२७ असार, काठमाडौं । क्रिकेटमा तीब्र गतिका बलरको करिअर अन्य खेलाडीको तुलनामा छोटो हुन्छ । किनभने चोटले बढी सताउँछ । तर इंग्ल्यान्डका बलर जेम्स एन्डरसनले दुई दशक निरन्तर अन्तर्राष्ट्रिय क्रिकेट खेले ।
तीब्र गतिका बलरले दुई दशक खेल्नु आफैंमा ठूलो उपलब्धी हो । किनभने दुई दशक निरन्तर अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने उनी पहिलो तीब्र गतिका बलर हुन् ।
२१ वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा बिताएका एन्डरसनले १८८ टेस्ट खेले । भारतका पूर्वब्याटर सचिन तेन्दुलकरले २४ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा २०० टेस्ट खेलेका थिए । एन्डरसन सचिनपछि सर्वाधिक धेरै टेस्ट खेल्ने खेलाडी हुन् ।
एन्डरसनलाई किङ अफ स्वीङ उपनामले पनि चिनिन्छ र भाग्यमानी बलर पनि । किनभने उनले ब्रायन लारा, सचिन, एलिस्टर कुक, रिकी पोन्टिङ, विराट कोहली, स्टिभ स्मिथदेखि विश्वका धेरै सफल ब्याटरसँग खेल्ने मौका पाए ।
टेस्टमा सर्वाधिक बढी विकेट लिने तीव्र गतिका बलरको कीर्तिमान बनाएका एन्डरसन बुधबार लर्ड्समा वेष्टइण्डिजविरुद्ध अन्य दिनभन्दा भावुक रुपमा मैदान उत्रे । किनभने उनी करिअरको अन्तिम खेल खेलिरहेका छन् ।
उनको सन्न्यासलाई थप स्मरणीय बनाउन इंग्ल्यान्ड क्रिकेट बोर्डले परिवारका सदस्यलाई घण्टी बजाउन दिदै खेलको सुरुवात गरेको थियो । विश्व क्रिकेटको एक प्रसिद्ध मैदान लर्ड्समा खेल सुरु हुनुअघि उक्त घण्टी बजाउँदै सुरुवात गर्ने परम्परा छ ।

उनले सन् २००२ डिसेम्बर १५ मा अष्ट्रेलियाविरुद्ध ओडीआई र २००३ मे मा जिम्बाब्बेविरुद्ध टेस्टमा डेब्यू गरेका थिए । टी–२० आई उनले २००७ देखि २००९ सम्मको अवधिमा जम्मा १९ खेल खेलेका थिए । इंग्ल्यान्डले २०१० को टी–२० विश्वकप जित्दा टोलीमा रहेपनि उनले खेल्ने मौका पाएनन् । २०१५ को विश्वकपपछि एन्डरसनले ओडीआई खेल्न छाडेका थिए ।
४२ वर्षको उमेरमा पनि टेस्ट खेल्नु साँच्चिकै अद्भूत हो । टेस्ट अन्य जस्तो खेल होइन । नत्र श्रीलंकाका २६ वर्षीय स्पिनर वानिन्दु हसरंगाले सन्न्यास घोषणा गर्दैन थिए । अनि वेष्टइण्डिजका आन्द्रे रसेलले एक मात्रै टेस्टमा सीमित हुनुपर्दैन थियो ।
एउटा बलरले टी–२० मा ४ ओभर र ओडीआईमा १० ओभर बलिङ गरे पुग्छ । तर टेस्टको एकै सेसनमा ओडीआईमा भन्दा बढी बलिङ गर्नुपर्छ । टेस्ट पाँच दिनसम्म चल्छ । एक दिनमा तीन सेसेन हुन्छ । टेस्ट खेल्न धैर्यता र फिटनेस अनिवार्य छ ।
खेलाडीको असली क्षमता पनि टेस्टबाट नै हुन्छ । टेस्टमा विकेट लिन साँच्चिकै उत्कृष्ट बलिङ गर्नुपर्छ । ब्याटरको गल्तीमा विकेट आउने सम्भावना कम हुन्छ । किनभने टेस्टमा जति बल खेल्दा पनि हुन्छ । ब्याटरलाई कुनै दबाब हुँदैन ।
श्रीलंकाका स्पिनर मुथैया मुरलीधरन टेस्टमा सर्वाधिक ८०० विकेट लिने बलर हुन् । उनीपछि अष्ट्रेलियाका लेग स्पिनर सेन वार्नले ७०८ विकेट लिएका छन् । एन्डरसन ७०१ विकेटका साथ तेस्रो स्थानमा छन् ।
टेस्टमा उनीपछि तीव्र गतिका बलरको रुपमा इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले ६०४, अष्ट्रेलियाका ग्लेन म्याकग्राथले ५६३ र वेष्टइण्डिजका कोर्टनी वाल्सले ५१९ विकेट लिएका छन् ।
उनले डेब्यू गर्नभन्दा पछि जन्मेका थुप्रै क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिचान बनाइसकेका छन् । उनीसँगै खेलेका सबै खेलाडीले सन्न्यास लिइसकेका छन् ।

