 
																			नेपालमा वर्षेनि सक्रिय हुने मनसुनले बाढी पहिरो निम्त्याउँछ र सयौं जनाको ज्यान लिन्छ। बस्तीहरू डुबानमा पार्छ, सडकहरू अवरुद्ध र अर्बौंको भौतिक नोक्सानी हुन्छ।
यसै सिलसिलामा राजधानी काठमाडौं पनि अछुतो रहन सक्दैन। मनसुन सिजनमा बागमती, मनोहरा, धोबीखोला, विष्णुमती लगायत नदीका तटीय बस्ती डुबानमा पर्छन्। यी नदीमा खस्ने ढलको मुख बाढीले अवरुद्ध हुँदा तटीय क्षेत्रभन्दा अलिपरका सडक तथा घरहरू पनि प्रभावित बन्छन्।
फलस्वरूप तटीय क्षेत्रमा बस्ने सर्वसाधारणको जनजीवन कष्टपूर्ण बन्न जान्छ। दिनभर यातायातका साधन सञ्चालनमा आउन सक्दैनन्। कर्मचारी काममा जान बाधा पैदा हुन्छ। विद्यार्थी स्कुल जान पाउँदैनन्। व्यापार ठप्प हुन्छ।
काठमाडौंका नदीका स्रोत हिमाल होइनन्, वरिपरिका पहाड र यसका जलाधार क्षेत्र हुन्। त्यसर्थ यहाँका नदीहरू सानादेखि मझौला स्तरका छन्। बागमतीलाई मझौला नदी र यसका सहायक नदीहरूलाई साना नदीमा वर्गीकरण गर्न सकिन्छ। यस्ता स–साना नदीमा बाढी आएर वरिपरिका बस्ती डुबानमा पर्दा सर्वसाधारणलाई अस्वाभाविक लाग्न सक्छ।
आजकल यी नदीहरूमा ‘आकस्मिक बाढी’ (फ्ल्यास फ्लड) देखिन थालेको छ। विशेषतः पछिल्लो दशकयता जल प्रणालीमा गरिएको व्यापक परिवर्तनले बाढीलाई झन्-झन् भीषण बनाइरहेको छ र चुनौती पनि क्रमश: थपिंदा छन् ।
साधारणतया बाढी पहिरो आउनुको प्रमुख कारण अतिवृष्टिलाई मानिन्छ। जलवायु परिवर्तनको प्रभावले गर्दा अतिवृष्टि हुन्छ भनेर त वैज्ञानिकहरू भनिरहेका छन्। यद्यपि काठमाडौंमा अतिवृष्टि नभएर मध्यमस्तरको वृष्टि हुँदा पनि नदीहरूमा बाढी आउँछ र शहर बजार डुबानमा पर्न थालेको छ ।
काठमाडौंमा आउने बाढीको प्रमुख कारण वर्षापात नै भए पनि त्यसका अन्य कारण पनि छन्। ती अतिरिक्त कारणमाथि सामान्य चर्चा गरिनु यस लेखको मुख्य आशय हो ।
काठमाडौंमा आउने यस्ता बाढीहरू मानव सिर्जित छन्। अव्यवस्थित विकास–निर्माण, अव्यवस्थित शहर विस्तार एवं जल विज्ञानको गम्भीरताप्रति बेवास्ताका कारण काठमाडौं वर्षेनि डुब्दै र उत्रँदै आएको देखिन्छ।
काठमाडौं वरिपरि पहाडका भिरालो जग्गामा प्लटिङ गरिएका छन्। ती प्लटिङ नाङ्गै राखिएका छन्। डाँडाकाँडामा डोजरले खनेर सडक निर्माणका परियोजना पनि चलाइराखिएका छन्। ट्रयाक्टरले खनेर खेतीपाती गर्ने बानीको विकास तीव्र रूपमा भएको देखिन्छ ।
साथै, भवन निर्माण कार्य पनि युद्धस्तरमै चलेका छन्। यस्ता गतिविधिमा गिट्टी, माटो, बालुवा उत्खनन् गरिने, उदाङ्गै पारिने, थुपारिने र प्रयोग गर्ने गरिन्छ ।
काठमाडौं आज पनि नवनिर्माण एवं पुनर्निर्माणकै चरणमा छ। भुइँचालोपश्चात् पुनर्निर्माण तीव्र गतिमा भएका छन्, नदी करिडोरलाई हरियो बनाउने नाममा कंक्रिटका पार्कहरूको निर्माण पनि जोडतोडले बढेको छ। यी र यस्ता संरचना निर्माण गर्दा उत्पन्न हुने इँटा, कङ्क्रिट, माटो, ढुङ्गा जस्ता फोहोर पनि सीधै नदीमा या नदी किनारमा लगेर थुपारिएको पाइन्छ। यस्ता वस्तुबाट सिर्जित लेदो वर्षायाममा पानीले बगाएर नदीमा थुपारेको छ। जसको कारणले नदी गेग्र्यानीकरण (सिल्टेसन) भएको छ। नदीको आयतन खुम्चिनुमा गेग्र्यानीकरणको मुख्य भूमिका हुन्छ।
