बिरामीलाई बढीभन्दा बढी पानी दिनु नै महत्वपूर्ण उपचार हो । बिरामीको पिसाब सफा नहुन्जेलसम्म प्रशस्त पानी पिलाउनुपर्छ ।

किनकि आगो लगायतका तापयुक्त पदार्थले पोलेको भागबाट शरीरलाई चाहिने तरल पदार्थ नाश हुँदै जान्छ, जसले छालाको बाहिरी तह हुँदै भित्रसम्म सुख्खा हुन पुग्छ र बिरामी जटिल अवस्थामा पुग्न सक्छ । त्यसैले जलनका बिरामीलाई सुरुको २४ घण्टामा सादा पानी र स्लाइन मार्फत कम्तीमा १०/१५ लिटर पानी दिनुपर्ने हुन्छ । तर जलन भएको लामो समय शरीर सुख्खा हुँदा मुटु, मस्तिष्क तथा अन्य संवेदनशील अंगमा असर गर्छ ।

‘बिरामीले पानी नपाइकन अस्पताल आइपुगेका हुन्छन्’ डा. राई भन्छन्, ‘विकट ठाउँबाट आउने अधिकांश बिरामीले राम्रो प्राथमिक उपचारै नपाएर मृत्यु हुने सम्भावना बढ्छ ।’ त्यसमाथि जनरल खालका र जलनका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा संक्रमणको जोखिम बढ्छ ।

कीर्तिपुर अस्पतालमा जलनका बिरामी

उनीहरूको शरीरको छाला जलेको हुने भएकाले संक्रमण चाँडै फैलिने जोखिम हुन्छ । ‘जलनको मृत्युदर हुने एक कारणमध्ये अस्पतालमा हुने संक्रमण पनि हो’ डा. राईले भने, ‘अप्रेशन गरेर नयाँ लगाएको छाला पनि राम्रोसँग लाग्दैन । छाला निकालिएको ठाउँमा घाउ निको हुँदैन । निमोनिया र अरू अंग फेल भएर मृत्यु हुन्छ ।’

जलेका बिरामीको उपचारमा छाला अभाव पनि छ । गम्भीर रूपमा जलेका बिरामीलाई छाला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । चिकित्सकका अनुसार ३० प्रतिशतभन्दा बढी गहिरो जलन भएका बिरामीलाई आफ्नै छाला पुग्दैन, अरूको छाला प्रत्यारोपण गर्नुपर्छ । कीर्तिपुर अस्पतालमा छाला बैंक समेत छ ।

तर छाला दान गर्नेहरूको संख्या एकदमै न्यून छ । चिकित्सकहरूका अनुसार आँखा लगायतका अंग जस्तै छाला पनि मृत्युपश्चात् दान गर्न सकिन्छ । मृत्यु भएको ६ घण्टा वा शव फ्रिजमा भए १२ घण्टाभित्र छाला निकाल्न मिल्छ ।

‘बिरामी बचाउनका लागि कृत्रिम छाला अर्को विकल्प हो । तर त्यो निकै महँगो हुन्छ । करिब १०/१० सेन्टिमिटरको कृत्रिम छाला करिब ६० हजार नेपाली रुपैयाँ पर्न जान्छ’, डा. राई भन्छन् ।

विकसित देशको तुलनामा नेपालमा जलनका बिरामी मृत्युदर अधिक छ । डा. नकर्मीका अनुसार विकसित देशमा जलन भएकामध्ये ३ प्रतिशतसम्म बिरामीको मृत्यु हुन्छ । तर नेपालमा १५ प्रतिशतको हाराहारीमा मृत्यु हुने गरेको छ ।

‘ठूलो घाउमा हुने संक्रमण, ढिलो अस्पताल आइपुग्नु, पर्याप्त मात्रामा छाला उपलब्ध नहुनु, बिरामीले प्राथमिक उपचार नै नपाउँदा नेपालमा जलनका बिरामीको मृत्यु अन्य देशको तुलनामा बढी छ’, डा. नकर्मी भन्छन् ।

निःशुल्क उपचार दिने चाह

कीर्तिपुर अस्पतालमा जलनको उपचार र डा. राईको साइनो छ । २०१३ मा अस्पताल निर्देशकको जिम्मेवारी सम्हालेसँगै प्रा. डा. राईले ‘बर्न विभाग’ बनाउने परिकल्पना गरेका थिए ।

