
१३ भदौ, काठमाडौं । निजी अस्पतालहरू आर्थिक संकटले थला पर्दै गएका बेला भक्तपुरको स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भएको छ । काठमाडौंको ह्याम्स हस्पिटलले भक्तपुर थिमिस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा करोडौं लगानी गरेको हो ।
मध्यपुर थिमि–३ गठ्ठाघरमा रहेको १ सय शय्याको नागरिक हस्पिटलको ४३ प्रतिशत सेयर स्वामित्व ह्याम्सले खरिद गरेको हो ।
आरएस भण्डारी नेतृत्वमा ह्याम्स सञ्चालन गर्ने समूहले नागरिक हस्पिटल र नागरिक कलेज अफ हेल्थ साइन्सको ४३ प्रतिशत सेयर ९ करोड ९१ लाख रुपैयाँमा खरिद गरेको हो ।
नागरिक अस्पतालका नवनियुक्त अध्यक्ष तथा ह्याम्स अस्पतालका अध्यक्ष समेत रहेका भण्डारीले भक्तपुरमा एउटा उच्चस्तरीय कर्पोरेट अस्पताल स्थापना गर्ने योजना रहेको बताए ।
‘भक्तपुरमा सुविधा सम्पन्न अस्पताल छैन । जसका कारण धेरै बिरामीले अस्पतालसम्म पुग्न नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ,’ भण्डारीले भने, ‘यस क्षेत्रमा रहेको गुणस्तरीय स्वास्थ्य सेवाको अभाव पूरा गर्न सकियोस् भन्ने हिसाबले अस्पतालको पुनर्संरचना गर्दैछौं ।’
नागरिक अस्पतालको कुल २२ लाख ७३ हजार कित्ता सेयरमध्ये ह्याम्सले ९ लाख ९१ हजार कित्ता खरिद गरेको हो ।
भक्तपुर जस्तो घनाबस्ती भएको क्षेत्रमा उच्चस्तरीय स्वास्थ्य सेवाको आवश्यकता सम्बोधन गर्ने लक्ष्य ह्याम्सको छ ।
ह्याम्स समूह प्रवेशसँगै नागरिक अस्पतालको व्यवस्थापकीय संरचनामा पनि परिवर्तन आएको छ । जसमा अध्यक्ष भण्डारी सहित ६ नयाँ बोर्ड सदस्य ह्याम्स समूहबाट नियुक्त भएका छन् ।
नयाँ व्यवस्थापनले तत्काल कार्यान्वयन गर्न सकिने सेवामा सुधार ल्याएको छ । अहिले २४ घण्टा एमडीजीपी विशेषज्ञ सहित आकस्मिक सेवा भइसकेको छ । जुन भक्तपुर क्षेत्रमा पहिलो पटक उपलब्ध गराइएको छ ।
अस्पतालको भौतिक पूर्वाधार विकासतर्फ पनि महत्त्वपूर्ण योजना अघि बढिसकेका छन् । जसमा नयाँ अत्याधुनिक भवन निमार्ण प्रक्रिया अगाडि बढिसकेको छ । भण्डारीका अनुसार आगामी कात्तिकसम्म निमार्ण कार्य सुरु हुनेछ ।
त्यसैगरी अस्पतालले हाल १२ हजार वर्गफिट क्षेत्रफल भाडामा लिएर नयाँ संरचना तयार भइरहेको छ । जुन आगामी असोजसम्म सम्पन्न गरी सेवा विस्तार गर्ने योजना छ ।
‘अहिले अवरुद्ध सेवा अपग्रेड गदै गुणस्तरीय सेवा दिन्छौं । आकस्मिक कक्ष विस्तारसँगै ओपीडी सेवा अब्बल बनाउँछौं,’ भण्डारीले भने, ‘अहिले ह्याम्समा जुन सेवा पाइरहेका छन्, त्यही हिसाबको सेवा नागरिक अस्पिटलबाट दिन्छौं ।’
ट्रमा लक्षित सेवा दिइने
नागरिक हस्पिटलमा ट्रमा लक्षित बिरामीलाई प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा दिने योजना छ । पूर्वको राजमार्गमा दिनँहु सडक दुर्घटना भइरहेका हुन्छन् । यस्तो बेलामा बिरामीलाई छिटो अस्पताल पुर्याउँदा बचाउन सकिन्छ ।
