+
+
पुस्तक समीक्षा :

‘फर्केर हेर्दा’ अर्थात् विकृति देखाइदिने ऐना

व्यक्तिगत कुरालाई छोडिदिने हो भने यस पुस्तकले नेपालको शिक्षाको इतिहास बोल्छ, अर्थ व्यवस्था बोल्छ, राजनीतिक अवस्था बोल्छ, नेता र कार्यकर्ताको प्रवृत्ति बोल्छ । यस पुस्तकले नेपालको समाजशास्त्र बोल्छ, संस्कृति बोल्छ, संस्कार बोल्छ । नेपालको कर्मचारी प्रशासनको विकृति बोल्छ ।

खगराज बराल खगराज बराल
२०८१ असार २६ गते १७:२०

असार ४ गते कृष्ण पोखरेल सरको फेसबुक मेसेन्जरमार्फत पुस्तक सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रमको निमन्त्रणा आयो । कार्यक्रमको मिति २०८१ साल असार ८ गते शनिबार  थियो भने, स्थान प्रज्ञा भवन, कमलादीको पारिजात कक्षमा र समय दिउँसो १ बजे । म निमन्त्रणा मान्न समयमा नै प्रज्ञा भवनमा पुगेँ । पारिजात कक्षमा जाँदै गर्दा भर्‍याङमा डा. कयोदेवी यमीसँग भेट भयो । अभिवादनपश्चात हामी दुवै पारिजात कक्षमा पुग्यौँ । निमन्त्रणामा आफू आएको सूचना दिन म कृष्ण पोखरेल सरको नजिकै पुगेँ ।

“परिचय गर्न आए जस्तो छ नि बराल सर”, हँसिलो अनुहारमा कृष्ण सरले भन्नुभयो ।

“होइन, होइन सर । बरु म आएँ हैँ भन्ने सूचना दिन आएको । हजुरको फेसबुक मेसेन्जरको निमन्त्रणा पाएपछि म आएको हुँ”, मैले भनेँ ।

पारिजात हल भरिदै थियो । म पछाडिको कुर्चीमा विजय सुब्बाको नजिकै गएर बसेँ । बिस्तारै हल खचाखच भयो । बस्नेका लागि कुर्ची पुगेनन्, मासिनहरू उभिएर कार्यक्रममा सहभागी भए ।

कार्यक्रममा कमल कोइराला, चन्द्रप्रकाश (सिपी) मैनाली, राधाकृष्ण (आरके) मैनाली, कृष्ण खनाल, प्रा. डा. उपेन्द्र कोइराला जस्ता राष्ट्रिय राजनीतिमा चर्चित व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा केही समय बसेर पुस्तक पढ्ने हतारोमा म निस्किहालेँ ।

००००

मैले कृष्ण पोखरेल सरलाई वि.सं. २०६५ सालमा मात्र चिनेको हुँ । म पोखराको, उहाँ पूर्व विराटनगरको । क्याम्पस पढ्दा म पोखराको पृथ्वीनारायण क्याम्पसमा पढेँ, उहाँ मेची क्याम्पस, महेन्द्र मोरङ क्याम्पस हुँदै जनप्रशासन क्याम्पस, काठमाडौँमा पढाउनु भएको, हाम्रो चिनजान हुने कुरै भएन ।

वि.सं. २०६४ सालमा मैले निजामतीतर्फ शिक्षा सेवाको उपसचिव र सहसचिवमा परीक्षा दिएको थिएँ । दुवैतिर लिखितमा नाम निस्कियो । तर, लामो समय अन्तर्वार्ता हाम्रो हुन सकेन, लोक सेवा आयोगमा अध्यक्ष तीर्थमान शाक्यबाहेक अन्य पदाधिकारी नभएका कारणले ।

मलाई लाग्छ, २०६५ सालको फागुनतिर हुनुपर्छ, लोक सेवा आयोगमा प्रा. कृष्ण पोखरेल, डा. कयोदेवी यमी, टिकादत्त निरौला र राजेन्द्र साह नियुक्त हुनुभएको थियो । लोक सेवा आयोगले पूर्णता पाएपछि हाम्रो अन्तर्वार्ताको पनि तालिका प्रकाशित भयो । सहसचिवको अन्तर्वार्ता चैत ४ गते दुई बजेलाई तोकिएको थियो ।

म अन्तर्वार्ता दिनका लागि पोखराबाट काठमाडौं आएँ । २०६५ सालको फागुन २६ गतेको दिन सहसचिव भइसकेका केही साथीहरूसँग अन्तर्वार्ताका केही सल्लाह लिन गएँ । साथीहरूले भने, “अहिले त जनप्रशासन क्याम्पसका प्राध्यापक कृष्ण सर पनि लोक सेवा आयोगको सदस्य हुनुहुन्छ । यहाँले थुप्रै पुस्तकहरू पनि लेख्नुभएको छ । निजामती सेवा, जनशक्ति व्यवस्थापन आदिमा उहाँले लेखेको पुस्तकहरू पढ्नू है । काम लाग्छ ।”

