 
																			१४ साउन, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले विद्यार्थी संख्याको अनुपातमा शिक्षकको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएकी छन् ।
सोमबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर मेयर साहले रिक्त रहेको शिक्षक दरबन्दीमा तत्काल पदपूर्ति गर्नुपर्ने माग गरेकी हुन् ।
तहगत र विषयगत अपुग शिक्षक तत्काल पदपूर्ति नगरिए भदौ महिनादेखि मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्ने चेतावनी समेत मेयर साहले दिएकी छन् ।
उनका अनुसार मौलापुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा ८ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । शिक्षक दरबन्दी १६० हुनुपर्नेमा मौलापुरमा ५८ शिक्षक मात्रै रहेका छन् ।
मौलापुरमा १०२ जना शिक्षक दरबन्दी अपुग रहेको मेयर साहले बताएकी छन् ।
‘शिक्षा मन्त्रालयले अपुग शिक्षकको व्यवस्था गर्नुपर्यो वा हामीलाई शिक्षक नियुक्त गर्ने अधिकार दिनुपर्यो । विद्यार्थीको भविष्यसँग मन्त्रालयले खेलबाड गर्न पाउँदैन,’ उनले शिक्षामन्त्रीसँग भनिन्,‘ हाम्रो कुरा सुनुवाइ नभए हामी बाध्य भएर पठनपाठन बन्द गरेर आन्दोलनमा जान्छौं ।’
मौलापुरमा अपुग शिक्षक व्यवस्थाका लागि मेयर साहले सरकारको पटकपटक ध्यानाकर्षण गराउँदै आएकी छन् ।
ज्ञापनपत्र बुझ्दै शिक्षा मन्त्री भट्टराईले विभिन्न विद्यालयमा अपुग रहेका शिक्षक दरबन्दी छिट्टै नै व्यवस्थापन गर्ने गृहकार्यमा लागेको बताइन् । ‘हामी अध्ययन गरिरहेका छौं । विभिन्न विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएकाले छिट्टै नै व्यवस्थापन गर्दैछौं । तपाईंहरू आन्दोलन नगरिदिनुहोला,’ उनले भनिन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4