+
+

शंकर पोखरेलको पक्षमा उभिंदा आचार्यलाई मुख्यमन्त्री पुरस्कार

टोपराज शर्मा टोपराज शर्मा
२०८१ साउन ७ गते २०:०९

७ साउन, बुटवल । पार्टी पंक्तिलाई चक्मा दिंदै अर्घाखाँचीका चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । अर्घाखाँची–१ (क) बाट प्रदेशसभा सांसद जितेका आचार्य प्रदेश संसदीय दलको उपनेता मात्र रहेकाले उनको नियुक्ति आश्चार्यको विषय बनेको हो ।

सोमबार बिहानसम्म मुख्यमन्त्रीमा संसदीय दलको नेता लिला गिरीको दाबी पेश गर्ने तयारी भइरहेको थियो । नेपाली कांग्रेससँग प्रदेशहरुको भागबन्डा गर्दा लुम्बिनी एमालेले पाएकाले गिरी मुख्यमन्त्रीको स्वाभाविक दाबेदार थिए ।

तर दाबी पेश गर्न दिइएको समय सीमा घर्किन केही घण्टा बाँकी रहँदा गिरीलाई पार्टी नेतृत्वकै फोन आयो । पार्टी केन्द्रले उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि गिरीको नाम हटाएर दाबी पेश गरियो ।

यसरी संसदीय दलको उपनेतालाई मुख्यमन्त्री बनाउने निर्णय हुनुमा आचार्यसँग पार्टी महासचिव शंकर पोखरेलको सम्बन्ध जोडेर हेरिएको छ । लुम्बिनीको एमाले राजनीतिमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव पोखरेलबीच चर्को अन्तरसंघर्ष चल्दै आएको छ । र दलको नेता भएर पनि मुख्यमन्त्री बन्न नपाउने गिरी पौडेल निकट नेता हुन् ।

प्रदेश संसदीय दलको नेता गिरी र उपनेता आचार्य हुनुमा पनि आन्तरिक शक्ति संघर्षको सन्तुलन पनि थियो । गिरी यसअघि छोटो समय मुख्यमन्त्री हुन पाउँदा आचार्य तीन पटक मन्त्री बनिसकेका थिए ।

अर्थात अवसरका हिसाबले उपनेता आचार्य धेरै पछि थिएनन् । तर महासचिव पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनाउन सक्दा आचार्यले मुख्यमन्त्रीमै बाजी मार्न सफल भए ।

उनी निकट नेताहरूका अनुसार, गिरीसँग यसअघि नै मुख्यमन्त्री आलोपालो बन्ने सहमति भइसकेको थियो । गत वर्ष गिरी मुख्यमन्त्री हुँदा अर्कोपटक आचार्यलाई छोड्ने सहमति गरेको उनीहरूको दाबी छ । जसअनुसार एमालेका २९ र कांग्रेसका २७ सांसदको समर्थनमा आचार्य मुख्यमन्त्री बनेका छन् ।

क्यान्सर र मिर्गौला रोग जितेका आचार्यको पार्टी जिम्मेवारी भने अहिले महासचिव पोखरेलकै जिल्ला दाङ हो । उनलाई विश्वास गरेरै महासचिव पोखरेलले दाङको इन्चार्ज बनाएका थिए ।

५६ वर्षीय आचार्यको राजनीतिक सक्रियता भने २०३५ सालबाटै सुरु भएको थियो । विद्यार्थी जीवनबाट राजनीति थालेका उनी अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला सदस्य हुँदै पार्टी राजनीतिमा आएका थिए ।

२०४६ सालमा पार्टी इलाका कमिटी सदस्य, अर्को वर्ष जिल्ला सदस्य हुँदै २०५४ सालमा पार्टी जिल्ला सचिव बनेका थिए । जिल्ला सचिव सचिवको भूमिकामा उनी ११ वर्ष रहे ।

२०६५ सालदेखि चार वर्ष लुम्बिनी अञ्चल कमिटीको सदस्य बनेका उनी २०६९ मा अर्घाखाँचीको अध्यक्ष भए । आचार्य १० वर्ष अध्यक्ष भएरै काम गरे । २०७८ मा जिल्ला अध्यक्ष छोडेका आचार्य केन्द्रीय सदस्य छन् ।

संसदीय राजनीतिमा २०७४ र २०७९ साल दुबै निर्वाचनमा अर्घाखाँचीबाट प्रदेश सभा सदस्य निर्वाचित भए । पहिलोपटक शंकर पोखरेल मुख्यमन्त्री हुँदा करिब ३ महिना आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका आचार्य २०७९ मा लिला गिरी मुख्यमन्त्री हुँदा शहरी विकास खानेपानी तथा ग्रामीण विकास मन्त्री थिए ।

त्यसअघि गत २१ फागुनमा सत्ता समीकरण फेरिएर माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री हुँदा आचार्य आर्थिक मामिला तथा योजना मन्त्री भए । जोखबहादुरले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार बनाउँदा उनी मुख्यमन्त्री नै बने ।

मुख्यमन्त्री नियुक्त आचार्यले पार्टीभित्र गुटबन्दी नरहने दाबी गर्छन् । सन्तुलन मिलाएरै १२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने उनको तयारी छ । ‘सबै मन्त्रीले एकैपटक शपथ लिनेगरी मन्त्री बनाउँछौं’, मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेशप्रति केही भ्रम र असन्तुष्टि पनि छन् । प्रदेश सरकारप्रति आशा जगाउने गरी काम गर्छौं ।’

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?