म तत्कालै भोटाहिटी गएर कृष्ण पोखरेलले लेख्नुभएका दुईओटा पुस्तक किनेर ल्याएँ– ‘विश्व शासन’ र ‘नेपालको शासन र प्रशासन’ । दुवै पुस्तक अन्तर्वार्ताका लागि उपयोगी हुने देखेँ । यी दुई पुस्तक पनि पढेँ । तोकिएको मिति र समयमा मेरो अन्तर्वार्ता सम्पन्न भयो । सहसचिवको एक पदमा म नै सिफारिस भएँ ।

अन्तर्वार्ता लिने तीर्थमान शाक्यलाई त चिन्दथेँ । उहाँले मलाई उपसचिवमा पनि अन्तर्वार्ता लिनुभएको थियो । ‘विश्व शासन’ पुस्तकमा कृष्ण पोखरेलको फोटो देखेकाले पोखरेल सरलाई चिन्न गाह्रो भएन । अध्यक्ष तीर्थमान शाक्य बाहेक अरूलाई भने मैले चिनेको थिइनँ । अध्यक्षलाई उपसचिवको अन्तर्वार्ता दिँदा चिनेको थिएँ ।

अन्तर्वार्तामा संयोजन गर्नुभएका लोक सेवा आयोगका अध्यक्षले नै अन्तर्वार्ताको सुरुवातमा नै सबै जनाको परिचय गराउनु भयो । विशेषज्ञका रूपमा पूर्व मुख्य सचिव ईश्वरप्रसाद उपाध्याय हुनुहुन्थ्यो । म शिक्षा सेवामा अधिकृत हुँदा उपाध्याय सर शिक्षा सचिव हुनुहुन्थ्यो । अन्तर्वार्ता दिनुपूर्व शिक्षा सचिवको नाम सोधीखोजी गरेको थिएँ त्यसबेला । नभन्दै अन्तर्वार्तामा वर्तमान शिक्षा सचिवको नाम के हो भनी सोधिएको पनि थियो ।

सहसचिवको अन्तर्वार्तामा निकै हँसिलो र रसिलो किसिमले उत्साहित बनाउँदै प्रश्न गर्ने कृृष्ण सरको शैलीबाट म निकै प्रभावित भएको थिएँ । अन्तर्वार्ता लिने कृष्ण सरको अनुहार अहिले पनि झल्झली सम्झना आउने कारण उहाँको गोरो र उज्यालो अनुहार हो ।

कृष्ण पोखरेल सर प्राध्यापकका साथसाथै पुस्तक लेखक पनि हुनुहुन्छ भन्ने थाहा थियो । दुईओटा पुस्तक त मैले किनेकै थिएँ । उहाँले ‘आधुनिक राजनीतिक विश्लेषण र राजनीतिक शोध’, ‘जनप्रशासनका सिद्धान्त’, ‘अन्तर्राष्ट्रिय सम्बन्धको विश्लेषण’, ‘राजनीतिक समाजशास्त्र’, ‘राजनीतिक विचारधाराको विश्लेषण’, ‘विश्व शासन’, ‘नेपालको शासन र प्रशासन’ जस्ता थुप्रै पुस्तकहरू लेख्नुभएको रहेछ ।

पुस्तकमा वीपी पुत्र प्रकाश कोइरालालाई आफूसँग एसएलसीसम्म पढेका क्लासमेटका रूपमा लेखकले उल्लेख गर्नु भएको छ । पुस्तकमा उल्लिखित सबै कुरा मिले पनि मेरो जानकारी भएसम्म प्रकाश कोइराला सर्लाहीबाट भने सांसद भएका होइनन् । यसमा लेखक अलमल परेको जस्तो देखिन्छ ।

पोखरेल सरको साहित्यिक यात्राका सम्बन्धमा खासै थाहा थिएन मलाई । फर्केर हेर्दा पुस्तक पढेपछि उहाँ त अब्बल साहित्यकार पनि हुनुहुँदोरहेछ भन्ने लाग्यो । कविता प्रतियोगितामा पहिलो, कथा प्रतियोगितामा पहिलो, थुप्रै कथा र कविता लेख्नु भएको र ‘बौआ’ नामको आञ्चालिक उपन्यास पनि लेख्नुभएको थाहा पाएपछि मलाई ‘फर्केर हेर्दा’ पुस्तकको समीक्षा गर्न थप प्रेरणा मिल्यो ।

उनै कृष्ण पोखरेल सरको ‘फर्केर हेर्दा’ पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा सहभागी भएपछि पुस्तक पढेँ र समीक्षा गरेको छु । यहाँ मैले कृष्ण पोखरेल सरलाई एक लेखकका रूपमा मात्र हेरेको छु । उहाँको पद, योग्यता तथा योगदानलाई हेरेर समीक्षा गरेको छैन । कृष्ण पोखरेललाई प्राध्यापक हैन, एक लेखकका रूपमा हेरेको छु । त्यसैले यस समीक्षामा सामान्य आदरार्थी शब्दको प्रयोग गरेको छु ।

०००

पुस्तकमा एउटा मात्र मोटो शीर्षक छ ‘पूर्व योजना बिनाको जिन्दगी’ । त्यसपछिका सबै शीर्षक उपशीर्षकका रूपमा रहेका छन् । ‘फर्केर हेर्दा’ पुस्तकको नाम नै ‘पूर्व योजना बिनाको जिन्दगी’ हुनुपर्थ्यो, यसो भएको भए अन्य उपशीर्षकहरू शीर्षक हुन पुग्थे । ‘पूर्व योजना बिनाको जिन्दगी’ शीर्षक पढेपछि अर्को शीर्षक खोज्दाखोज्दै पुस्तक सकिन्छ, अर्को शीर्षक नै फेला पर्दैन ।