इंग्ल्याण्डका १०९ खेलाडीसँग उनले अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । गतवर्ष टेस्टमा डेब्यू गरेका इंग्ल्यान्डका १९ वर्षीय स्पिन अलराउण्डर रेहान अहमद एन्डरसनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दा जन्मिएका समेत थिएनन् ।
स्टुअर्ट ब्रोड र एन्डरसन टेस्टमा सँगै खेल्दै सर्वाधिक १०३९ विकेट लिने जोडी हुन् । यी दुईपछि अष्टेलियाका सेन वार्न र ग्लेन म्याकग्राथले कुल १००१ विकेट लिएका थिए ।
लर्डसमा वेष्टइण्डिज विरुद्धको खेलअघि एन्डरसनले युवा खेलाडीलाई आफूले जस्तै पाएको अवसर दिन अहिले नै क्रिकेट छाड्ने सही समय भएको बताए ।
‘मेरो देशको लागि २० वर्ष प्रतिनिधित्व गर्नु अविश्वसनीय हो । मैले सानैदेखि मन पर्ने खेल खेलेँ । इंग्ल्यान्डबाट बाहिर भएपछि मैले धेरै कुरा मिस गर्नेछु । तर मलाई थाहा छ मैले छाड्न यो सही समय हो’, एन्डरसनले भने ।
तीव्र गतिका बलर म्याथ्यु पट्स, गस एटकिन्सन, जोश टङ लगायत थुप्रै युवा बलर अवसरको प्रतीक्षामा छन् । डेब्यू खेलमै वेष्टइण्डिजविरुद्ध ७ विकेट लिदै गस एटकिन्सनले एन्डरसनको निर्णय सही प्रमाणित गरिसकेका छन् ।
इंग्ल्यान्डका पूर्वकप्तान नासिर हुसेन एन्डरसनलाई सबैभन्दा उच्च स्थानमा रहेको क्रिकेटर भनेका छन् । ‘तपाईं हामीहरुमध्ये सबैभन्दा उत्कृष्ट हुनुहुन्छ त्यसैले यो तपाईंलाई धन्यवाद दिने समय हो’, हुसेनले भने ।
‘मलाई लाग्छ तीव्र गतिका बलरले १८८ टेस्ट खेल खेल्नु नाइटहुड प्राप्त गर्न योग्य हुनु हो’, इंग्ल्यान्डका पूर्व ब्याटर एन्ड्रयू स्ट्रास भन्छन् ।नाइटहुड इंग्ल्यान्डमा राजा वा रानीले देशलाई सेवा गरेवापत दिने ठूलो सम्मान हो ।
सीमित ओभरको क्रिकेट नखेल्नु, टेस्टलाई मात्रै प्राथमिकता राख्नु, फिटनेस र खानपिन उनी लामो समयसम्म खेल्नुको मुख्य कारण हो ।
‘म कुनै गुनासो गर्दिन । पछुतो पनि छैन । मैले इंग्ल्यान्डको लागि सयौं खेल खेलेको छु । मैले म भन्दा धेरै प्रतिभावान् खेलाडीसँग खेलेको छु । तर चोटका कारण उनीहरुले मौका पाएनन्’, एन्डरसनले खेलअघि भने ।
त्यसैमा थपे, ‘मैले अहिले पनि राम्रो बलिङ गरेको अनुभव हुन्छ । तर मलाई थाहा छ यो कुनै बिन्दुमा समाप्त हुन्छ । चाहे त्यो अहिले होस् वा एक दुई वर्षमा ।’
सन्न्यासको निर्णय लिन कुनैपनि खेलाडीलाई सहज हुँदैन । नरुन प्रयास गर्ने बताएपनि पहिलो दिन नै उनी भावुक बनेका थिए । अन्तिम बल र क्षणमा उनलाई सम्हाल्न गाह्रो हुने पक्का छ ।
विश्व क्रिकेटमा स्वीङ बलरको नाम लिँदा वासिम अक्रम, डेल स्टेन, वाकर युनिस, ग्लेन म्याकग्राथ, शेन बोन्ड, डेल स्टेन, चामिन्दा भास, जाहिर खान, इमरान खान, ट्रेन्ट बोल्ट र भुवनेश्वर कुमार लगायत थुप्रैको नाम आउछ । पाकिस्तानी वासिम अक्रमलाई स्वीङको उत्कृष्ट बलर धेरै भन्छन् । त्यसै उत्कृष्ट मध्यका एक एन्डरसन पनि हुन् ।
अब उनी फेरि त्यो रातो बल र सेतो जर्सीमा मैदानमा देखिने छैनन् । एन्डरसनको अद्भूत स्वीङहरु लाइभ हेर्न पाइने छैन । उनी आफ्नो क्रिकेट करिअरबाट टाढा भए पनि क्रिकेटले उनलाई सधैं सम्झिराख्नेछ । उनले टेस्ट क्रिकेटमा यस्तो सफलता र छाप छाडेका छन् त्यसले उनलाई नसम्झी सुख नै छैन ।
 
                    










 २०८१ असार  २७ गते १९:०९
                        २०८१ असार  २७ गते १९:०९                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4