सन् १९९७ जनवरी २३ मा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले म्याडलिन अलब्राइटलाई अमेरिकाको ६४औं स्टेट सेक्रेटरीमा नियुक्त गरे। उनी अमेरिकी इतिहासमा उक्त पदमा नियुक्त हुने पहिलो महिला थिइन्। त्यो खबर पढे/सुनेपछि, मैले यहाँको साप्ताहिक पत्रिकाको आफूले लेख्ने स्तम्भमा खुशी हुँदै लेखें। किनकि, मलाई लागेको थियो, अमेरिकामा महिलाको नियुक्ति हुनेबित्तिकै त्यसको सकारात्मक असर विश्वको हरेक कुनामा यत्तिकै परिहाल्छ र नेपाल पनि त्यसमा अछुतो रहने छैन। त्यतिबेला, एक वर्ष अगाडि ‘इन्टरनेशनल भिजिटर्स प्रोग्राम’मा एक महिना अमेरिका घुमेर आएको धङ्धङी बाँकी नै थियो।
सन् १९९६ को फेब्रुअरी ८ देखि मार्चको पहिलो हप्तासम्म भएको नेपालबाट लगिएका पाँच जना पत्रकारहरू गोरखापत्रका रमेश तिवारी र हरिकला अधिकारी, दृष्टि साप्ताहिकका शम्भु श्रेष्ठ, पत्रकार पदमसिंह कार्की र यो पंक्तिकारलाई त्यहाँको विभिन्न राज्यका विभिन्न क्षेत्रको अवलोकन गराइएको थियो। हामीले हेरे/देखेका कुराहरूमा खोट लगाउने ठाउँ नै थिएन भन्दा हुन्थ्यो।
उताबाट फर्किएको लगत्तै, नेपालका लागि तत्कालीन अमेरिकी राजदूत स्यान्ड्रा लुइज भजेलजिसिंगले अमेरिका भ्रमणबारे हाम्रो धारणा बुझ्न लन्च मिटिङ राखेकी थिइन्। कुराकानीको क्रममा अरूले के भने थाहा भएन; तर, मैले त जताततै खुशी र सुखको संसार नै देखेको, महिलाहरू सशक्त र सक्रिय रहेको, सुविधासम्पन्न देश देखेको बताएकी थिएँ। त्यसको करिब पाँच वर्षपछि जब केही समयको लागि अमेरिकामा बसाईं सरियो, अनि थाहा भयो अमेरिकी समाजको वास्तविक अनुहार।
यहाँ यति ठूलो भूमिका बाँध्नुको तात्पर्य, हालसालै अमेरिकाको आगामी राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार भएकी कमला ह्यारिसको बारेमा चर्चा चलिरहँदा आफूलाई भने, उनी राष्ट्रपति होलिन् भन्ने विश्वास नहुनु नै हो। किनकि, यो पंक्तिकारले सन् २००८ को नोभेम्बरमा भएको चुनावदेखि नै, अमेरिकी राष्ट्रपतीय चुनावलाई नजिकैबाट हेरेकी थिएँ; तर, २००८ को चुनावमा हिलारीको प्रचारप्रसार जति भए पनि, नोमिनेसनको बेलामा डेमोक्र्याटिक पार्टीले बाराक ओबामालाई नोमिनेसन गर्नु अगाडिदेखि नै हरेक दिनको समाचार, विचार र बहस हेर्दा लाग्थ्यो, तत्कालीन राष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टनले पक्कै चुनाव जित्नेछिन्।
विडम्बना ! पार्टीले हिलारीलाई उम्मेदवार नै बनाएन। हिलारीको ह्यांगओभरले दिमाग यति एकोहोरिएको थियो कि, सन् २००८ को राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक चुनावमा अमेरिकी टेलिभिजनकी प्रसिद्ध व्यक्तित्व ओप्रा विन्फ्रेले हिलारी क्लिन्टनको बदलामा तत्कालीन डेमोक्र्याटिक उम्मेदवार बाराक ओबामाको पक्षमा उभिंदा कैयौं महिनासम्म ओप्रा विन्फ्रेको पपुलर टेलिभिजन कार्यक्रम नै बहिष्कार गरेकी थिएँ।