कतिपय उपशीर्षकमा उल्लिखित पदावलीअनुसारको विषयवस्तु पाठमा पाइँदैन । जस्तैः ‘मेरा बाबा–आमा’ उपशीर्षकमा आमाको खासै कुरा छैन, बाबा, हजुरबा, हजुरआमाका कुरा छन् (पृ.१९) । ‘मेरा बाबा–आमा’ उपशीर्षकबाट आत्मकथा सुरु भएर भाइ शम्भुमा पुगेपछि टुंगिएको छ । कतिपय उपशीर्षकहरू कालक्रमअनुसार छैनन्, अघिपछि छन् ।

लेखक साहित्यिक व्यक्ति पनि हुन् भन्ने कुरा ‘हामीले पनि साहित्यमा कलम चलायौँ (पृ. २७)’ ले उजागर गर्छ । ‘झोराको गीत’ शीर्षकको कविता त्रिभुवन विश्वविद्यालयको वार्षिकोत्सवमा प्रथम भएको लेखक कोशी अञ्चलव्यापी कथा प्रतियोगितामा पनि प्रथम भएको जानकारी पुस्तकले दिन्छ । मैले पोखरेल सरको गैह्रसाहित्यिक कृति पढेको छुु साहित्यिक कृति पढ्न पाएको छैन । मैले मात्र हो कि अरूले पनि होला ?

पुस्तकमा वीपी पुत्र प्रकाश कोइरालालाई आफूसँग एसएलसीसम्म पढेका क्लासमेटका रूपमा लेखकले उल्लेख गर्नु भएको छ । पुस्तकमा उल्लिखित सबै कुरा मिले पनि मेरो जानकारी भएसम्म प्रकाश कोइराला सर्लाहीबाट भने सांसद भएका होइनन् । यसमा लेखक अलमल परेको जस्तो देखिन्छ । पुस्तकमा लेखिएको छ, ‘अर्को पटक उनी सर्लाहीतिरबाट पनि चुनाव जितेर सांसद भए (पृ.२७) ।’ वीपी पुत्र प्रकाश कोइरालाले सर्लाहीबाट होइन, रौतहटबाट चुनाव जितेर सांसद भएका हुन् भन्ने लाग्छ मलाई ।

आफ्नो काम लिनका लागि नेताहरुले भनेको सर्त मान्नुपर्छ र नेताहरूसँग सम्झौता गर्नुपर्छ भन्ने कुरा नेपालमा बुद्धिजीवी परिषद् नामको संस्थाका सदस्यले भनेको कुरालाई लेखकले जस्ताको तस्तै राखिदिएका छन्  ।

लेखकले प्राध्यापन थाल्दा कलेजमा प्राध्यापकहरूले गरेका छलफल तथा बहसलाई पुस्तकमा यसरी उल्लेख गरिएको छ– लिजरका बेला उनीहरूमाझ कि त अघिल्लो दिन तासमा कसले मार्‍यो, कसले हार्‍यो भन्ने कुरा हुन्थ्यो, कि बेलुका रक्सी खाँदा कसले झगडा गर्‍यो वा बान्ता गर्‍यो भन्ने कुरा हुन्थ्यो ।

यदाकदा झगडाका तुष त्यही कुराकानीमा पनि आउँथे । सधैंजसो उही कुरा हुन्थे तर तास मार्ने र झगडा गर्ने पात्रहरूमात्र फरक हुन्थे । उनीहरूको कुरा सुनेर मेरो मनमा एउटा प्रश्न उठ्थ्यो– के मैले सोचेको प्राध्यापकको जीवन यही हो ? (पृ. ८६) । यी तत्कालीन समयका यथार्थ र वास्तविक कुरा थिए । वर्तमान समयमा कस्ता कुरा होलान्, अनुमान मात्र गर्न सकिन्छ ।

लेखक मौका परस्त पनि लाग्छ । आफ्नो प्राध्यापन पेसाबाहेक राजनीतिक तथा अन्य नियुक्तिका लागि अति नै अवसर र मौकाको पर्खाइमा देखिन्छन् उनी । यसलाई लेखकले यसरी उजागर गरेका छन्– म यो मौकालाई सदुपयोग गर्दै कुनै जिम्मेवारीमा पुग्न चाहन्थेँ (पृ. १५५) ।

अवसर लिनका लागि तत्कालीन संस्कृति वा विकृतिअनुसार शीर्ष नेताबाट शक्तिको प्रयोग गराउने चलनबाट लेखक अछुत रहेनन् । आफ्नो प्रयासलाई लेखकले यसरी व्यक्त गरेका छन्– हामीले अध्यक्षबाट फोन गरायौँ (पृ. १५५) ।

