+
+
ब्लग :

वीर अस्पतालमा बसेर रोगी राजनीतिलाई नियाल्दा

गोरुगाडा युगको सोच, शैली र व्यवहारले बुलेट ट्रेनको युगलाई बुझ्न र हाँक्न सक्दैन । मभित्रको रोग त समयसँगै निको हुँदैछ, मेरो बुवा भन्दा जेठो राजनीतिको क्रोनिक रोग कहिले निको होला ?

सुदन किराती सुदन किराती
२०८१ असार २५ गते १२:०८

मलाई पुरानो कुराको सम्झना भइरहेको छ ।

पृथ्वीको भू–मध्यरेखामा पर्ने देश हो ब्रुनाई । त्यहाँको उत्पात गर्मी छल्नलाई हो वा मिठै लागेर हो, म बाल्यकालमा आइसक्रिम खुबै खान्थें । मैले मिठो मानेर आइसक्रिम खाए पनि नमिठो गरेर कीराले मेरो दाँत खाएको थियो । कालो ठुटा मात्र रहेको मेरो दाँत अचाक्ली दुख्थ्यो ।

ब्रिटिश आर्मीमा कार्यरत रहँदा ब्रुनाईबाट बुबाको अवकाश हुने समय हुनै लागेको थियो । त्यहीबेला मेरो दाँत उखेल्नै पर्ने भयो । दाँत उखेल्न मलाई असाध्यै डर लागेको थियो । त्यसैले मैले बुवासँग दाँत नउखेल्ने जिकिर गरेको थिएँ ।

त्यतिबेला बुबाले भन्नुएको थियो– “दाँत त उखेल्नुपर्छ छोरा, अब हामी हाम्रो देश नेपाल जाँदैछौं, त्यहाँ अस्पताल पाइँदैन (अन्य अस्पताल बुवाको जानकारीमा नभएको हुनसक्छ), एक मात्रै अस्पताल छ, वीर अस्पताल, त्यहाँ म कोही मान्छे चिन्दिनँ ।” त्यही बेला मेरो कलिलो उमेरमा कहिल्यै नबिर्सने गरी पहिलो पल्ट वीर अस्पतालको नाम बुबाको मुखबाट मेरो कानले सुनेको थिएँ ।

समय पनि कस्तो अनौठो । बुबाको जीवन २०८० साल भदौ ६ गते त्यही अस्पतालमा अन्त्य भयो । अर्थात् बुबाको जीवन सकियो । त्यसको ठिक १० महिनापछि त्यही अस्पतालबाट मेरो जीवन थपियो । अबोध चेतनामा परेको छापदेखि बुबाको मृत्युको घटनासम्मका घाउहरू मभित्र पुनर्ताजगी भएर होला शल्यक्रिया गरेर अस्पतालमा बसुन्जेल मैले सपनामा बुवालाई मात्र देखिरहें ।

म मन्त्री हुँदा बिहानदेखि राति अबेरसम्म काममा खटेको देखेर मेरो प्यारो साथी कमल ढकालले भन्नुहुन्थ्यो, “हेर्नुस् माननीय, खानेकुरामा ख्याल गर्नुहोस्, समय मिलाएर आराम गर्नुहोस्, यो ब्रह्माण्ड, यो प्रकृति र शरीर इमानदार छ । ब्रह्माण्डले प्रकृतिलाई र प्रकृतिले मान्छेको शरीरलाई रक्षा गरिरहेको हुन्छ । शरीरमा रोगले इशारा वा संकेत दिएर आउँछ । शरीरलाई समय नदिए वा संकेतलाई बेवास्ता गरे शरीर र समयले आफंै आराम गराउँछ ।” उहाँको कुरालाई मैले गहिरो मनन् गरें तर व्यवहारमा कार्यान्वयन गर्न सकिनँ । अन्ततः साथी कमल ढकालले भनेको कुरा नै मेरो जीवनमा प्रमाणित भएरै छाड्यो ।