त्यतिबेला एउटा ठूलो सिकाइ के भएको थियो भने, महिला भएकैले, महिलाले, महिलालाई समर्थन गर्दैनन्। उदाहरणको लागि, ओप्राले महिलाभन्दा पनि अफ्रिकन अमेरिकन उम्मेदवारको पक्ष लिइन्; भलै, बाराक ओबामा आफ्नो कार्यकालमा सफल राष्ट्रपति भएर बाहिरिए, त्यो अलग कुरा हो।
हिलारीको विरुद्धमा महिलाहरू नै लागे। बाहिरी संसारले देख्दा अमेरिका जतिसुकै विकशित देश भए पनि, त्यहाँका महिलाहरू पनि पुरुषसत्तात्मक सोचबाट मुक्त भइसकेका थिएनन्। अहिलेको स्थिति के छ थाहा भएन। किनकि, टाढा बसेर समाचारमा हेर्नु र पढ्नुभन्दा त्यहीं बसेर समाजको मूल्याङ्कन गर्नु आकाश–जमिन फरक हुन्छ।
जब, सन् २०१६ मा हिलारी क्लिन्टनले इतिहासमै पहिलो पटक अमेरिकाको महिला राष्ट्रपतिको लागि उम्मेदवारी दिइन्, त्यतिबेला रिपब्लिकन पार्टीको उम्मेदवार डोनाल्ड ट्रम्पद्वारा अभद्र र महिलाहरूको मानमर्दन गर्ने, आप्रवासीहरूलाई अपमानित गर्ने, काला जातिहरूको खेदो गर्ने भाषण गरिरहेका थिए। पटक–पटक ट्रम्पका घिनलाग्दा यौन प्रकरणका बावजुद, हिलारीका पतिले गरेका यौनिक अपराधको उदाहरण दिएर उनलाई अपमानित गराउने कोसिसमा महिलाहरू समेत नै लागे। त्यसैले पनि महिलाले चुनाव जित्न सजिलो छैन।
हुनत, त्यतिबेला हिलारी क्लिन्टनलाई सञ्चारमाध्यमहरूले पनि सपोर्ट नगरेको होइन। यसै प्रसंगमा अमेरिकाका प्रमुख सञ्चारमाध्यमहरूले आफ्ना नीति समेत परिवर्तन गरेको खबर सार्वजनिक भइरहेको थियो। सन् २०१६ सेप्टेम्बर ३० तारिखको दिन अमेरिकाबाट प्रकाशित हुने राष्ट्रिय दैनिक ‘युएसए टुडे’ले त्यतिबेलासम्मको ‘युएसए टुडे’को ३४ वर्षे प्रकाशनको इतिहासमा पहिलो पटक राष्ट्रपतीय चुनावमा पक्ष लिंदै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई भोट हाल्नु ठिक छैन (‘ट्रम्प इज अनफिट फर द प्रेसिडेन्सी’) भनेर सम्पादकीय नै लेख्यो।
त्यसैगरी सन् १८५१, सेप्टेम्बरदेखि अनवरत रूपमा प्रकाशित हुँदै आइरहेको अर्को अमेरिकी पत्रिका न्युयोर्क टाइम्ससँग पनि ट्रम्पको सम्बन्ध चिसिएको थियो। कारण, न्युयोर्क टाइम्सले गत सन् २०१६ अक्टोबर १२ तारिखको दिन आफ्नो प्रकाशनमा दुई अमेरिकी महिलाहरू जेसिका लिड्स र रेचल क्रुक्सले डोनाल्ड ट्रम्पले कुनै बेला उनीहरूलाई हातपात गरेको भन्ने आरोप लगाएको समाचार छापेको थियो।
सो समाचार प्रकाशित भएपछि ट्रम्पले फ्लोरिडामा आयोजित चुनावी र्यालीमा न्युयोर्क टाइम्समाथि मुद्दा हाल्ने धम्की दिएका थिए। तर उक्त धम्कीको बावजुद पत्रिका आफूले प्रकाशित गरेको सामग्रीको पक्षमा उभिइरह्यो; र यो प्रसङ्गमा अझै हाँसोलाग्दो कुरो त अन्तिम चरणको चुनावी बहसमा त ट्रम्पले, उनले कुनै महिलालाई त्यस्तो अभद्र व्यवहार नगरेको, उनीहरूलाई चिन्दै नचिनेको; बरु, उनको प्रतिद्वन्द्वीले पैसा दिएर त्यस्तो आरोप लगाउन लगाएको समेत भन्न बाँकी राखेनन्।