विश्वविद्यालयको उपकुलपति सिफारिस समितिका सदस्य रहेका नेपालको पुरानो विश्वविद्यालयका उपकुलपतिले लेखकलाई भनेका कुरा पोखरेलले जस्ताको तस्तै राखिदिएका छन् । झण्डै पच्चिस वर्ष अगाडिको कुरा अहिले पनि उस्तै नै रहेको छ । ‘हेर्नुस् पोखरेल सर । यो सर्च कमिटी त कानुनी औपचारिकता मात्र हो, पार्टीले जसको नाम ल्याउँछ, त्यसको सिफारिस गर्ने हो हामीले (पृ. १४८) ।’ यी र यस्तै कुरा पढ्दा नेपालका विश्वविद्यालयका पदाधिकारीहरूको नियक्तिको वास्तविकता झल्कन्छ ।

आफ्नो काम लिनका लागि नेताहरुले भनेको सर्त मान्नुपर्छ र नेताहरूसँग सम्झौता गर्नुपर्छ भन्ने कुरा नेपालमा बुद्धिजीवी परिषद् नामको संस्थाका सदस्यले भनेको कुरालाई लेखकले जस्ताको तस्तै राखिदिएका छन्– ‘बुझ्नु भो ? कम्प्रोमाइज गर्न जान्नुपर्छ कम्प्रोमाइज । नेताहरूलाई जे मनपर्छ, त्यही बोल्न जान्नुपर्छ ।’ (पृ. १४४) ।

नेपालमा नेता भएपछि सबै कुरा जानिन्छ भन्ने भ्रम नै छ । नेता नै सर्वज्ञ हो, उसैबाट ज्ञान निशृत हुन्छ भन्ने विश्वास नेतृत्व तहमा मात्र होइन, कार्यकर्ता तहमा पनि बास गरेको छ । नेपालका बौद्धिक भनेर बुझिने प्राध्यापकहरूलाई नेताहरूले खासै महत्व नदिने प्रसङ्ग उल्लेख गर्दै एक जना नेताले दिएको प्रतिक्रियालाई लेखकले यसरी उल्लेख गरेका छन्, ‘ए नेताहरूभन्दा आफू जान्ने हुँ भन्ठान्ने ? हामीलाई सिकाउने ? (पृ. १४४) ।’ नेताले थर्काउँदा लेखकले नेतालाई जवाफ दिएको कुरा लेखकले यसरी उल्लेख गरेका छन्, ‘म बेरोजगार भएर जागिर माग्न आएको होइन ।’ (पृ. १४६) ।

बौद्धिकताको उपयोग गरी आफूले अखबारमा लेखेको लेखलाई आफू सम्बद्ध राजनीतिक दलले सहज रुपमा नलिएको र आफूलाई आत्मालोचना गर्न भनेको प्रसङ्गलाई लेखकले पुस्तकमा स्पष्ट किसिमले यसरी उल्लेख गरेका छन्– ‘ती लेखले पार्टीलाई ठूलो नोक्सान गरेकाले ती अगाडि राखेर तपाईंसँग छलफल गर्नुपर्छ र तपाईंले आत्मालोचना गरेपछि मात्र तपाईंलाई कुने अवसर दिनेबारे पार्टीले सोच्नेछ ।’ (पृ. १४५) ।

आक्रोशित नेतालाई लेखकले हिटलरको कथा सुनाएको प्रसङ्ग अत्यन्त चोटिलो र सान्दर्भिक छ । यो कथाको प्रङ्सग थाहा पाउने पाठकले ‘फर्केर हेर्दा’ पुस्तक नै पढ्नुपर्ने हुन्छ ।

लेखक राजनीतिप्रति सचेत मात्र होइन, राजनीतिक दलप्रति आबद्ध पनि थिए । राजनीतिक आबद्धतासँगै आफू आबद्ध राजनीतिक दल सरकारमा पुगेको समयमा लेखकलाई केही अवसरको आशा भएको कुरा पुस्तकमा केही स्थानमा दोहोरिएको पाइन्छ । वि.सं. २०५१ सालमा गठन भएको मनमोहन अधिकारीको नेतृत्वको सरकारबाट अवसरको आशा गरे पनि पीडामात्र पाएको सन्दर्भ लेखकले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीले सल्लाहकार राख्ने इच्छा गर्नु भो, त्यो सम्भव भएन, सीपी मैनालीले सल्लाहकारको कुरै छाडौँ स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको डाइरेक्टरसम्म पनि बनाउन पाउनु भएन । स्थिति कतिसम्म भयो भने मैले विराटनगरबाट आफैँले कुरियर गरेर सीभी पठाएका व्यक्ति क वर्गको संस्थानको महाप्रबन्धक भए तर म भने सबैतिर रोकिएँ’ (पृ. १४३) । लेखकले सरकारबाट अवसर नपाएको गुनासो निकै पीडादायी किसिमले उल्लेख गरेका छन् । आखिर विश्वविद्यालयका प्राध्यापकलाई यतिविघ्न पीडा महसुस किन भयो होला ?्

लेखकले वि.सं. २०५२ साल भदौ १२ गतेको सर्वोच्चको संसद विघटनसम्बन्धी फैसलाको सही विश्लेषण गरेका छन् । यदि तत्कालीन प्रधानमन्त्रीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले नउल्टाइदिएको भए देशको इतिहास अर्कैतिर मोडिने थियो भन्ने अधिकांश नेपालीको विश्वासलाई लेखकले उद्घाटित गरेका छन् ।

