 
																			वर्षभरि दुर्घटना, मृत्यु र घाइतेको कारुणिक खबरले छापा भरिए। नियति नै भनौं, प्रत्येक वर्ष जस्तै हामीले हेर्ने र सुन्ने कथा बनेको छ सडक दुर्घटना।
गत साता भने विद्या चापागाईंले नियमित रूपमा चलाइरहेको ‘हेर्ने कथा’ मा एउटा अर्को शृङ्खला आयो ‘हराएका वर्षहरू’। त्यसअगाडि अमेरिका निवासी नेपाली नर्स ममता काफ्ले हराएको अर्को डरलाग्दो कथा पनि अमेरिकासँगै जोडिएको क्यानडामा बसेर सुन्दै हेर्दैछु।
त्यसको अघिल्लो साता फेरि नेपालमा भएको बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा सहमति भन्ने समाचारहरू आए। माथि उल्लेखित दुई समाचार जस्तै यो पनि मुख्यतः हराएका मान्छेहरू समेतको खोजबिन गर्ने विधेयक थियो।
यी तीनै विषयमध्ये म आफैं जो करिब दुई वर्षदेखि सार्वजनिक जीवनबाट हराएको र पृथ्वीकै करिब अर्को गोलार्धबाट मेरो ‘चश्मा’ बाट देखिएका केही अनुभव लेख्ने जमर्को गर्दैछु। मेरो यो लेखाइ म जस्तै विश्वभरि छरिएर रहेका र विभिन्न उद्देश्यले हराइरहेका लाखौं युवाहरूमा केन्द्रित गर्ने कोसिस गरेको छु।
सप्ताहान्तमा मन परेका यस्तै केही कार्यक्रम, सिनेमा, समाचार हेर्ने, हप्ताभरिको लागि चाहिने रसदपानीको किनमेल गर्ने, सानी छोरीसँग खेल्ने वा बाहिर कहीं घुम्न लैजाने यस्तै दिनचर्या हुन्छ यहाँ।
गत सप्ताहान्तको बिहानै एमआरआरमा ‘हराएका वर्षहरू’ सम्बन्धी पोष्ट र कमेन्टहरू हेरेपछि कार्यक्रम आद्योपान्त हेरियो। एक घण्टा १० मिनेटको उक्त कार्यक्रम कुनै नेटफ्लिक्सको थ्रिलर रहस्यमयी सिरिज भन्दा कम थिएन। ठाउँ–ठाउँमा भावुक बनाउने प्रकाशको कथा वास्तवमै विशेष छ।
परिवार मिलनपछि पुनः केही समयलाई ‘प्रकाश’ आफ्नै लेक चुमनुब्री पुग्छन्। दशैं मान्न फर्किने बाचा गरेको प्रकाश सधैंको लागि आफ्नो परिवारसँग बस्न भोजपुर नै जान्छन् तर फेरि पनि भोजपुर बसेर आफ्नो जीविकोपार्जन गर्ने उपाय नभएपछि पुरानै साहुकोमा फर्केको र साहुले उनको पारिश्रमिक सहित पुनः बिदा दिएको प्रसङ्ग समेत आइनै सके।
सञ्जालमा देखिएको अभुतपूर्व सहानुभूति र सद्भावसँगै ‘हेर्ने कथा’ले नै आफ्नो आम्दानीबाट प्रकाशको व्यवस्थापनसम्म गर्नुपर्ने आवाज समेत आएकै हुन्। हामी हुँदाहुँदा यति भावुक भइदिन्छौं कि मिडियाको काम समाजको ऐना देखाउने मात्र हो भन्ने भुलेर मिडियालाई नै राज्य वा व्यवस्थापककै सरहको जिम्मेवारीको भारी बोकाइदिन्छौं! यद्यपि प्रकाश सम्भवतः ‘भेटिएको आयु’ लिएर अब भोजपुरमै रहलान्/रहून्।
उता अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट हराइरहेकी २८ वर्षीय नेपाली नर्स ममता काफ्लेको श्रीमान्लाई केही समय पहिले प्रहरीले घटनामा ‘संलग्न हुनसक्ने’ आशंकामा पक्राउ गरेको छ। उच्च प्रविधियुक्त, शक्तिशाली र दुनियाँकै शक्तिशाली देश अमेरिकाको राज्य प्रणालीले घटनाको सत्य–तथ्य सहित अपराधीलाई कारबाहीको दायरामा ल्याउने नै छ।
यो घटनालाई यो उचाइसम्म लग्ने र खोजबिनको लागि अमेरिका, नेपाल लगायत विश्वभरिका नेपाली समुदायको तदारुकता प्रशंसनीय छ। उता श्रीमान्को भूमिका शंकास्पद देखिएर गिरफ्तारी भए। यता संजाल, विदेश गएकालाई छोरी दिन अयोग्य घोषणा गर्ने गरिको तयारीमा छ। अपराधीले नेपालमै पनि यस्ता घटना घटाइरहेका छन्, बाहिर गएकाले पनि घटाइरहेका छन्।