देशले दिएको जिम्मेवारी मैले धेरै गह्रुङ्गो गरी महसुस गरेको थिएँ । म्युजिकल चियर जस्तै नेपालको बदलिरहने राजनीतिमा फेरिरहने मन्त्रीको पालो पु¥याउन मात्रै हैन जति दिन पदमा बसिन्छ परिणाम दिनुपर्दछ भन्ने हुटहुटी मभित्र थियो । त्यसैले दिन–रात नभनी काम गरिरहन्थें । कमजोरी भनौं या के भनौं मेरो बानी अचम्मको छ । जब म मेरो आफ्नो लक्ष्यमा अगाडि बढ्छु तब मसँग प्रायः वैकल्पिक योजना हुँदैन । लक्ष्य भेट्नलाई धेरैवटा विकल्पहरू बोकेर चलखेल गर्नु आफैंलाई बेइमानी र मौका छोपुवा जस्तै लाग्छ ।

अतः प्रकृतिमा स्वच्छ बागमती नदी बिग्रिए जस्तै मेरो स्वस्थ शरीर पनि भित्रभित्रै बिग्रिंदै गएर पेटमा अल्सर भइसकेको रहेछ । अल्सरसँगै पित्त थैलीमा ट्युमर पलाएको पनि देखियो । त्यो बेलामा डाक्टरले भन्नुभएथ्यो– “पहिले अल्सर निको पार्ने, पलाएको ट्युमरलाई ख्याल गर्ने, अहिलेकै अवस्थामा रहिरहे डराउनुपर्दैन, बढ्यो भने काटेर फालिहाल्नुपर्छ ।”

तथापि म मेरो उद्देश्यमा हरियो बत्ती बालेर हिंडिरहेको थिएँ । थाहै नपाई जीवनले त भित्रभित्रै रातो बत्ती बाल्ने तयारी गरिरहेको रहेछ जब डाक्टरलाई भेट्न गएपछि थाहा भयो । कात्तिकमा देखिएको चार एमएमको ट्युमर असारमा दश एमएमको भैसकेछ ।

डाक्टरले भन्नुहुन्थ्यो ‘दश एमएम भन्दा माथि भयो भने क्यान्सर हुन सक्छ ।’ जीवनलाई रातो बत्तीबाट हरियो बत्तीमा फर्काउन आकस्मिक शल्यक्रिया गर्नुपर्ने भयो । उता बाहिरी प्रकृतिमा मनसुन सक्रिय भएर आइरहेको थियो । यता भने म भित्र मनसुन सँगै रोग सक्रिय भएर आएछ ।

असार १५ गते हरेक वर्ष आफ्नो निर्वाचन क्षेत्रमा किसानलाई हौसला भर्ने उद्देश्यले धान दिवस मनाउन जाने मेरो चलन अनुसार यसपटक पनि कार्यक्रमलाई निरन्तरता दिने पूर्वतयारी भइसकेको थियो । पुर्खाले भने जस्तै, आफूभन्दा ठूलो आइलागेपछि कसको के लाग्दो रहेछ र ! असार १४ गते बिहान ८ बजे मेरो शल्यक्रिया भयो । पूर्व निर्धारित धान रोप्ने कार्यक्रम पनि स्थगित हुनपुग्यो ।

***

गरिब जनताले उपचार गराउने सरकारी अस्पताललाई विश्वास नगरेर हो या अस्पतालले विश्वास दिलाउन नसकेर हो प्रायः धनी र प्रतिष्ठितहरू वीर अस्पतालमा उपचारका लागि नआउँदा रहेछन् । राज्यको धेरै सम्पत्ति खर्च गरेर बनेको भीआईपी र भीभीआईपीको लागि भनेर राखेको बेड माकुराको जालो र फोहोर मैलो भएर रित्तो पल्टिरहँदो रहेछ ।

“ठूलाबडाको कहीं न कहीं अस्पतालमा लगानी हुन्छ, उनीहरू त्यहीं निःशुल्क उपचार गराउँछन् ।” त्यही भएर यो अस्पताल नबनेको हो भन्ने अस्पतालमा आएका बिरामी र बिरामीको मान्छेबाट अस्पतालमा जताततै व्यापक गुनासो सुनिन्थ्यो ।

अस्पताल उही थियो । समय र सम्बन्ध फरक थियो । पहिले बुबाले मेरो चिनेको मान्छे कोही छैन वीर अस्पतालमा भन्नुहुन्थ्यो । आज म पूर्व मन्त्रीको हैसियतमा भीआईपी बेडमा बस्न आइपुगें । बुवा सम्झिएँ । म बुवा जस्तो ब्रिटिश आर्मीमा गइनँ । तर जुन बाटोमा लागें, मैले सामाजिक सम्पत्ति टन्नै कमाएको महसुस गरें ।

