विविध विशेषताले भरिपूर्ण नेपाली समाजमा विभिन्न सांस्कृतिक चाडपर्वहरू मान्ने क्रममा जनैपूर्णिमाको दिन जनै लगाउने, डोरो (विशेष पूजा गरिएको रङ्गीन धागो) बाँध्ने र अघिल्लो दिन दर खाने प्रचलन छ । जनैपूर्णिमाको अवसरमा विशेष खानाको रूपमा क्वाँटी खाने प्रचलन रहिआएको छ । क्वाँटी खाने प्रचलन कहिलेदेखि सुरु भएको हो यकिनका साथ भन्न सकिंदैन तथापि यो विशेषगरी नेवार समुदायबाट सुरु भएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र यसको झोल खाने प्रचलन रहेको पाइन्छ ।
वास्तवमा नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको सुप हो । त्यसकारण क्वाँटी भनेको विभिन्न गेडागुडीहरूको मिश्रणबाट पकाएर बनाएको स्वादिलो र तात्तातो सुप हो भन्ने बुझिन्छ । यो आलेख क्वाँटी के हो, यो किन सेवन गरिन्छ, यसको महत्व के छ र यसले पुर्याउने फाइदा के के छन् भन्ने बारेमा नै बढी केन्द्रित हुनेछ ।
क्वाँटी विभिन्न गेडागुडीहरूको मिश्रण हो र यसमा खासगरी नौ किसिमका गेडागुडीहरूको सम्मिश्रण पाइन्छ । नेपाली समुदायमा खेतबारीमा काम गर्ने समयमा, मौसम परिवर्तन हुने समयमा र जाडो यामको सुरुवात हुने समय आउनै लाग्दा जनैपूर्णिमा पर्व पर्छ र त्यतिबेला विभिन्न गेडागुडीहरूको रस खाने प्रचलन छ ।
धार्मिक तथा सांस्कृतिक प्रचलनका रूपमा कुनै समुदायबाट आएको प्रचलन अहिले चर्चाको विषय बनेको छ र यो खानेकुरा अब कुनै जाति विशेषको नभई सबैको साझा विषय बन्न पुगेको छ । किनकि यसका पछाडि विभिन्न सत्य र वैज्ञानिक कारणहरू लुकेका छन् जसले शरीरलाई फाइदा पुर्याउँछन् । यसरी शरीरलाई बलियो बनाउन, कमजोर शारीरिक क्षमता भएको अवस्थामा, रुघाखोकी जस्ता रोगहरू लाग्नबाट बचाउन वा शरीरको रोग विरुद्ध लड्ने क्षमता बढाउन जानेर वा नजानेरै क्वाँटी जस्ता विभिन्न पौष्टिक तत्वहरू खाने प्रचलन चलिआएको हो ।
विभिन्न गुणहरूले भरिएको हुनाले सांस्कृतिक पर्व मान्नका लागि मात्र नभई क्वाँटीलाई असाध्यै वैज्ञानिक पौष्टिक खाना मानिने हुँदा यसको प्रचारप्रसार गर्न पनि जरूरी छ । क्वाँटीमा पाइने विभिन्न पौष्टिक पदार्थले ऊर्जा प्राप्त हुने, शरीरमा रोगव्याधि र परिश्रमका कारण कोषहरूमा आएका समस्या समाधान हुने, शारीरिक वृद्धि विकास वा शरीरको मर्मत सम्भारमा सहयोग पुग्ने, व्यक्तिको रोग प्रतिरोध क्षमता बढ्ने र रोग लाग्नबाट बचाउन सक्छ । त्यसकारण क्वाँटीको सेवन सुरुमा सांस्कृतिक मूल्यमान्यताबाट प्रभावित भएर विशेष समुदायबाट सुरु गरिएतापनि यसबाट विभिन्न फाइदा पाउन सकिने हुँदा अहिले सबैको खाना बनेको छ ।
त्यसो त क्वाँटी जनैपूर्णिमाको दिन वा अघिल्लो दिन मात्र खाएर पुग्दैन । यस्ता गेडागुडीको मिश्रणयुक्त खाद्यपदार्थ सकभर हाम्रा दैनिक खानामा हुनु आवश्यक छ । हामीले खाने प्रत्येक छाकको खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज र पानी आवश्यक छ । क्वाँटीमा मुख्यगरी प्रोटिन पाइने भएकाले हाम्रो शरीरका लागि अति आवश्यक पौष्टिक तत्व प्रोटिनको आपूर्ति हुन सहयोग पुग्छ तर हामीलाई प्रोटिन मात्र खाएर हुँदैन ।
