९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानमाथि आएको उजुरी गम्भीर र जटिल रहेको बताएका छन् ।
बुधबार संसदीय सुनुवाइ समितिमा जारी सुनुवाइका क्रममा उनले प्रधानलाई आफूमाथि उजुरी पर्दा कस्तो आभास भएको छ भनेर सोधे । ‘तपाईंको योग्यता र अनुभवमा प्रश्न छैन । तर, तपाईंविरुद्धको उजुरी जटिल र गम्भीर छ । तपाईंमाथिको आरोप हेर्दा तपाईंलाई कस्तो आभास होला ?’, सांसद कार्कीले सोधे ।
प्रधानको कार्यायोजना सुनेर सांसदहरुले प्रश्नोत्तर सुरु गरेका हुन् ।
एमालेकी सांसद ईश्वरी घर्तीले पनि प्रस्तावित आयुक्त प्रधानको नैतिक चरित्रमा प्रश्न उठेको बताइन् । प्रधानविरुद्ध एक महिलाले आफूलाई यौन शोषणको आरोपमा उजुरी दिएकी छन् । सोही आरोपमा थप तीन वटा उजुरी परेका थिए ।
सांसद घर्तीले ‘सन् २०१७ देखि २०२३ सम्म एकजना महिलासँग सम्बन्ध भएको, त्यो सम्बन्ध राम्रोबाट सुरु भएर लेनदेनमा पुगेर टुंगिएको देखिएको’ उल्लेख गर्दै यसको वास्तविकता बताउन प्रधानलाई आग्रह गरेकी छन् ।
संविधानको धारा २४५ को ६ को घ मा संवैधानिक निकायमा नियुक्त व्यक्ति उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले लागेको आरोपलाई आधार मान्दा प्रस्तावित पदका लागि अयोग्य हुने बताइन् ।
प्रधानको सुनुवाइ जारी छ ।
प्रतिक्रिया 4