इष्टमित्र र साथीहरू टनाटन अटाई–नअटाई भेट्न आउनुभयो । मान्छेले मान्छेको भीड देखेर भन्नुहुन्थ्यो— “यत्ति धेरै हामी आएर तपाईंले आराम गर्न नपाउँदा दुःख भयो होला ।” मैले भन्थें “माछीको लागि पानी बढ्नु त सुखद् कुरा हो, पानी घट्नु पो दुःखद् कुरा हुन्छ, तपाईंहरूसँगको भेटले नै मलाई बढी आरामको महसुस भएको छ !”

सस्तोमा भयानक रोगहरू जँचाउन र उपचार गर्नको निम्ति बनेको एक ऐतिहासिक त्यो वीर अस्पताल । एक दिनमा औसत तीन हजार भन्दा बढीले जाँच गराउने रहेछन् । यो अस्पतालको जीवनको मलाई धेरै नै चिन्ता लाग्यो । निर्वाचनको बेला सम्झेर बोल्नकै निम्ति घोषणापत्रमा लेख्ने निर्वाचन सकिएपछि गर्नको निम्ति कहिल्यै नसम्झिने राजनीतिक प्रवृत्ति अस्पताल अस्तव्यस्त बन्नुमा जिम्मेवार छ । सर्वसाधारण नागरिकको लागि हिजोको समय पनि वीर अस्पताल, आजको समयमा पनि वीर अस्पताल र पछिका लागि पनि वीर अस्पताल ।

राणा शासनलाई परास्त गरे, निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नु आफैंमा ऐतिहासिक काम थियो तर यसको ब्याजले आजीवन र पुस्ता दरपुस्तालाई पुग्दैन भन्ने भ्रमलाई च्याप्न हैन च्यात्न सक्नुपर्छ ।

अक्सर मलाई लागिरहन्छ जिम्मेवारीमा बसेको नेतृत्वले आफ्नो जिम्मेवारी बहन गर्दा एक दिन पनि एक युग सम्झनुपर्छ । जसको प्रत्येक कदमले भावी पुस्ताको लागि एक विशाल दिशा र दसाको निर्धारण गर्दछ । त्यसैले समयलाई बुझेर, समय अनुसार कुनै पनि मान्छे चल्नु र वस्तुलाई चलाउन सकिएन भने त्यो समयसँगै समाप्त हुन्छ ।

प्रतीकात्मक रूपमा समयको महत्व सबैले बुझौं भनेर अस्पताललाई मैले घडी उपहार दिने निर्णय लिएँ र घडी भित्रै लेखें “वीर अस्पतालले मलाई जीवन दियो, मैले अस्पताललाई घडी उपहार दिएँ । घडीले समय दिए जस्तै, अस्पतालले जनतालाई सेवा दिइरहोस् । वीर अस्पताल पनि समय अनुसार चलिरहोस् । अस्पताल परिवारलाई धन्यवाद !” यो सबै तारताम्य मिलाइदिने मेरो प्रिय साथी दिपेन्द्र वान्तावालाई विशेष धन्यवाद दिन चाहन्छु ।

यता हस्पिटलमा मभित्र रोगको तापक्रम घट्दै थियो । उता बाहिर राजनीतिको तापक्रम भने ह्वात्तै बढिरहेको रहेछ । बितेका १८ महिनामा सत्ता समीकरणको चौथो खेलकुद ठूलो झाँकी र तामझामका साथ सुरु भइसकेको भएतापनि जनतामा कुनै उत्साह देखिएको थिएन । सायद पुरानै खेल, पुरानै अनुहार र पुरानै कर्मकाण्ड भएकोले होला !