अर्कोतर्फ, तटीय क्षेत्र अतिक्रमण गरेर भवन निर्माण गरिनाले पनि नदीको आयतन दिनानुदिन साँघुरिंदै गएको छ। प्राय: काठमाडौंका सबै नदीमा तटबन्धन गरिएको छ र कतिमा गरिंदैछ। बाढी न्यूनीकरणका यस्ता इन्जिनियरिङ कार्य जलवायु परिवर्तनको जोखिम मूल्याङ्कन नगरिकन सम्पन्न गरिएको जस्तो देखिन्छ। जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने मापदण्ड पूरा गरेर निर्माण गरिएको भए नदीका दुई किनारमा यति साँघुरा पर्खाल उठाइने थिएनन् होला ।
काठमाडौंको ढल सीधै नदीमा मिसाउनाले पनि नदीको आयतन घट्नमा यसले भूमिका खेलेको छ। अप्रशोधित ढलमा तरलको साथै ठोस पदार्थ पनि अत्यधिक मात्रामा हुन्छ। यस्तो ढल नदीमा विसर्जन गरिंदा ठोस मात्राको एकत्रीकरणले नदी विस्तारै पुरिंदै गएको छ।
यसको साथै नदीमा प्लास्टिक तथा सिमेन्टका ब्याग, पुराना कपडा, गुट्का, सुर्ती, चाउचाउ, चिप्सका खोल, पानीका बोतल जस्ता फोहोर पनि मिल्काइएको पाइन्छ। यो पङ्क्तिकारले काठमाडौं वरिपरिका डाँडाकाँडा र नदी किनार भएर केही पदयात्रा गरेको छ। सोही क्रममा सडकलाई कङ्क्रिटिङ गरेपछि सिमेन्टका खाली बोरा खोल्सातिर फालेको देखेको छ। यस्ता फोहोरमैलाले पनि नदीको पिंधलाई पुर्ने काम गरेको हुन्छ।
यसर्थ, जलवायु परिवर्तन मात्रै नभई स्थानीयस्तरमा माथि उल्लिखित मानव सिर्जित क्रियाकलापले पनि काठमाडौं डुबानमा पर्ने गरेको छ। यसको निवारणको लागि तत्काल उचित कदम चालिहाल्नुपर्ने देखिन्छ। अन्यथा, यस्तो प्रकोप काठमाडौंमा आउँदा वर्षहरूमा पटक–पटक दोहोरिन सक्दछ।
काठमाडौं, ललितपुर र भक्तपुरको मुख्य राजमार्ग एवम् सहायक राजमार्ग, गोरेटाहरू जलमग्न हुँदा घण्टौंसम्म सवारी आवागमन प्रभावित भइरहने घटनाहरूमा वृद्धि हुन् सक्दछ। नदी बग्ने जमीनमै भवन उभ्याइँदा थप समस्याहरू निम्तिन सक्ने सूचकहरू प्रष्टै देखिन थालेका छन्।
काठमाडौंमा बाढी र डुबानलाई न्यूनीकरण गर्न थुप्रै उपाय छन्। ढल प्रशोधन गरी त्यसमा भएको ठोस पदार्थलाई छानेर निकाल्ने र तरल पदार्थलाई मात्र नदीमा विसर्जन गर्नुपर्ने हुन्छ। गिट्टी, बालुवा, माटो जस्ता वस्तु नदीनालामा नपसून् भनेर यसको स्रोतमै रोकथामका योजना कार्यान्वयनमा ल्याइनुपर्छ।
निर्माणकार्यजन्य फोहोरमैला विसर्जनको लागि पनि छुट्टै ल्याण्डफिल साइटको व्यवस्था गरिनुपर्छ। नदीमा थुप्रिएको गेग्र्यानलाई बेलाबेलामा निकालेर फाल्ने (डी-सिल्टिङ) पनि गर्नुपर्छ। यसका साथै जलवायु परिवर्तन र यसबाट सिर्जित बाढीको जोखिम मूल्याङ्कन गरेर तटबन्ध निर्माण गरिनुपर्छ।
(लेखक इङ्ल्याण्डमा वातावरण व्यवस्थापन विभागमा कार्यरत छन्।)
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4