
News Summary
Generated by OK AI. Editorially reviewed.- युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानपछि अदालतले मुद्दा दर्ता गरेको थियो।
- अन्सारीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश न्यायाधीशले सुनाए।
- उनले धरौटी नबुझाएपछि केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ।
२३ असार, काठमाडौं । जिल्ला अदालत, काठमाडौंको फाँट नम्बर २३ बाहिर सोमबार दिउँसो युनुस अन्सारी प्रसन्न मुद्रामा थिए ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान सकेर शुक्रबार अदालतमा मुद्दा दर्ता भएको थियो । न्यायाधीश बलराम लम्सालको इजलासमा आइतबार बयान सकिइसकेको थियो ।
सोमबार थुनछेक बहसबाट धरौटीमा छुट्ने प्रबल सम्भावना थियो । उनलाई लिन केही परिवारका सदस्य समेत त्यहाँ पुगेका थिए । ६ वर्षको थुना र फेरि सम्पत्ति शुद्धीकरणमा पक्राउ परेर छुट्न लागेकाले हुनसक्छ, अन्सारी मुस्कुराइरहेका थिए ।
दिउँसो २ बजेतिरै बहस सकिएकाले अदालतको चौथो तलामा उनी चिया पिउँदै बसेका थिए । बेलाबेला आफन्त आएर कुराकानी गर्थे । अधिकांश समय चाहिं सुरक्षार्थ खटिएका प्रहरीसँगै गफिन्थे अन्सारी ।
कैद अवधि पूरा गरेर ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्ति समेत बुझाइसकेपछि अन्सारी १० जेठमा नख्खु कारागारबाट छुटेका थिए । तर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई लगत्तै पक्राउ गरेको थियो ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि भन्दै सीआईबीले पक्राउ गरेपछि उनले आफूलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । अदालतले उनले भने जस्तो आदेश त दिएन, तर चाँडै अनुसन्धान प्रतिवेदन पेश गर्न प्रहरीलाई निर्देश गर्यो ।
त्यसपछि शुक्रबार अन्सारीले ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी सहित अदालतमा मुद्दा दर्ता भएको थियो ।
सोमबार अदालतमा हाजिर गराउँदा उनी पक्राउ परेका बेला जस्ता हट्टाकट्टा भने देखिन्थेनन् । १० जेठ २०७६ मा ७ करोड रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ परेर सार्वजनिक हुँदा अग्ला कदका अन्सारी हृष्टपुष्ट देखिएका थिए।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले राखेको पत्रकार सम्मेलनमा उभिंदा उनमा कुनै ग्लानि भाव देखिन्थेन । अरु अभियुक्तले जस्तो मास्क लगाउन पनि मानेनन्, बरु मुस्कुराइरहेका थिए ।
सोमबार अदालतमा देखिंदा भने उनी मूर्झाए जस्तो देखिन्थे । यद्यपि, छुट्ने आशमा उत्साहित लाग्थे ।

दिनभर इजलास बाहिर बेन्चमा बसाइपछि अपराह्न झण्डै ५ बजेतिर अन्सारीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश न्यायाधीश लम्सालले सुनाए । उनले चाहेको भए, तत्कालै त्यति धरौटीको व्यवस्थापन गर्न कठिनाइ थिएन । अदालत प्रशासनले केही समय लाग्ने भए पनि सहजीकरण गरिदिने थियो । उनको तर्फबाट धरौटी नबुझाउने सूचना अदालत प्रशासनलाई दिइयो ।
यसपछि एकाएक अन्सारीलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्ने कागजात तयार भयो । यसपछि केही निराश हुँदै अन्सारी चुपचाप प्रहरीसँग अदालतबाट निस्किए ।
खासमा अन्सारीलाई पाकिस्तानमा रहेका अन्डरवर्ल्ड डन दाउद इब्राहिमका लागि काम गरेको आरोप भारतीय पक्षले लगाउँदै आएको छ । त्यही कारण उनी झण्डै दुई दशकदेखि सुरक्षा चुनौतीमा रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।
भारतविरुद्ध गतिविधि गरेको आरोपमा दुई दशकमा नेपालमा कम्तीमा १० जना नागरिक अज्ञात समूहको गोली प्रहारबाट मारिइसकेका छन् ।
