३१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु) गराउन विश्वका चार ठूलामध्येको अडिट फर्म केपीएमजीलाई छनोट गरेको छ ।
केन्द्रीय बैंकले ‘सर्ट लिस्ट’ मा परेका पाँच कम्पनीमध्ये ‘केपीएमजी एस्योरन्स एन्ड कन्सल्टिङ सर्भिसेस एलएलपी, इन्डिया’ छनोट गरेको हो । यो केपीएमजी ग्लोबलकाे सब्सिडियरी कम्पनी हो ।
राष्ट्र बैंकले लेखापरीक्षक कम्पनी छनोट गर्न गत असार दोस्रो साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।
राष्ट्र बैंकले बिहीबार सूचना प्रकाशित गरी प्राविधिक रूपमा केपीएमजी योग्य रहेको जनाएको छ । केपीएमजीको वित्तीय प्रस्ताव आगामी १६ भदौमा राष्ट्र बैंक परिसरमा खोलिने छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा सर्त अनुसार नेपालका १० ठूला वाणिज्य बैंकहरूको वाह्य लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण गर्न राष्ट्र बैंकले पाँच लेखापरीक्षक सर्ट लिस्ट गरेको थियो ।
राष्ट्र बैंकले नेदरल्यान्ड, भारत र पाकिस्तानका अडिट फर्मलाई सर्टलिस्ट गर्दै प्रस्ताव पेस गर्न भनेको थियो ।
नेदरल्यान्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एन्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबीए एन्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपीएमजी तसिर हादी एन्ड कम्पनी सर्ट लिस्टमा परेका थिए ।
राष्ट्र बैंकले तोकेको मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने पाँच लेखापरीक्षक फर्ममध्ये केपीएमजीलाई १० ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण गर्ने जिम्मा दिनेछ ।
सन् २०२१ डिसेम्बर २२ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको तर्फबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) माग गरेका थिए ।
३८ महिनाका लागि ईसीएफ अन्तर्गत नेपाललाई ३९ करोड ८८ लाख अमेरिकी डलर सहयोग प्राप्त हुन्छ । यही सुविधा लिन अन्तर्राष्ट्रिय अडिट फर्मले नेपालका १० ठूला बैंकको ‘एसेट क्वालिटी रिभ्यु गर्ने सर्त उल्लेख थियो ।
हेर्नुहोस् सूचना :
प्रतिक्रिया 4