 
																			७ भदौ, काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मलेशिया र खाडी राष्ट्रहरुमा जाने श्रमिकको संख्या घट्दोक्रममा छ ।
पछिल्लो २०–२५ वर्षदेखि प्रमुख श्रम गन्तव्य रहेका यी राष्ट्रहरुमा जाने श्रमिकको ग्राफ पछिल्लो तीन वर्षमा ओरालो लागेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । मलेशिया, युएई, साउदी, कतार, कुवेत, ओमान नेपालीका प्रमुख श्रम गन्तव्य हुन् ।
खासगरी नेपालको प्रमुख श्रम गन्तव्य मलेशिया जाने श्रमिकको संख्यामा ठूलो गिरावट आएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ३ लाख ६६ हजार मलेशिया गएका थिए । आर्थिक वर्ष ०७९/०८० मा घटेर यो संख्या २ लाख ५९ हजारमा खुम्चियो । आर्थिक वर्ष ०८०/८१ सम्म आइपुग्दा मलेशिया जाने श्रमिकको संख्या १ लाख ३ हजारमा सीमित भयो ।
खाडी राष्ट्रको दोस्रो श्रम गन्तव्य जाने साउदी अरबमा पनि नेपाली श्रमिकको कम आकर्षण देखिएको छ । आर्थिक वर्ष ०७८/०७९, ०७९/८० र ०८०/०८१ को तथ्याङ्क हेर्दा क्रमशः १ लाख ८८, १ लाख १२ हजार, १ लाख ४१ हजार नेपाली श्रमिकहरु साउदी गएका छन् ।
कतारमा पनि नेपाली श्रमिकको संख्यामा कमी आएको छ । आर्थिक वर्ष ०७८/०७९ मा १ लाख ८४ हजार नेपाली वैधानिक तरिकाले कतार गएकोमा ०७९/८० मा १ लाख ३३ हजार र ०८०/०८१ मा १ लाख ३४ हजार ६९९ जना नेपाली कतार गएका छन् ।
खाडीको पहिलो श्रम गन्तव्य युएईमा भने बढेको देखिन्छ । हाल युएई नेपालको प्रमुख श्रम गन्तव्य मानिन्छ । युएईमा रोजगारीको खोजीमा आर्थिक वर्ष ०७८/०७९ मा १ लाख २२ हजार नेपाली गएका थिए । ०७९/०८० मा १ लाख १६ हजार रहेकोमा ०८०/०८१ मा भने बढेर १ लाख ९३ हजार नेपाली गएका थिए ।
किन घट्यो ?
वैदेशिक रोजगारका ममलाका जानकारहरु पछिल्ला वर्षहरुमा खाडी र मलेशियामा जाने श्रमिकहरु तुलनात्मक रुपमा कमी आइरहेको बताउँछन् । विगतमा जस्तो श्रमिकको माग अहिले नहुनु र नयाँ गन्तव्यको खोजी हुनुले पनि खाडी र मलेशिया जाने नेपाली श्रमिकको संख्या घटीरहेको उनीहरु सुनाउँछन् । श्रम गन्तव्यका बद्लिदो नीति कारण पनि अहिले श्रमिक अवसर कम आइरहेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी परम्परागत श्रम गन्तव्य मुलुकमा अहिले श्रमिकको माग कम भएको बताउँछन् । उनका अनुसार मलेशिया, कतार र साउदीमा नेपालीको श्रमिकको माग घट्दो छ । ‘कोभिड पछि निम्तिएको संकट, बेरोजगारी जस्ता कारणले प्रमुख गन्तव्य मुलुकहरुले विदेशी श्रमिकहरु कटौती गरेका छन्’ उनले भने, ‘यही कारण पनि नेपाली श्रमिकका लागि त्यहाँ अवसरहरु खुम्चिदै गएको छ ।’ त्यस्तै नेपालबाट श्रमिक पठाउँदाका कानुनी प्रक्रिया झन्झटिलो भएकाले पनि नेपालीको श्रम बजार खोसिदै गएको उनको भनाइ छ ।