‘ठूला सेवा लिन काठमाडौं नै आउनुुपर्ने बाध्यता छ । सेवा गुणस्तरका हिसाबले हेर्दा भक्तपुर धेरै नै पछाडि छ,’ भण्डारीले भने, ‘भक्तपुरमा गुणस्तरीय सेवा दिने योजनासाथ अगाडि बढेका हौं ।’
भक्तपुरमा सुविधा सम्पन्न अस्पताल हुँदा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली लगायतबाट आउने बिरामीलाई सहज हुनेछ ।
त्यसैगरी मिर्गौलाका बिरामीलाई सहज सेवा उपलब्ध गराउने हिसाबले डायलाइसिस सेवा दिइने उनको भनाइ छ । त्यसका साथै बहुविशिष्टिकृत सेवा सञ्चालन गरिने छ ।
‘पहिलो प्राथमिकता ट्रमाका बिरामी, त्यसपछि न्युरो, मिर्गौलाका बिरामीलाई गुणस्तरीय सेवा दिनेछौं,’ भण्डारीले भने, ‘अत्याधुनिक प्रविधि, दक्ष जनशक्तिको चिकित्सकको टिमले उत्कृष्ट सेवा दिने आकलन राखेका छौं ।’
हाल नागरिक अस्पताल सय बेडमा सञ्चालित छ । प्रारम्भिक आकलनका आधारमा सेवा थप गर्दै जाँदा २ सय बेडबाट सेवा दिने योजना छ ।
हेलिप्याड सहितको अस्पताल बनाइने
नागरिकसँग हाल १ सय शय्याको अस्पतालसँगै १२ रोपनी जग्गा र तीन तलाको नागरिक कलेज अफ हेल्थ साइन्सको सम्पति छ । नागरिक कलेज अफ हेल्थ साइन्सले बीएन, बीएससी नर्सिङ र एचएका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सात रोपनीमा अत्याधुनिक हेलिप्याड सहित भवन बनाउने योजना रहेको भण्डारीले जानकारी दिए । जुन आगामी साढे दुई वर्षमा भवन निमार्णको काम सकिने अनुमान राखिएको छ । हाल सञ्चालन भइरहेको भवन भाडामा लिएर सञ्चालन भइरहेको छ ।
सुविधा सम्पन्न भवन बनाउन २ अर्ब लाग्न सक्ने अनुमान छ । भण्डारीका अनुसार जसमध्ये बैंकबाट १ अर्ब ४० करोड लिने र सेयरधनीबाट थप ६० करोड लगानी गर्ने योजना छ ।
१७ वर्षअघि नागरिक कम्युनिटी टिचिङ हस्पिटल सुरुवात मुनाल क्लिनिकबाट भएको थियो । त्यसबेला मुनालले बिहान र बेलुकी मात्रै ओपीडी सेवा दिन्थ्यो ।
त्यसबेला काठमाडौं खुँसीबुमा ५१ शय्याको एक हस्पिटल बिक्रीमा थियो भने भक्तपुरमा एक समूहले हस्पिटल खोल्ने तयारी थालेको थियो । मुनाल पोलिक्लिनिकका सयभन्दा बढी सेयरधनी र भक्तपुरमा हस्पिटल खोल्ने तयारीमा रहेका समूहले खुँसीबुमा भएको अस्पताल खरिद गरेर गठ्ठाघरमा नागरिक हस्पिटल स्थापना भएको थियो ।
तर, पछिल्लो समय नागरिक हस्पिटला आर्थिक रूपमा संकटमा पर्न थालेको थियो । त्यही क्रममा ह्याम्स सञ्चालक समूह उक्त अस्पताल र नर्सिङ कलेजको ४३ प्रतिशत सेयर किन्न पुगेको हो ।
‘१६ वर्ष अगाडिको नागरिक अस्पतालको एक सेयर होल्डर हुँ । पछिल्लो समय अस्पताल आर्थिक संकटमा गुज्रिरहेको थियो,’ भण्डारीले अनलाइनखबरसँग भने, ‘साथीहरूले पनि राम्रो अस्पताल बनाउनुपर्यो भनेर अनुरोध गरेपछि म नेतृत्व गरेर आएको हुँ ।’
फोटो : आर्यन धिमाल
प्रतिक्रिया 4