स्रोतका अनुसार, यही विषय प्रहरी अधिकृतहरूले अन्सारीलाई सम्झाएका थिए । २०७६ सालमा पनि उनले बाहिर सुरक्षा चुनौती महसुस गरेर नाटकीय रुपमा पक्राउ परेको हुनसक्ने आशंका गरिएको थियो ।
‘नत्र दाउदसँग सम्बन्ध भएको मान्छे किन आफैं ७ करोड बराबरको नक्कली नोट लिन विमानस्थल जान्छ ?’, त्यसबेला अनुसन्धानमा खटिएका एक अधिकृत प्रश्न गर्छन्, ‘उनले चाहेको भए अरुलाई नै भाडामा प्रयोग गरेर नक्कली नोट चाहेको ठाउँमा डेलिभर लगाउन सक्थे ।’
सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सकेर प्रतिवेदन बुझाउने बेला पनि प्रहरीले अन्सारीलाई सुरक्षा चुनौती हुने भन्दै छुट्न हतार नगर्न भनिरहेको थियो । बन्दीप्रत्यक्षीकरणको रिट दिने बेला पनि प्रहरीले त्यही विषय उनलाई सम्झाइरहेको स्रोत बताउँछ ।
तर, उनले आफूलाई अब चुनौती नभएको जिकिर गर्थे । यद्यपि, सोमबार अपराह्न उनले १५ लाख रुपैयाँ धरौटी नबुझाएपछि फेरि उनले सुरक्षित रहने रणनीति अपनाएका हुन् कि भन्ने देखिएको छ ।
अदालत प्रशासनले उनलाई केन्द्रीय कारागार, सुन्धारा पठाएको छ । यो त्यही कारागार हो, जहाँ एक दशकअघि उनको हत्या प्रयास भएको थियो । भारतीय नागरिक मनमित सिंह भाटियाले केन्द्रीय कारागारको सार्वजनिक भेटघाट कक्षमै २६ फागुन २०६७ मा उनलाई लक्षित गरेर गोली हानेका थिए ।
तर, संयोगले उनी बाँचे । जाली नोट कारोबार गर्ने गरेको अभियोग लाग्दै आएका उनी त्यसबेला आफू सञ्चालक रहेको नेशनल टेलिभिजन च्यानलका कर्मचारीसँग गफिइरहेका थिए । कर्मचारीसँग भेट सकेर भाइ अमिनसँग छुट्टिन हात मिलाउँदै गर्दा एक्कासी आफूतिर रिभल्बर ताकेको देखे ।
‘एक्कासी ग्रिलको प्वालबाट हात छिराएर रिभल्बरले तीन/चार पटक फायर गर्ने कोसिस गरेको देखेपछि मलाई नै मार्न खोजेको भन्ने भयो’ उनले त्यसबेला गठित छानबिन समितिसमक्ष भनेका छन्, ‘त्यसपछि म भाग्न खोजें, दौडिंदा दाहिनेपट्टिको हातको पाता मुनितिर गोली लाग्यो ।’
प्रतिवेदन अनुसार त्यसबेला कुख्यात सिरियल किलर चाल्स शोभराजलाई भेट्न आउने बहानामा कारागार पुगेका मनमित सिंह भाटियाले उनलाई गोली हानेका थिए । तर प्राविधिक गडबडीका कारण गोली चलेन र उनी बाँचे ।

गोली चलेको थाहा पाएपछि त्यहाँ ड्युटीमा खटिएका प्रहरी जवान प्रमोद चौरसियाले उनलाई नियन्त्रणमा लिएका थिए । पछि सञ्चारमाध्यम मार्फत तस्वीर सार्वजनिक भएपछि ती व्यक्ति नै नेपालगञ्जमा भएको मजित मनिहारको हत्यामा संलग्न रहेको भन्दै परिवारले सनाखत गरेको थियो ।
भारतीय नक्कली नोटको कारोबार गर्ने आरोप लाग्ने गरेका ५६ वर्षीय मनिहार १९ असोज २०६६ मा नेपालगञ्ज नगरपालिका–२ मा रहेको लालीगुराँस होटलको कोठा नम्बर १०५ मा मृत फेला परेका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अनुसन्धान अधिकृत युनुसमाथि अझै जोखिम कायम रहे पनि के कारण उनले धरौटी बुझाएनन् भन्ने थाहा नभएको बताउँछन् । ‘हामीले उनलाई केही सुझावहरू दिएको सत्य हो, तर अदालतले छाड्न आदेश दिइसकेपछि के गर्ने भन्ने त उनकै कुरा हो’, ती अधिकृत भन्छन् ।
अन्सारी पहिलो पटक १७ पुस २०६६ मा २५ लाख ४४ हजार ५०० बराबरको नक्कली भारतीय नोट र लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका थिए ।
अन्सारीसँगै त्यसबेला उनको सुरक्षार्थ खटिएका भक्तपुरका काशीराम अधिकारी र दुई पाकिस्तानी नागरिक अमिर भनिने मोहम्मद इकबाल र मोहम्मद सज्जाद पनि पक्राउ परेका थिए ।
नक्कली नोट कारोबारमा पक्राउ पर्नुअघि नै उनले नेशनल टेलिभिजन सञ्चालनमा ल्याइसकेका थिए । सीआईबीले अनुसन्धानपछि बुझाएको प्रतिवेदनमा टेलिभिजनमा नक्कली नोट कारोबारबाट आर्जित सम्पत्ति नै उनले लगानी गरेको भनिएको छ ।
प्रतिक्रिया 4