सन्तुलित खानाको रूपमा कार्बोहाइड्रेट र चिल्लो पदार्थ तथा भिटामिन पाइने खानाको स्रोत समेत मिलाएर खानुपर्छ । हामीले सकभर कार्बोहाइड्रेट कम, प्रोटिन केही बढी मात्रामा र अन्य खाद्यपदार्थ ठिक्क मिलाएर खानु राम्रो हुन्छ । तर खाद्यपदार्थको उत्पादन, आर्थिक अवस्था, पोषण सम्बन्धी चेतना, घरपरिवारको आकार आदिले सन्तुलित खाना प्राप्त गर्न कठिनाइ पर्ने गरेको यथार्थ नेपाली समाजमा देखापर्दछ । फलस्वरूप खाना खाँदा भात वा रोटी, आलुको तरकारी र आलुका अन्य परिकार बनाएर खाने चलन छ जसले गर्दा सन्तुलित खाना प्राप्त गर्न सकिंदैन ।
यस्तो खानाबाट केवल कार्बोहाइड्रेट मात्र प्राप्त हुने र अति आवश्यक तत्व प्रोटिन, भिटामिन र खनिज तत्वको सधैं अभाव हुनेभयो । जसको परिणामस्वरूप हामीलाई विभिन्न पौष्टिक तत्वको कमीबाट लाग्ने रोगहरू देखापर्न थाल्छन्; शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य राम्रो हुन सक्दैन र कुपोषण जस्ता समस्या देखिन सक्छन् ।
यस्ता समस्या अझ बढी बाल्यकाल, किशोरावस्था र वृद्धावस्थामा देखिएमा रोग विरुद्ध लड्ने प्रतिरोध क्षमताको अभावले गर्दा विभिन्न समस्या थपिई व्यक्ति मृत्युको मुखमा पुग्न पनि सक्छ । त्यसकारण सकभर हाम्रै गाउँघरमा खेतबारीमा पाइने, पैसा नपर्ने वा कम मूल्य पर्ने खाद्यपदार्थलाई मिलाई सेवन गर्नु अति आवश्यक छ ।
क्वाँटी एक अर्थमा निकै पौष्टिक तत्वले भरिपूर्ण खाद्यपदार्थ भएकाले पनि यसको महत्व बढी देखिएको हो । क्वाँटी बनाउने क्रममा यसबाट बढी फाइदा पाउन विभिन्न गेडागुडीहरूलाई ३ देखि ४ दिनसम्म पानीमा भिजाएर राख्ने जबसम्म यसमा टुसा पलाउँदैन । त्यसपछि यसलाई राम्रोसँग प्रेसर कुकरमा पकाउनुपर्छ र बेसार, खुर्सानीको धुलो, नुन, तोरीका दाना, आलसका दाना, टमाटर, प्याज, लसुन र अदुवाको पेस्ट तथा विभिन्न मरमसलाको प्रयोग गरी पुनः पानी थपेर पकाएर स्वादिष्ट बनाई बाक्लो सुपको रूपमा खान सकिन्छ ।

क्वाँटी नौ किसिमका गेडागुडी एकै ठाउँमा मिलाई पकाएर खाने गरिन्छ । त्यसो त जुनसुकै दलहन तथा गेडागुडीहरू दुई वा सोभन्दा बढी भएमा र टुसा उमारेर खाएमा त्यसको पौष्टिक गुणमा थप गुणस्तर आउने र विभिन्न तत्वहरू प्राप्त गर्न सकिने हुन्छ । तर हाम्रो प्रचलनमा क्वाँटी बनाउन तोकिएका गेडागुडीहरू रहेका छन् ।
यसरी ती तोकिएका प्रत्येक गेडागुडी तथा तिनले शरीरमा पार्ने प्रभाव, क्वाँटीको महत्व र फाइदा यसप्रकार छन्–
१. राजमा (रातो मिर्गौला जस्तो गेडागुडी) : यो हेर्दा मिर्गाैलाको आकार जस्तै देखिन्छ र मिर्गौलाको स्वास्थ्यमा प्रभावकारी छ । साथै यो गेडागुडीमध्ये निकै लोकप्रिय रहेको छ र सँगसँगै विभिन्न पौष्टिक तत्वहरूले पनि भरिएको छ । यसका फाइदाहरूमा यसले मुटुका रक्तनलीमा जम्ने बोसोको तहलाई कम गराउँछ वा खराब कोलेस्टेरोल नियन्त्रण गर्छ ।
साथै मस्तिष्कको कार्यक्षमता बढाउने, मिर्गौलालाई सुरक्षा गर्ने र मुटुको समग्र स्वास्थ्य राम्रो राख्ने भएकोले सुगरका रोगीलाई पनि राजमाको सेवनले फाइदा नै गर्छ । यसमा पाइने प्रोटिनका कारण यो बढी स्वास्थ्यबर्धक पनि हुन्छ । त्यस्तै यसमा प्रशस्त फाइबर पाइने हुँदा यसको नियमित सेवन गर्दा पेटका समस्या र अपच हुने समस्या पनि निराकरण हुन्छ । यसमा इनर्जी, प्रोटिन, नगन्य चिल्लो, कार्बोहाइड्रेट, फाइबर, सुगर, क्याल्सियम, पोटासियम र सोडियम जस्ता विभिन्न तत्व पाइन्छन् ।