‘प्रधानमन्त्रीको संसद् भङ्ग गरेर नयाँ निर्वाचनमा जाने प्रस्तावमा तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको नेतृत्वमा सर्वोच्च अदालतले हस्तक्षेप नगरेको भए नेपालको इतिहास अर्कैतिर मोडिन्थ्यो,’ पुस्तकमा लेखिएको छ, ‘तर, राजनीतिक विषयमा प्रवेश गरेर सर्वोच्च अदालतले जे गर्‍यो, त्यसबाट नेपालको संसदीय राजनीतिमा मात्र बद्नाम भएन कि राजनीतिक अस्थिरताको लामै शृङ्खला प्रारम्भ भयो’ (पृ. १४३) ।

संसद विघटन सदर भई निर्वाचन भएको भए सायद देश गृह युद्धतिर फस्दैनथ्यो, देशमा द्वन्द्वको स्थिति आउँदैनथ्यो भन्ने विश्वास गर्ने प्रशस्त ठाउँ छन् । यस सन्दर्भमा विमति राख्नुपर्ने ठाउँ छैन । संसद विघटन गरी नयाँ निर्वाचन गर्ने तत्कालीन प्रधानमन्त्रीको अधिकारलाई अङ्कुश लगाएपछिको राजनीतिक अस्थिरता, द्वन्द्व त कतिपय हामीले भोगेका नै थियौँ, प्रत्यक्ष अनुभूति नै गरेका थियौँ, नभोगेकाहरूले पनि इतिहासका रूपमा पढ्ने नै छन् ।

लेखकलाई प्राध्यापक सङ्घमा लाग्दा र प्राज्ञिक स्वतन्त्रताको माग गर्दाको क्षण सम्झिँदा व्यर्थै गरेछौँ कि जस्तो लागेको छ । नेपालको प्राध्यापक, राजनीतिक दल आदिको व्यवहार देख्दा लेखकलाई दिक्क लागेको क्षण यसरी व्यक्त गरेका छन् लेखकले, ‘हामीले प्राध्यापक सङ्घको आन्दोलनमा लाग्दा प्राज्ञिक स्वतन्त्रताको माग कि त व्यर्थै गरेका रहेछौँ कि त्यसको अर्थ बुझेका रहेनछौँ’ (पृ. १४२) ।

नेपालका बुद्धिजीवीहरू राजनीतिक दलका आज्ञापालक भए भन्ने कुराप्रति लेखकले गुनासो यसरी व्यक्त गरेका छन्, ‘बुद्धिजीवीलाई जुलुसमा हिँडाएर कुनै पार्टीको बौद्धिक उचाइ बढ्दैन । तर, स्थानीन ठिटौले नेताहरूयो मान्न तयार थिएनन् मात्र होइन, तिनमा यो बुझ्ने क्षमतासमेत थिएन’ (पृ.१४१) । नेपालका बुद्धिजीवीहरूले देश सपार्न भन्दा बिगार्न उद्धत देखिन्छन् भन्ने लेखकको ठम्याइ छ, ‘साथीहरूको बुद्धिले जति बिगार्न सक्थे, त्यति बिगारेछन्’ (पृ.१३८) ।

विश्वविद्यालयका सेवा आयोगहरू कार्य सम्पादनका लागि कार्यकारी परिषद्को निर्णयमा निर्भर हुनुपर्ने यथार्थतालाई पनि लेखकले पुस्तकमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘विश्वविद्यालयको कार्यकारी परिषद्ले माग नगरी आयोगले शिक्षक वा कर्मचारीको छनोट सिफारिसको विषयमा सिन्का भाँच्न पनि मिल्दैँनथ्यो’ (पृ. १५७) ।

विगतमा विश्वविद्यालयका पदाधिकारी र सेवा आयोगबिच समन्वय हुन नसक्दा वर्षौसम्म विज्ञापन हुन पनि सकेको थिएन । यो समस्या नेपालका केन्द्रीय विश्वविद्यालयका रूपमा रहेका एघारओटै विश्वविद्यालयमा विद्यमान थियो, अहिले पनि छ ।

लेखकमा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको अध्यक्ष भएको अनुभव थियो । त्यसपछि लेखक लोक सेवा आयोग जस्तो संवैधानिक निकायको सदस्य हुँदा कानुनमा उल्लेख भएबमोजिम त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको लोक सेवा आयोगबाट प्रतिनिधित्व गर्ने सदस्य पनि भए ।

पुस्तकमा लेखकले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको गतिविधि र बेथिति जसरी उल्लेख गरेका छन्, यसले नेपालका अधिकांश विश्वविद्यालयका सेवा आयोगका गतिविधिको प्रतिनिधित्व गर्छ र पाठकहरू पनि अन्य विश्वविद्यालय सेवा आयोगका गतिविधिहरू यस्तै होलान् भनी सोच्न बाध्य हुन्छन् । यसको मूल कारण नै विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरू नियुक्तिमा गरिएको राजनीतिक दलहरूबिचको भागबन्डा नै हो ।