भनिन्छ लोकतन्त्रमा दुई ठूला दल मिल्नु लोकतान्त्रिक पद्धतिको मूल्य विपरित कर्म हो । एकातिर संविधान संशोधनको विषयलाई उठाएर जतिसुकै कस्मेटिक बनाउन खोजे पनि अर्काेतिर विभिन्न काण्डहरूको मुख्य अपराधी र अपराधका मतियारहरूलाई जोगाउने छाताको रूपमा यो गठबन्धनको हठात् विकास भएको हो भन्ने सार्वजनिक शंकाको सुविधा व्यापक रूपमा पैदा भएको छ । बाँकी गर्भभित्रको विषयहरू क्रमशः उद्घाटित हुँदै जाने नै छन् ।

काखमा सुताएर निर्ममतापूर्वक चिरेर हत्या गर्न सक्ने नेपाली राजनीतिको प्रवृत्ति अब लामो समय टिक्न सक्दैन । समयसँगै विकास भएको सूचना र प्रविधिको यो युगमा हिजो ५० वर्षमा देखिएको घटना आज पाँच वर्षमा सम्भव हुने भएको छ । आफ्नो उमेर र समयको हिसाबलाई सायद वृद्धा अगुवाहरूले राम्ररी बुझेर गरेको कर्मले होला प्राप्त पीडादायिक परिणाम देश र जनताले बेहोर्नु परिरहेको छ ।

भनिन्छ महान् मान्छेहरूले अरूले घटाएको घटनाबाट शिक्षा लिन्छ, औसत मान्छेहरूले आफूले घटाएको घटनाबाट शिक्षा लिन्छ तर मूर्खहरूले आफैंले घटाएको घटनाबाट पनि शिक्षा लिन सक्दैन । राजनीतिलाई अपराधीकरण गर्न उद्यत भएका वृद्धाहरूको पथमा लिङ्गेपीङ हालेर मच्चिने हामी युवा भनिनेहरू माथि पनि समयले प्रश्न उठाएको छ ।

चिनियाँ महान् साहित्यकार लुसुनले भने जस्तै, ‘तन्नेरी शरीर माथि गाँसिएका के हामी वृद्धा टाउकाहरू हौं ?’ दृष्टिकोणमा संकुचित भएर हामी इतिहासको लेखाजोखा पनि नगरौं, दूधलाई दूध र पानीलाई पानी भन्न सकौं, अगुवाहरूले निर्माण गरिदिएको फोहोरी संस्कृतिको भारी पनि नबोकौं साथै अगुवाहरूले इतिहासमा गरेको सकारात्मक योगदानको कदर पनि गरौं ।

इतिहासमा पुर्खाहरूले कमजोरी पनि गरेका छन् सँगै महान् काम पनि गरेका छन् । सिक्किम र तिब्बत विश्व मानचित्रबाट लोप हुँदा नेपाललाई पुर्खाले नै जोगाएका थिए । राणा शासनलाई परास्त गरे, निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नु आफैंमा ऐतिहासिक काम थियो तर यसको ब्याजले आजीवन र पुस्ता दरपुस्तालाई पुग्दैन भन्ने भ्रमलाई च्याप्न हैन च्यात्न सक्नुपर्छ ।

वैज्ञानिक स्टेफन हकिङका अनुसार, ‘जगतमा सत्य दुई वटा मात्रै छ, एउटा ब्रह्माण्ड अर्काे समय !’ त्यसैले कुनै पनि वस्तु वा पदार्थको जीवन यथास्थितिमा रहिरहनु सत्य होइन । त्यसको जीवन समयसँगै बदलिरहनु चाहिं सत्य हो । मान्छेको जीवन त केवल सत्यलाई हेर्ने क्षणिक साक्षी मात्रै हो ।

त्यसैले आजको युगमा कुनै पनि मान्छे वा समूहले केही समय सत्ता हातमा लिएर रवैया प्रस्तुत गर्न सक्छ तर सधैं लिन सक्दैन । हाम्रा अग्रजहरूको उमेरले त विस्तारै डाँडा काट्दै होला तर इतिहास ज्यादै निर्मम हुन्छ । आज मान्छेले गरेको कामको समीक्षा मान्छे मरेपछि पनि चिहानबाट पटक–पटक उठाएर गर्ने गर्दछ । गोरुगाडा युगको सोच, शैली र व्यवहारले बुलेट ट्रेनको युगलाई बुझ्न र हाँक्न सक्दैन ।

मभित्रको रोग त समयसँगै निको हुँदैछ, मेरो बुवा भन्दा जेठो राजनीतिको क्रोनिक रोग कहिले निको होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?