त्यतिबेला हिलारीलाई अरू पनि धेरै पत्रिकाहरूले समर्थन गरेका थिए। उदाहरणको लागि, सन् १९४० देखि हरेक रिपब्लिकन उम्मेदवारको पक्षमा रहँदै आएको ‘दि ड्यालस मर्निङ्ग न्युज’ ले सन् २०१६ को चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई सिफारिश गर्दै लेखेको थियो, ‘हामीले यो निर्णय सजिलोसँग लिएका छैनौं। यो पत्रिकाले दोस्रो विश्वयुद्ध भन्दा अगाडिदेखि कुनै पनि डेमोक्र्याटलाई राष्ट्रको उच्च कार्यालय (राष्ट्रपति) मा सिफारिश गरेका थिएनौं; हिसाब नै गर्ने हो भने ७५ वर्षभन्दा बढी र करिब २० वटा चुनाव भयो।’ त्यसैगरी, ‘दि एटल्यान्टिक’ले १५९ वर्षको इतिहासमा तेस्रो पटक मात्रै डेमोक्र्याटिक उम्मेदवारलाई सिफारिस गरेको थियो।
अर्को पत्रिका ‘दि सिन्सिन्याटी इन्क्वारर’, ‘दि एरिजोना रिपब्लिक’ले पनि शताब्दीयौं पछि डेमोक्र्याट उम्मेदवारलाई आफ्नो समर्थन दिएका थिए। ‘दि एरिजोना रिपब्लिक’ले त सन् १८९० मा पत्रिका प्रकाशित हुन थाले पश्चात्, पहिलो पटक डेमोक्र्याट उम्मेदवारको समर्थन गरेको रहेछ। अर्को पत्रिका, ‘स्यान डियागो युनियन – ट्रिब्युन’ ले आफ्नो १४८ को प्रकाशनको इतिहासमा कहिल्यै पनि डेमोक्र्याट उम्मेदवारलाई समर्थन गरेको रहेनछ।
तर यसरी डेमोक्र्याटिक उम्मेदवारलाई समर्थन गरेको कारणले पत्रिकाले सुखसँग बस्न पाएका भने थिएनन्। उतिबेलै समाचारमा आए अनुसार, हिलारी क्लिन्टनलाई समर्थन गरेको कारण, ‘दि एरोजोना रिपब्लिक’का सम्पादकीय बोर्डका सदस्यहरूलाई मार्ने धम्की आएको भनेर एरिजोनाकै एनबीसीसँग सम्बन्धित टेलिभिजनले समाचार प्रसारण गरेको कुरा आएको थियो।
मार्गरेट चेज स्मिथ; उनी रिपब्लिकन पार्टीकी थिइन् र २४ वर्ष लामो राजनैतिक जीवनको अनुभव सँगालेकी थिइन्। उनले त्यतिबेलासम्म अमेरिकी संसद्को दुवै सदनमा चुनाव जितिसकेकी थिइन्। तापनि उनलाई मतदाताहरूले साथ दिएनन्।
त्यसबेलासम्म राजनैतिक विषयबाट टाढा रहने फेशनको लागि विश्व प्रसिद्ध म्यागाजिन ‘भोग’ले पनि आफ्नो प्रकाशनको इतिहासमा पहिलो पटक डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनको पक्षमा २०१६ को अक्टोबर अङ्कको आफ्नो सम्पादकीयमा लेखेको थियो। उक्त म्यागाजिनले हिलारीलाई समर्थन गर्नुको कारणमा, उनले आप्रवासी, ‘एलजीबिटी राइट्स’, हेल्थ केयर र महिला अधिकारबारे लिएको नीतिलाई ध्यानमा राखेर समर्थन गरेको भनेर सम्पादकीयमा उल्लेख गरेको थियो।
जे जस्तो रूपमा यो चुनाव अगाडि बढे तापनि, अहिले त कमला ह्यारिसको प्रतिद्वन्द्वीको रूपमा रिपब्लिकन पार्टीबाट चुनावको उम्मेदवार हुन लागेका उही डोनाल्ड ट्रम्प छन्। ट्रम्पमाथि २०२४ जुलाई १३ को दिन अमेरिकाको पेन्सेलभेनिया राज्यको बट्लरमा हत्याको प्रयास भएपछि, मानिसहरूको सहानुभूति अझै बढेको देखिन्छ।
फेरि अर्को महत्वपूर्ण कुरा भनेको अमेरिकाको चुनावमा नेसनल राइफल एशोसिएसनको पनि ठूलो भूमिका हुन्छ र सेकेन्ड एमेन्डमेन्टले प्रदान गरेको गन राइट्समा डोनाल्ड ट्रम्पले उनको हत्याको प्रयास बावजुद सेकेन्ड एमेन्डमेन्ट अर्थात्, व्यक्तिगत रूपमा बन्दुक राख्न पाउने अधिकारलाई पूर्ण रूपमा समर्थन गर्छन्। जसले गर्दा उनलाई चुनावी खर्च पाउन पनि समस्या हुँदैन।