उनले लेखेका छन्, ‘विश्वविद्यालयका सेवा आयोगप्रति विश्वविद्यालयका कतिपय शिक्षकको नै विश्वास देखिँदैन । तालिकाबद्ध रूपमा आयोग खुल्दैन, पहुँचका आधारमा मात्र आयोग खुल्छ । खुलेका पदको औचित्य पुष्टि हुन सक्दैनन । पदसङ्ख्या नतोकी गरिने विज्ञापनमा उनीहरू आफूखुशी कसलाई उत्तीर्ण गर्ने र कसलाई अनुत्तीर्ण गर्ने भन्ने कुराको अपारदर्शी ढङ्गले निर्णय गर्थे । पदोन्नति योग्यताका बलमा होइन, चाकडी र भनसुनका आधारमा हुन्थ्यो र यो दुवै कुरामा म थिएँ मठ्ठु’ (पृ. ११२) ।

त्यसबेला पनि प्रशासनमा कतिको बेथिति र भ्रष्ट आचरण भएका कर्मचारी हुँदा रहेछन् भन्ने कुरा लेखकले अति सरल उदाहरण दिएका छन् । उनी लेख्छन्, ‘यस्तो किन भयो भन्ने बुझेको त उनी प्रत्येक कर्मचारीको तलबबाट दुई रुपैयाँका दरले बक्सिस काट्दा रहेछन्’ (पृ. ४१) । अहिलेको समयमा कार्यालय प्रमुखको प्रवृत्ति कर्मचारीको तलबबाट बक्सिस काट्नेतिर छैन, बरु अन्तैतिर छ कमाउ धन्दा ।

पञ्चायत कालको प्रारम्भमा प्रशासनमा सुशासन बेथिति थियो भन्ने उदाहरण पुस्तकमा लेखकले यसरी उल्लेख गरेका छन्, ‘मैले तलब हातमा लिएपछि ‘अञ्चलाधीश कार्यालय जान्छु र उजुर गर्छु’ भनेँ (पृ. ४१) । त्यसबेला त कमसेकम उजुरी गर्ने ठाउँ अञ्चलाधीश कार्यालय रहेछ, सुनुवाइ पनि हुन्थ्यो होला । अहिले त उजुरी गर्ने ठाउँ पनि छैन, सुनुवाइ पनि हुँदैन, हाकाहाकी नै छ भन्छन् जनसाधारणहरू ।

लेखकले वि.सं. २०२१ सालमा माल अड्डामा जागिर खाँदाको प्रसङ्ग उल्लेख गर्दै ‘बाहिरी आम्दानी’का सम्बन्धमा बयानब्बे वर्ष उमेर पुगेकी हजुरआमाको दिनु भएको अभिव्यक्तिले तत्कालीन समयमा पनि कर्मचारीले तलबबाहेक ‘बाहिरी आम्दानी’ लिने रहेछन् भन्ने कुरा उल्लेख गरेका छन् । ‘मैले जागिर खाएको पहिलो कमाइले किनेर ल्याएको भनेपछि वहाँ असाध्यै खुसी हुनु भो र सोध्नु भो– ‘तेरो तलब कति हुन्छ नि ?’ मेरो जवाफ सुनेपछि ‘बाहिरी आम्दानी कत्तिको हुन्छ नि ?’ उहाँको प्रतिप्रश्न थियो ।

‘के हो र बाहिरी आम्दानी भनेको ? त्यस्तो पनि हुन्छ र ?’ मैले सोधेपछि उहाँको जवाफ थियो–‘तलब मात्र आउने जागिर के जागिर? बाहिरी आम्दानी हुने जागिर पो खानुपर्छ त लाटा ।’ कति चोटिलो र वास्तविक तत्कालीन यथार्थता !

लामो समय प्राध्यापन गरेका लेखक लोक सेवा आयोगको सदस्य भई निजामती सेवाका कर्मचारी छनोटमा पनि संलग्न भए । वि.सं. २०२१ सालमा बयानब्बे वर्षकी हजुरआमाको अभिव्यक्तिलाई २०८१ को सन्दर्भमा हेर्र्दा लेखकले निजामती प्रशासनमा व्यापक बेथितिलाई नियालेका छन् ।

अझ भन्नुपर्दा जनप्रशासन क्याम्पम पढाएका र कर्मचारी प्रशासनसम्बन्धी पुस्तक लेखेका पोखरेललाई कति चिमोट्दो होला हजुरआमाको अभिव्यक्ति सम्झदा र वर्तमान कर्मचारीको व्यवहार देख्दा । लेखकले नेपाली निजामती सेवाको विकृतिको निचोड यसरी निकालेका छन्, ‘यतिबेला पछाडि फर्केर हेर्दा मेरो यो जागिरप्रतिको उहाँको टिप्पणीमै आजपर्यन्त नेपालको निजामती प्रशासन गोलचक्कर खाइरहेका देख्छु’ (पृ. ४१) ।

महेन्द्र मोरङ क्याम्पसको परीक्षा व्यवस्थापनमा भएको भद्रगोललाई लेखकले एक जना कार्यालय सहयोगीको स्थानीय अखबारमा प्रकाशित अन्तर्वार्तालाई दृष्टान्तका रूपमा पनि उनले उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘उसले खुलमखुला के भन्यो भने यस्तै परीक्षा हुने हो भने म पनि एमए पास भएका प्राध्यापक हुन सक्छु । त्यति मात्र होइन, उसले यस्तो बेइज्यतको प्राध्यापक हुनुभन्दा मलाई इज्यतको यही कार्यालय सहयोगी नै ठीक छ सम्म पनि भन्न भ्यायो (पृ..१०९) ।’