फ्रान्सका नागरिक चार्ल्स शोभराजले धेरै नै मानिसको हत्या गरे खासगरी महिलाहरूको। तीमध्ये दुई क्यानेडियन नागरिकको नेपाल आएर हत्या गरे र नेपालबाटै गिरफ्तार भई करिब १९ वर्षको काराबास सजाय पनि कटाइसकेका छन्। यहाँ मैले भन्न खोजेको चाहिं अपराधीको कुनै जात हुँदैन, धर्म हुँदैन, राष्ट्रियता हुँदैन, नाता हुँदैन।
तर, यो घटनामा पनि हामी तिनै रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धान्न सघाइरहेका र ‘हराइरहेका’ लाखौं मान्छेलाई एकै डालोमा हालेर धारे हात लगाइरहेका छौं।
मेरा कति साथीहरू छन्, इनबक्समा अमेरिका, क्यानडा आउने तरिका, विद्यार्थी भिसा, पर्यटक भिसा, तल्लो बाटो, माथ्लो बाटो सबै बाटोको बारेमा सोध्छन्। तिनै साथी मौका परे स्टाटसमा विदेशमै बस्नेको छाला काढ्छन्। यो अनौठो पाखण्डपनको पनि साक्षी बन्न परेको छ।
हुन त युवा तथा महिलाहरूकै प्रतिनिधि भनिएका, सरकारको क्याबिनेट मन्त्री भइसकेका रामकुमारी झाँक्रीहरू नै आफ्ना बाहिर रहेका नागरिकहरूलाई ‘सार्वजनिक कार्यक्रम’ मार्फत नै सोल्जरको जत्ति पनि बुद्धि नभएको भन्दै दुत्कार्छिन्।
सोल्जर हुनु बुद्धिहीन हुनु हो र विदेशिने सबै बुद्धि नभएर बाहिर गएका हुन् भन्ने खालको भाष्यमा ताली र वाह् वाही आउने कुरा आफैंमा नयाँ कुरा चाहिं हैन। यी मान्यता बदल्न समय लाग्ने संकेत गर्छ यद्यपि यो बदल्न नै नसकिने भाष्य भने हैन।
प्रकाशको हराएका करिब ३५ वर्षहरू जस्तै लाखौं युवाका करोडौं वर्षहरू आज पनि भारत, मध्यपूर्व, कोरिया, जापान हुँदै युरोप र अमेरिकामा हराइरहेका छन्। प्रकाश र ती लाखौं युवामा फरक यत्ति छ कि उनीहरू घर ठेगाना थाहा नपाएर हैन, थाहा पाएरै हराइरहेका छन्। यसरी हराउनेलाई पनि सबै बाध्यताको पगरी गुथाएर हेरिरहन जरूरी छैन।
ग्लोबल भिलेजको आजको दुनियाँमा कैयौं अवसर पाएकै मान्छेहरू पनि रहरले हराइरहेका छन्। भलै समग्रमा त्यस्ता मान्छेको संख्या अधिक कम छ। कति क्यानडा आएर स्थापित भएर बसेका नेपाली साथीभाइलाई सोध्छु- अब नागरिक चाहिं कुन देशको बन्ने त ? उनीहरू जवाफ दिन्छन्, ‘ग्लोबल सिटिजन’ बन्ने।
भौतिक रूपमा ‘ग्लोबल सिटिजन’ वा ‘ग्लोबल राहदानी’ भन्ने कुनै वस्तु हुँदैन र यो जारी गर्ने कुनै निकाय पनि छैन। तर कुनै देशको मात्र नभई समग्र विश्व र मानव जातिको हितको पक्षमा काम गर्ने फराकिलो चेतना सहितको वैश्विक नागरिक बन्छु भन्ने मनसुवा मात्र हो। यस्ता उत्तर दिने साथीलाई पनि हामी भनौं– ‘तिमी ग्लोबल सिटिजन नै बन तर तिमी जन्मेको माटोप्रति तिम्रो अझै केही दायित्व छ, केही योगदान गर्न चाहन्छौ भने आऊ, हामीले तिम्रो लागि पनि वातावरण बनाइदिएका छौं।’
आफूसँग भएको अवसर भन्दा अझ राम्रो अवसरको खोजीमा, पढाइको सिलसिलामा, व्यापार व्यवसाय फैलाउन र अनुभव आर्जन गरेर फर्किने मनसुवा राखेर हराइरहेका ती मान्छेहरूलाई त झनै खुल्ला मनले देश फर्काउन आवश्यक छ।
तर अति न्यून आम्दानी त्यसमा जोखिमपूर्ण काम गरेर भए पनि परिवारको आधारभूत आवश्यकता मात्र पूरा गर्न २५औं वर्षदेखि खासगरी मध्यपूर्व र भारतमा हराइरहेका बहुसंख्यक ‘प्रकाश’हरूको चाहिं घर आउने र फेरि पुरानै साहुकोमा फर्किनुपर्ने बाध्यात्मक स्थितिको अन्त्य हुनैपर्छ।
