१८ साउन, काठमाडौं – भारत र श्रीलंकाबीचको पहिलो ओडीआई खेल टाई (बराबर) मा सकिएको छ । २३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २३० रनमा अल आउट भयो ।
भारतलाई अन्तिम १५ बलमा जित्नलाई १ रन चाहिँदा हातमा २ विकेट थियो । तर कप्तान चरिथ असलंकाले स्पिन बलिङ गर्दै ४८ औं ओभरको चौथो बलमा शिबम दुबे र पाँचौं बलमा अर्शदीप सिंहलाई एलबीडब्लू आउट गर्दै खेल नाटकीय रुपमा टाई गरका थिए । सुपर ओभर नहुँदा पहिलो ओडीआई बराबरीमा सकिएको छ ।
कप्तान रोहित शर्माले ४७ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाए । शुभमन गिल १६, विराट कोहली २५, वासिन्टन सुन्दर ५, श्रेयस ऐर २३, लोकेश राहुल ३१ र अक्षर पटेल ३३ रनमा आउट भए ।
तल्लोक्रममा शिवम दुबले २४ बलमा १ चौका र २ छक्कासहित २५ रन बनाए । जित्नलाई १ रन चाहिँदा दुबे चरिथ असलंकाको बलमा एलबीडब्लू आउट भए । श्रीलंकाले रिभ्यु लिदै आउट गरेको थियो । लगत्तै आएका अर्शदीप पनि एलबीडब्लू आउट भएपछि नाटकीय रुपमा खेल बराबरीमा सकिएको थियो ।
चरिथ असलंकाले ८.५ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । वानिन्दु हसरंगाले १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । दुनिथ वेलालागे २, असिथ फेनान्डो र अकिला धनन्जयले १-१ विकेट लिए ।
त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २३० रन बनाएको थियो । श्रीलंका युवा अलराउण्डर दुनिथ वेलालागे ६५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६७ रनमा नट आउट रहे । ओपनर पाथुम निसांकाले ७५ बलमा ९चौकासहित ५६ रन जोडे । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर अविष्का फ्रेनान्डो १, कुशल मेन्डिस १४, सदिरा समाविक्रामा ८, जेनिथ लियानागे २०, वानिन्दु हसरंगा २४, अकिला धनन्जय १७ र कप्तान चरिथ असलंका १४ रनमा आउट भए ।
भारतका अर्शदीप सिंह र अक्षर पटेलले २–२ विकेट लिए । मोहम्मद शिराज, शिवम दुबे, कुलदीप यादव र वासिन्टन सुन्दरले १–१ विकेट लिए । दोस्रो खेल आइतबार र तेस्रो बुधबार हुनेछ । यसअघि तीन टी२० आई खेलको सिरिजमा भारतले क्लिनस्वीप गरेको थियो । जसमा अन्तिम खेलमा भारतले सुपर ओभरमै हराएको थियो ।
प्रतिक्रिया 4