त्यसबेला नेपालको कुनै पनि अस्पतालमा जलनका बिरामीका लागि छुट्टै अप्रेशन थिएटर थिएन ।

कीर्तिपुरले तत्कालीन समयमा एउटा अप्रेशन थिएटरबाट सेवा सुरु गर्‍यो । त्यसको दुई हप्तामै बिरामीको चाप बढ्दै गयो । अप्रेशन थिएटर छेउमा रहेको फिजियोथेरापीको कोठालाई अर्को अप्रेशन थिएटरमा रूपान्तरण गरियो ।

बर्न विभागमा १४ जना चिकित्सक कार्यरत छन्, जसमध्ये एक जना अष्ट्रेलिया र तीन जनाले अमेरिकामा जलनको उपचार सम्बन्धी तालिम लिइरहेका छन् । विदेशी चिकित्सकहरू नेपालमा आएर पनि तालिम दिने तथा लिने क्रम चलिरहेको हुन्छ । ‘विदेशी टिम ल्याएर हामीले पनि तालिम दिइरहेका हुन्छौं । अनुभव आदान–प्रदान भइरहेको हुन्छ’, प्रा.डा. राई भन्छन् ।

वरिष्ठ प्लास्टिक सर्जन डा. किरण नकर्मी

कीर्तिपुर अस्पतालको अध्ययन अनुसार ४० प्रतिशतको हाराहारी जलेका बिरामीले तीन महिनाभन्दा बढी अस्पतालमा बिताउनुपर्ने हुन्छ । अस्पताल बसाइमा सामान्यतः ४ लाखभन्दा बढी खर्च हुन्छ । आम नागरिकका लागि यो आफैंमा धेरै हो ।

संसारभरकै तथ्यांक हेर्दा अधिकांश गरिब नागरिक आगोबाट जल्ने गरेका घटना छन् । ‘उपचारको क्रममा उनीहरू झन् गरिबीतर्फ धकेलिन्छन्’, प्रा. डा. राई भन्छन् ।

चिकित्सकहरूका अनुसार अस्पताल आइपुगेकामध्ये १० प्रतिशतलाई निःशुल्क नै उपचार गर्नुपर्ने अवस्था छ । यस्तै १० प्रतिशत बिरामी उपचार गर्न सक्ने क्षमताका हुन्छन् । बाँकी ८० प्रतिशतलाई उपचार खर्चको केही प्रतिशत कुनै माध्यमबाट जुटाउनुपर्ने अवस्था रहेको डा. राईको अनुभव छ ।

‘आन्तरिक, बाह्य स्रोतबाट पैसा जम्मा गरेर कतिपय अप्रेशनहरू निःशुल्क गर्दै आएका छौं । तर माग अनुसार गर्न सकेका छैनौं । त्यसका लागि हाम्रो प्रयास जारी छ’, डा. नकर्मीले भने ।

उपचारका क्रममा बिरामीले भोग्नुपरेको आर्थिक समस्यालाई मध्यनजर गर्दै अस्पतालले बर्न कोष स्थापना गरेको छ, जसमा हालसम्म २५ लाख जम्मा भएको छ । त्यसबाट आएको ब्याजले गरिब, विपन्न वर्गलाई केही हदसम्म छुटको व्यवस्था गर्न सकिएको डा. राई बताउँछन् । ‘कोषमा १ अर्ब बनाउन सकेमा सबै बिरामीले खल्तीबाट पैसा झिक्नुपर्दैन । अत्याधुनिक खालको उपचार दिन सक्षम पनि हुन्छौं’ डा. राईले आफ्नो परिकल्पना सुनाउँदै भने, ‘अबको योजना बिरामीलाई निःशुल्क उपचार गर्न पहल गर्ने नै हो ।’

अस्पतालबाट डिस्चार्ज भएपछि पनि नियमित औषधि गर्नुपर्छ । केही बिरामीमा मानसिक समस्या पनि आउन सक्छ । त्यस्तो बेला मनोपरामर्शको आवश्यकता हुन्छ । ‘शरीरमा दाग बस्ने भएकाले कतिपयलाई त्यही घटनाले जीवनभर पोलिरहेको हुन्छ’ डा. राई भन्छन्, ‘उनीहरूलाई नियमित काउन्सिलिङ गरिराख्नुपर्ने हुन्छ ।’

फोटो: आर्यन धिमाल /अनलाइनखबर

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?