+

के हो रोबोटिक सर्जरी ?

२०८१ भदौ  २ गते १३:२९ २०८१ भदौ २ गते १३:२९
Shares
के हो रोबोटिक सर्जरी ?

विकसित देशहरूमा पछिल्ला केही वर्षयता चिकित्सा क्षेत्रमा रोबोटिक सर्जरीको प्रयोग निकै बढेको छ । नेपालमा पनि यो सर्जरी भित्रिएको छ ।

रोबोटिक सर्जरी चिकित्सा विज्ञानको एउटा अत्याधुनिक प्रविधि हो । यसमा कम्प्युटर डिभाइस, सिस्टम र राम्रो प्रविधि जडित हुन्छ । त्यही प्रविधिको सहायताले सर्जनले सर्जरी गर्ने हो । यसमा रोबोटिकले नै सबै अप्रेसन गर्ने भने होइन । सर्जनले योजना बनाएर रोबोटको सहायता लिएर अप्रेसन गर्ने हो ।

यो शल्यक्रियाको सहयोगमा अहिले सबैभन्दा कठिन अपरेसन पनि सजिलै गरिन्छ । शरीरका कतिपय अंगहरु यस्ता हुन्छन्, जसमा पुग्न गाह्रो र खतरनाक हुन्छ । यो शल्यक्रिया क्यान्सर जस्तो खतरनाक रोगमा पनि प्रभावकारी हुन्छ । रोबोटिक शल्यक्रियामा डाक्टरले प्रोग्राम बनाएको रोबोटले शल्यक्रिया गर्छ ।

यसको मद्दतले कठिन स्थानमा रहेको गाँठो वा क्यान्सर कोष सजिलै हटाउन सकिन्छ । बिरामीको शरीरमा राखिएको विशेष क्यामेराले शल्यक्रिया स्थलको थ्रीडी दृश्य देखाउँछ । रोबोटिक उपकरणमा एक विशेष प्रविधि हुन्छ जसलाई ‘इन्डोरिस्ट’ भनिन्छ । यो प्रविधिले एकदमै जटिल शल्यक्रिया पनि सहज र प्रभावकारी तरिकाले गर्छ ।

रोबोटिक सर्जरीको उपयोगिता

सामान्य शल्यक्रिया : पित्त थैली हटाउने, हर्निया र आन्द्रासम्बन्धी शल्यक्रिया रोबोटिक सर्जरीद्वारा गर्न सकिन्छ ।

स्त्रीरोग सम्बन्धी शल्यक्रिया : पाठेघर निकाल्ने, पाठेघरमा पलाएको मासुको डल्लो मात्र निकाल्ने र इन्डोमेट्रिओसिस भनिने समस्या आदिको उपचारका लागि रोबोटिक शल्यक्रिया गरिन्छ ।

मूत्र प्रणाली सम्बन्धी शल्यक्रिया : रोबोटको सहयोगमा प्रोस्टेट निकाल्ने, मिर्गौलाको शल्यक्रिया र मूत्रथैलीको शल्यक्रिया पनि गर्न सकिन्छ ।

मुटुरोग सम्बन्धी शल्यक्रिया : मुटुको भल्ब मर्मत र कोरोनरी नामक धमनी बाइपास एवं यसको ग्राफ्टिंग लगायत जटिल मुटुरोग सम्बन्धी शल्यक्रियाहरू रोबोटिक प्रणालीबाट गर्नु फाइदाजनक हुन्छ ।

रोबोटिक सर्जरीको माध्यमबाट रिफ्लक्स (आमाशयको अम्लमिश्रित खानेकुरा खाद्यनलीतिर फर्किने) समस्या, खाद्यनलीको क्यान्सर, आन्द्रा तथा मलद्वारका समस्याको उपचार गर्न सकिन्छ ।

रोबोटिक सर्जरीको फाइदा के छ ?

रोबोटिक शल्यक्रियाको क्रममा एकदमै सानो भागमा मात्र प्वाल पारिन्छ । यही कारणले गर्दा शरीरमा शल्यक्रिया गर्दाको दाग निकै सानो हुन्छ । अन्य शल्यक्रियाको तुलनामा रोबोटिक शल्यक्रियामा बिरामी छिटो निको हुन्छ ।

रोबोटिक सर्जरीमा एकदमै अत्याधुनिक कम्प्युटर सिस्टम भएको कारण गतिविधिहरु एकदम छरितो हुन्छन् । त्यसैले गर्दा ठूलो ठूलो अप्रेसनहरूमा धेरै फाइदा हुन्छ । यो प्रविधि सन् २००० देखि नै युरोपमा प्रयोग गरिएको छ । पछिल्लो समय भारतमा पनि निकै प्रयोग भइरहेको छ र नेपालमा पनि भित्रिएको छ ।

कति लाग्छ खर्च ?

नेपालमा रोबोटिक सर्जरी गर्न लगभग ५ देखि ६ लाख रुपैयाँ खर्च लाग्न सक्छ ।

डा. प्रतीकमान सिंह गुरुङ रोबोटिक सर्जरी
डा. प्रतीकमान सिंह गुरुङ
लेखक
डा. प्रतीकमान सिंह गुरुङ
युरोसर्जन तथा रोबोटिक सर्जन

डा. गुरुङ हाल ओम अस्पताल, हेलियोस अस्पताल र मेधर्मा क्लिनिकमा कार्यरत छन् । उनले एमबीबीएस (यूसीएल, लण्डन), पीएचडी (यूसीएल), एफआरसीएस (युके), रोबोटिक सर्जरी फेलोसिप (न्युयोर्क) गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २८८७५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय