१९ साउन, काठमाडौं । नेपाली महिला बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा सहजै पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
मनिषा चौधरी र कमला पुनको जोडीले उज्वेकिस्तानलाई २१-१३, २१-१२ ले हरायो ।
नेपाली टोली समूह चरणमा खेलेको तीनवटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल पुगेको थियो ।
नेपालको पुरुष टिमले पनि आजै सेमिफाइनल खेल्दैछ । मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्नेछ ।
प्रतियोगिता सेमिफाइनल र फाइनल खेलहरू पनि आजै हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ ।
दुई वर्षअघि बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबल प्रतियोगितामा नेपालको पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थियो ।
प्रतिक्रिया 4