परीक्षा उत्तीर्ण गर्ने मुख्य सूत्र पुस्तकमा पढ्न पाइन्छ । उनका अनुसार म्याट्रिक पास गर्ने तीनवटा सूत्र छन्, ती हुन्– पढ्ने, पढ्ने र फेरि पनि पढ्ने (पृ.२५) । शिक्षक गजेन्द्र माड्साबले प्रश्न नबुझेर सोध्नेलाई उत्तर पनि सिकाइदिने प्रसङ्ग पुस्तकमा पढ्न पाइन्छ । शिक्षकले नै परीक्षामा उत्तर सिकाइदिने ? उनले परीक्षा उत्तीर्ण गर्ने अन्य सूत्र पनि भन्ने गरेको प्रसङ्ग पुस्तकमा पढ्न पाइन्छ । त्यसबाहेक पनि उनीसँग ‘चार च’ को फर्मुला– चोरी, चलाखी, चान्स, चर्पी (पृ.२५) भएको उल्लेख छ । उनले उल्लेख गरेको बढो घतलाग्दो तरिका छ म्याट्रिक पास गर्ने । परीक्षा उत्तीर्ण गर्ने कहीँ सूत्र छ, कहीँ फर्मुला ।

उमेरले पचहत्तर वर्ष काटिसकेका लेखकले आफ्नो बाल्यावस्थादेखि जीवनका अनेकौ घुम्तीमा भेट भएका व्यक्तिहरू, साना साना घटनाहरू समेतका सम्बन्धमा यति मसिनो किसिमले तत्कालीन अवस्थाका वर्णन गरेका छन् कि लेखकका जीवनका कुनै घटना र सम्बन्धित व्यक्तिको नामै किटेर लेखेका छन् ।

‘केही वर्षअघि दिदीको निधन भयो’ (पृ. २१) । यस वाक्यमा पाठकले कहिले भनेर बुझ्ने ? यसमा पाठकले ‘केही वर्षअघि’ भनेर कतिलाई बुझ्नुपर्ने ? केही वर्षअघि भनेको कहिले हो ? बरु ‘वि.सं. यति सालमा दिदीको निधन भयो’ भनिदिएको भए पाठकलाई बुझ्न सजिलो हुने थियो वा ‘दिदीको निधन हुँदा म यति वर्षको थिएँ’ लेख्न सकिन्थ्यो ।

पुस्तकको भाषा सम्पादनमा ध्यान दिएको जस्तो देखिँदैन । एउटै शब्दलाई फरकफरक किसिमले लेखिएको छ । जस्तै– एसएलसी, एस.एल.सी., एमए, एम. ए. (पृ.१२) । कहीँ बीकम कहीँ बिकम लेखिएको छ । कुनै ठाउँ ‘उहाँ’ लेखिएको छ, कुनै ठाउँमा ‘वहाँ’ लेखिएको छ । लेखाइमा एकरूपता छैन ।

आमाबाप्रति उच्च आदरार्थी शब्द प्रयोग गरिएको छ । जस्तै ‘आमा भन्नुहुन्थ्यो, “उहाँकी हजुरआमा काशीवास गर्नुहुन्थ्यो (पृ१९) ।” तर, शिक्षकप्रति सामान्य आदरार्थी शब्द प्रयोग गरेका छन् लेखकले । जस्तै– ‘मास्टरहरू पनि यस्ता थिए कि आफ्ना चटियालाई छडीले नसोठ्याइ र कनमचरी नगरी विद्यादान हुनै सक्दैन भन्ने ठान्थे’ (पृ. २२) ।

शिक्षकलाई पनि आदरार्थी शब्द प्रयोग गर्दा के नै बिग्रन्थ्यो र ! शिक्षकलाई गुरु भन्ने पनि चलन छ, गुरु पनि पञ्चपिताअन्तर्गतका एक पिता हुनुहुन्छ । यसतर्फ लेखकले ध्यान नपुर्‍याएको देखियो ।

पुस्तकमा केही सङ्क्षित रूप प्रयोग गरिएका छन् । जस्तै– गैसस, एसएलसी, बीए, बीकम, बीएल, एमए आदि । ‘यतिबेला गृहनगर विराटनगरमै गैसस चलाएर बसेका छन्’ (पृ.२७) । यसरी सङ्क्षित रूप प्रयोग गरी लेख्दा अभ्यस्त पाठकका लागि त कुनै नौलो लाग्दैन, नयाँ पाठक भने पक्कै अलमलिन्छन् ।

“स टु पास गरेपछि ऊ के पढ्ने भन्नेमा अलमलिई (पृ. १७३) ।” यहाँ ‘प्लस टु’ भनेको ‘टेन प्लस टु’ हो कि, ‘नाइन प्लस टु’ हो कि, ‘टुबेल प्लस टु’ हो ? अलमल पर्छ । यहाँ पाठकले ‘प्लस टु’ लाई ‘टेन प्लस ट’ु हो भनेर बुझिदिनुपर्ने हुन्छ । खासमा ‘कक्षा १२ उत्तीर्ण’ गरेपछि भन्नुपथ्र्यो । तत्कालीन अवस्थामा नेपालको विद्यालय शिक्षा दश जोड दुई अर्थात् ‘टेन प्लस टु’ थियो, अहिले छैन । अहिले त कक्षा ११ र १२ छ ।