२. बोडी (कालो आँखा जस्तो गेडागुडी) : यस्ता गेडागुडीलाई प्रोटिनको पावरहाउस पनि भनिन्छ । बोडीको सेवनले मुटुका रोग नियन्त्रण, सुगर तथा रक्तचाप नियन्त्रण, रक्तअल्पताको उपचार, आँखाको स्वास्थ्य सुरक्षा, तौल कम गराउन सहयोग र प्याङ्क्रियाजमा हुनसक्ने क्यान्सरको समेत रोकथाम गर्दछ । यसमा उच्च मात्रामा प्रोटिन लगायत अन्य विभिन्न पौष्टिक तत्वहरू पाइन्छन् ।
३. चना (चिकपिज) : अरू गेडागुडी जस्तै चना पनि प्रोटिन लगायत विभिन्न पौष्टिक तत्वहरूको भण्डार हो । यसको नियमित सेवनले तौल कम हुने, रक्तचाप सन्तुलनमा आउने, हर्मोनहरूको उत्पादन सन्तुलित हुने र मधुमेहका रोगीलाई समेत लाभदायक हुन्छ ।
४. भटमास (सोयाबिन) : भटमास पनि प्रोटिन, फाइबर तथा विभिन्न पौष्टिक तत्वहरूको भण्डार र सुपर फुड नै हो । यसको सेवनले पनि कोलेस्टेरोल नियन्त्रित हुने गर्छ । यसमा हानिकारक चिल्लो कम हुने, एन्टिअक्सिडेन्ट तथा ओमेगा ३ फ्याटी एसिड प्रशस्त पाइन्छ ।
५. मुङ्ग (मुङ्गको दाना) : यो पोटासियम, म्याग्नेसियम र फाइबर प्रशस्त पाइने गेडागुडी हो । यसको नियमित सेवनले मुटुका रोगहरू, रक्तचाप र कोलेस्टेरोल नियन्त्रण गर्दछ ।
६. मास (कालो ग्राम दाना) : यसमा पनि अन्य गेडागुडीमा जस्तै प्रशस्तै विभिन्न पौष्टिक तत्वहरू पाइन्छन् । यसको सेवन गर्नाले पाचन प्रणाली, हाडजोर्नी, प्रजनन् प्रणाली, मुटु र मिर्गौलाको कार्यक्षमता बढाउँछ । कलेजोलाई सक्षम बनाउन, उच्च रक्तचाप कम गर्न, रगतमा सुगरको मात्रा घटाउन र स्नायु प्रणालीको क्षमता बढाउन समेत यसको सेवन गर्न सकिन्छ । साथै यो पेट दुखाइ, पायल्स, कब्जियत जस्ता रोगको उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।
७. बकुल्ला : यो हाडजोर्नीको स्वास्थ्य र प्रतिरोध क्षमता अभिवृद्धि गर्ने फाइदाजनक गेडागुडी हो । यसका साथै यसको सेवनले स्नायुको कार्यक्षमता बढाई पार्किन्सन्स् रोग (मस्तिष्कको कडा समस्या) मा फाइदा पुर्याउँछ भने रक्तअल्पता, तौल, कोलेस्टेरोल कम गर्ने र रक्तचाप व्यवस्थित गर्ने जस्ता काम पनि गर्छ ।
८. केराउ : केराउको सेवनले पाचनप्रणालीको कार्यलाई सुधार गर्ने, मेटाबोलिज्म् बढाउने, मुटुको स्वास्थ्यलाई राम्रो बनाउने र सुगरको मात्रा समेत नियन्त्रण गर्ने काम गर्छ ।
९. सेतो सिमी/गेडागुडी : यो स्वस्थकर शारीरिक तौल, मांसपेशी बलियो र पाचन प्रणाली राम्रो बनाउन लाभदायक छ ।
क्वाँटी हाम्रो सांस्कृतिक प्रचलनको रूपमा जनैपूर्णिमाको अवसरमा खाने खाद्यपदार्थ हो तापनि यसको सेवन गर्नु अति आवश्यक छ । नियमित रूपमा सबै नौ किसिमका गेडागुडीयुक्त सुप बनाएर खान नसकिए तापनि जति उपलब्ध छ त्यति नै मिश्रण गरी वा मिश्रण नै नगरी कुनै एक किसिमको भए पनि गेडागुडी हामीले प्रत्येक खानामा खानु आवश्यक छ । यस्तो खाना खानाले हाम्रो शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य पनि स्वस्थ हुनेमा कुनै शंका छैन ।
गर्भवती, स्तनपान गराउने महिला, बच्चा, किशोरकिशोरी र वृद्धहरूका लागि त यो निकै वरदानयुक्त खाद्यपदार्थ हो । घरपरिवारमा सबैले यसको सेवन गर्ने गरेमा रोगरहित ऊर्जावान् परिवारको कल्पना गर्न सकिन्छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4