अमेरिकाको राष्ट्रपति पदमा महिलाहरूले उम्मेदवारीको लागि कहिलेदेखि पहल गर्न थालेछन् खोज्न मन लाग्यो। खोज्दै जाँदा, अमेरिकी महिलाहरूले आफूले भोट दिने अधिकार प्राप्त गर्नुभन्दा धेरै अगाडि अर्थात् सन् १८७२ देखि नै राष्ट्रपति पदको लागि चुनावमा भाग लिंदै आएका रहेछन्। जबकि, अमेरिकी महिलाले मताधिकार सन् १९२० मा मात्र प्राप्त गरेका हुन्।
एक लेख अनुसार, सन् १८७२ मा भिक्टोरिया क्ल्याफिन वूडहल नामकी महिलाले ‘इक्वाएल राइट्स पार्टी’ को नामबाट राष्ट्रपति पदको उम्मेदवारीको लागि प्रचारप्रसार गरेकी रहिछन्। उनी, आफ्नी बहिनीसँग मिलेर वाल स्ट्रीटमा ब्रोकरको काम गर्ने पहिलो महिला पनि रहिछन्।
उनको उम्मेदवारीको प्रयास आर्थिक कारणले कमजोर परे पनि पछाडि सरेकी रहिनछन् तर चुनावको ठीक एक दिन अगाडि अर्का राजनीतिज्ञको बारेमा अश्लील लेख छपाएको कारण उनलाई पक्राउ गरिएछ। तापनि, उनी ३५ वर्ष नपुगेको कारणले गर्दा सो पदको लागि उपयुक्त भने नठहरिने नै रहिछन्। उनलाई भोट हाल्न कोसिस गरेकोमा एउटी महिलालाई पक्राउ गरेर जरिवाना तिराइएछ ।
तत्पश्चात्, सन् १८८४ र १८८८ मा इभा एन बेनेट लकवुड नामक महिलाले उम्मेदवारी दिएकी रहिछन्; उनी अमेरिकी सर्वोच्च अदालतमा बहस गर्ने पहिलो महिला पनि रहिछन्। त्यो पनि महिलाले मताधिकार पाउनु अगाडिकै कुरो थियो तापनि उनको पहिलो उम्मेदवारीमा पुरुषहरूले उनलाई ५ हजार भोट दिएछन्।
त्यसपछि भने एकैपटक सन् १९६४ मा मात्रै महिलाहरूले राष्ट्पति पदको लागि उम्मेदवारीको पहल गरेको देखिन्छ। त्यो वर्ष आफूलाई उम्मेदवारको सूचीमा उभ्याउने महिलाको नाम थियो, मार्गरेट चेज स्मिथ; उनी रिपब्लिकन पार्टीकी थिइन् र २४ वर्ष लामो राजनैतिक जीवनको अनुभव सँगालेकी थिइन्। उनले त्यतिबेलासम्म अमेरिकी संसद्को दुवै सदनमा चुनाव जितिसकेकी थिइन्। तापनि उनलाई मतदाताहरूले साथ दिएनन्।
यसरी उतिबेलादेखि हालसम्मको इतिहास केलाउने हो भने अमेरिकी महिलाको पक्षमा राष्ट्रपतिको पद सुशोभित गराउने मौका अहिलेसम्म मिलेको छैन।
हुनत, यही जुलाई २६ तारिखको दिन अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि कमला ह्यारिसलाई इन्डोर्स गरेका छन्। कमलाको नाम उम्मेदवारमा आएपछि चुनावको लागि फन्ड पनि बाइडेनको नाम हुँदा भन्दा बढी उठ्न थालेको छ भनिन्छ। तर पनि, त्यहाँको चुनाव महिलालाई त्यति सजिलो पक्कै छैन।
भलै, खासै ठूलो उपलब्धि नलेखिएको होस्, म्याडलिन अलब्राइटको स्टेट सेक्रेटरीमा नियुक्ति भएको लेखेर रमाउने म जन्मिएको देशमा भने दुईपटक महिला राष्ट्रपति भइसकिन्। त्यसैले, कमला ह्यारिस सजिलै राष्ट्रपति हुन सक्लिन् भन्ने कुरा ‘प्यान्डोराको बाकस’ भित्रको आशा मात्रै हुने हो कि ?
प्रतिक्रिया 4