उसो त नेपालको प्रमुख श्रम गन्तव्य मलेशियाले आप्रवासी श्रमिक लैजान कडाइ गरेपछि यसको प्रभाव नेपालमा पनि परेको छ । गत मार्चदेखि मलेशियाले आप्रवासी श्रमिक लैजान कडाइ गरेको थियो । मलेसियाले १५ प्रतिशत मात्रै आप्रवासी श्रमिक राख्ने नीति लिएको छ । जसको प्रभाव नेपालमा पनि देखिएको छ । आर्थिक वर्ष ०७९/०८० मा मलेशियामा २ लाख ५९ हजार नेपाली गएकोमा गत आर्थिक वर्ष ०८०/०८१ मा १ लाख ३ हजारमात्र श्रमिक मलेशिया गए ।
त्यस्तै कतारले पनि नेपाली श्रमिकहरु कटौती गरिरहेको रोजगार व्यवसायीहरु बताउँछन् । ‘पहिले जस्तो डिमाण्ड छैन’ अध्यक्ष भण्डारीले भने, ‘आउने दिनमा खाडी, मलेशियामा यो संख्या झन् घटेर जाने देखिन्छ ।’
नयाँ गन्तव्यको खोजी
वैदेशिक रोजगार मामलाका जानकारहरु श्रमिकहरु पनि विगतका परम्परागत श्रम गन्तव्यमा जाने श्रमिकहरु नयाँ गन्तव्यतिर मोडिन थालेको बताउँछन् ।

वैदेशिक रोजगार मामला विज्ञ डा. गणेश गुरुङ अवसरको खोजीमा युरोप जस्ता विकसित राष्ट्रहरुमा जानेक्रम बढेकाले खाडी र मलेशियामा आकर्षण कम हुँदै गएको सुनाउँछन् । ‘नयाँ गन्तव्य मुुलुकमा श्रमिका लागि ढोका खुलिरहेको छ, युरोप, कोरिया, जापानहरु जस्ता देशहरुमा श्रमिकको माग पनि बढ्दो छ’ उनले भने, ‘श्रमिकहरुमा पनि परम्परागत गन्तव्यको साटो विकसित राष्ट्रहरुमा नै जाऔं भन्ने मनस्थिति देखिन्छ ।’
वैदेशिक रोजगार व्यवसायीहरुले सरकारले युरोप जस्ता नयाँ मुलुकहरुमा श्रम गन्तव्यको ढोका खुला गर्नुपर्ने बताउँछन् । ‘श्रमिकको चाहनामात्र हैन, नयाँ गन्तव्यहरुमा डिमाण्ड पनि धेरै छ,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारी भन्छन्, ‘सरकारले मागपत्र प्रमाणीकरणमा सहज बनाएर नयाँ गन्तव्य मुलुकमा श्रमिक पठाउने बाटो खुला गर्नुपर्छ ।’ उनले रोमानिया, माल्टा, पोल्याण्ड, साइप्रस जस्ता मुलुकहरुमा श्रमिकहरुको माग बढी भएको बताउँछन् ।
नयाँ गन्तव्यमा उक्लदो ग्राफ
वैदेशिक रोजगार विभागको तथ्याङ्कले पनि पछिल्ला वर्षहरुमा युरोप, जापान, दक्षिण कोरिया जस्ता मुलुकहरुमा नेपाली श्रमिक जाने क्रम बढेको देखाउँ छ ।
विभागको तथ्याङ्क अनुसार तीन वर्षमा युरोपमात्रै ९६ हजार युवाहरु श्रम स्विकृति लिएर गएका छन् । आर्थिक वर्ष ०७८/०७९ देखि ०८०/०८१ सम्मको अवधिमा रोमनियामा ३६ हजार ७२१, क्रोएसियामा २८ हजार १४९, साइप्रसमा १६ हजार ४४८ र माल्टामा ११ हजार १६८ जना नेपाली गएका छन् ।
त्यस्तै जापान, दक्षिण कोरिया जस्ता मुलुकहरुमा जाने श्रमिकहरुको संख्यामा पनि वृद्धि भएको छ । पछिल्लो तीन वर्षमा जापानमा २८ हजार ८६४ र दक्षिण कोरियामा १५ हजार ५१० जना नेपालीहरु गएका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4