पुस्तकमा प्रशस्तै झर्रा शब्दहरू भेटिन्छन् । यस्ता शब्दरू हुन्– तकरार, मुखर, पिछलगू, टेकोपुँडो, लोरी, टन्टो, इन्तजाम, नौला शब्दः खडस, थेत्थर, भस्कौल, कनमचरी, मोगली, मुर्गा, बख्खो, जोईपोइ, कन्ढा, तिमेर्ले, उन्का, भुखुण्ड, गुल्जार, किनुवा, वाचाल, टेक, ताहरमाहुर, मठ्ठु, खाँच्चैसिती, खास्साको, मोही, हली, कामत, परहेज, पिडुँला, पैरो, डुकुलन्ठक, छेक । यस्ता केही शब्दको अर्थ खोज्न शब्दकोशको सहायता पनि लिनुपर्ने हुनसक्छ ।

पुस्तकमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बग्रेल्ती छन् । पुस्तकमा देवनागरी लिपिमा लेखिएका अनगिन्ती अङ्गेजी शब्दको प्रयोग भएको छ । यस्ता कतिपय शब्दहरूको प्रयोग भने स्वाभाविक देखिन्छन्, बुझ्नका लागि शब्दकोश नै पल्टाउनुपर्ने अवस्था भने छैन । कतिपय शब्दहरूका लागि कोशीय प्रयोग पनि आवश्यक पर्न सक्छ पाठकका लागि ।

व्यक्तिगत कुरालाई छोडिदिने हो भने यस पुस्तकले नेपालको शिक्षाको इतिहास बोल्छ, अर्थ व्यवस्था बोल्छ, राजनीतिक अवस्था बोल्छ, नेता र कार्यकर्ताको प्रवृत्ति बोल्छ । यस पुस्तकले नेपालको समाजशास्त्र बोल्छ, संस्कृति बोल्छ, संस्कार बोल्छ । नेपालको कर्मचारी प्रशासनको विकृति बोल्छ । विश्वविद्यालयको लथालिङ अवस्था बोल्छ ।

लेखकले भोगेको समयमा ग्रामीण तथा पहाडी भेगका निम्नमध्यम वर्गीय मानिसको अवस्था प्राय सबैको मिल्छ । पहाडबाट मधेश बसाइँसराइ, मधेशबाट सहर, सहरपछि काठमाडौं, काठमाडौंपछि विदेश । लेखकको पनि त्यही नै छ । आत्मकथामा बढी आफ्नै कुरा हुन्छन् नै । कतिपय व्यक्तिगत कुरा नखोलिदिए पनि हुने लाग्छ । तर, आत्मकथा भएकाले लेखकले स्वाभाविक किसिमले सप्रेषण गरेका छन् । यसलाई अन्यथा मान्न मिल्दैन ।

पुस्तकमा सन्दर्भमा उल्लेख गर्नैपर्ने कुरा भनेको लेखकको स्मरण शक्ति हो । उमेरले पचहत्तर वर्ष काटिसकेका लेखकले आफ्नो बाल्यावस्थादेखि जीवनका अनेकौ घुम्तीमा भेट भएका व्यक्तिहरू, साना साना घटनाहरू समेतका सम्बन्धमा यति मसिनो किसिमले तत्कालीन अवस्थाका वर्णन गरेका छन् कि लेखकका जीवनका कुनै घटना र सम्बन्धित व्यक्तिको नामै किटेर लेखेका छन् ।

यो उमेरमा पनि तत्कालीन समय र घटनामा व्यक्ति नै कटिेर भन्न र सम्झाउन सक्नु लेखकको स्मरण शक्तिको कमाल हो । पचहत्तर वर्ष कटेपछि आत्मकथा लेख्छु भनेर लेखकले बाल्यकालदेखिका घटना डायरीमा लेखेर राखेका भने पक्कै होइनन् ।

शिखा बुक्सद्वारा प्रकाशित कृष्ण पोखरेलको पुस्तक ‘फर्केर हेर्दा’ ३०६ पृष्ठभित्र विषयवस्तु समेटिएको छ भने तस्बिरहरूले २६ पृष्ठ ओगटेका छन् । पुस्तकको मूल्य ६७५ रुपैयाँ तोकिएको छ ।

पुराना पुस्तालाई पुस्तकले उहाँहरूको विगतलाई सम्झाउँछ, मध्यम पुस्तालाई विगतको ज्ञान गराउँछ र नयाँ पुस्तालाई अग्रजको कथा सुनाउँछ । नयाँ पुस्ताका लागि लेखकले उल्लेख गरेका विषय लोक कथा जस्ता लाग्न सक्छन् । तर, ती वास्तविक कथा हुन् । पुस्तक पठनीय छ, सङ्ग्रहणीय छ । पुस्तक पढेपछि यसका विषयवस्तु अरूलाई सुनाऔँ सुनाऔँ जस्तो लाग्छ । रुचिपूर्ण पुस्तक लेखनका लागि लेखक कृष्ण पोखरेललाई हार्दिक बधाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?