दुई ठूला छिमेकी भारत र चीनले आफूसँग भएको ठूलो जनसंख्यालाई आज विकास र उत्पादनको प्रमुख स्रोत बनाइरहेको सन्दर्भमा हामीले पनि यो जनसंख्याको उच्चतम लाभ लिन जरुरी छ। यद्यपि तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष भारत र चीनबाट अन्य देशमा विभिन्न प्रयोजनका लागि जाने जनसंख्या पनि ३० लाखभन्दा माथि नै छ।
भारतीय मूलका करिब २० जनाभन्दा बढीले पहिल्यै विभिन्न देशको सरकारप्रमुख भएर काम गरिसकेका छन् र केहीले आज पनि गरिरहेका छन्। भारतमा बेलायतले गरेको लामो शासन, भारतीयहरूको सयौं वर्षदेखिको माइग्रेसनको इतिहास र ठूलो जनसंख्याका कारण आज उनीहरू संसारमै वित्तीयदेखि राज्यकै नेतृत्व तहमा काम गरिरहेका छन्।
उनीहरू जस्तै हाम्रो इतिहास र अवस्था नभए पनि अबको एक–दुई पुस्ताबाट हाम्रा जनशक्तिले पनि क्रमशः ती स्थानहरू लिनेछन्। भारतले आज डायस्पोरालाई भारत निर्माणको र विश्वव्यापी प्रभाव विस्तारको मुख्य हतियारको रूपमा उपयोग गरिरहेको छ।
प्रत्येक वर्षको जनवरी ९ लाई प्रवासी भारतीय दिवसको रूपमा मनाउने गरेको छ भने भारतीय प्रवासी मामिला हेर्ने छुट्टै मन्त्रालय चलाएको थियो। यद्यपि २०१६ यता उक्त मन्त्रालयलाई विदेश मन्त्रालयमै मर्ज गरेर एउटै मन्त्रालयबाट नै डायस्पोरा मामिला हेरिरहेको छ।
केन्द्र सरकारले डायस्पोरा बन्ड मार्फत ठूला लगानीहरू आकर्षित गरिरहेको छ भने विभिन्न राज्यहरूले डायस्पोरा सेल नै बनाएर प्रवासी भारतीयहरूको लगानी भित्र्याइरहेका छन्। सन् २०२२ को तथ्यांक हेर्ने हो भने भारतले रेमिट्यान्सबाट मात्रै १०० बिलियन डलर भारत भित्र्याएको छ।
आर्थिक रूपमा मात्र नभई सफ्ट पावरको रूपमा चिनिने डायस्पोरालाई भारतले आफ्नो हितमा स्पष्ट नीतिका साथ सदुपयोग गरेको छ। नेपालले पनि अब यस्ता केही आकर्षक कार्यक्रमहरू मार्फत आफ्नो मातहत भएको सफ्ट पावरलाई उपयोग गर्न ढिलाइ गर्नुहुँदैन।
भारतको मात्र हैन अझै रोचक कुरा त दुनियाँभरिको ‘सपनाको देश’ भनेर चिनिने संयुक्त राज्य अमेरिकाबाट प्रत्येक वर्ष करिब १० लाख मान्छेहरू विभिन्न कुराको खोजीमा अन्य मुलुकतिर बसाइँ सरिरहेका छन्। गरिबी, बेरोजगारी, अवसरको कमिले मात्र हैन, कैयौं देशका आन्तरिक नीति, वातावरण-परिवेश, सामाजिक सुरक्षा आदि कारणले पनि मान्छे आज अन्यत्र बसाइँ सरिरहेका छन्।
माइग्रेसनको ‘ग्ल्यामर’ हामीकहाँ मात्र हैन, विश्वशक्ति राष्ट्रहरूमा पनि सवार छ। भलै हाम्रो अधिकांशको निम्ति ‘माइग्रेसन’ ‘ग्ल्यामर’ नभई बाध्यता छ।
कुनै पनि देशको कुल जनसंख्याको ४० प्रतिशतभन्दा माथि जनसंख्या युवाको छ भने त्यसलाई गोल्डेन इरा भनिन्छ। हो हामी त्यही समयमा छौं तर हामीले ल्याएको व्यवस्थाले यसको उचित सदुपयोग गर्न सकिरहेको छैन।
तथ्यांक विभागले प्रत्येक १० वर्षमा लिने जनगणनामा भएको यो युवाको ठूलो जनशक्ति, उसको सीप, लगानी र आर्जन गरेको ज्ञानलाई देश भित्र्याउन यो ‘जनताको व्यवस्था’ले ठोस योजना बनाउनैपर्छ। सबै मान्छेलाई देशभित्रै कैद गरेर राख्ने कोरा कल्पनाको भावावेश युक्त आधीहुरी ल्याउन त आवश्यक छैन तर जब हाम्रो मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड नै रेमिट्यान्स छ भने कस्ता मान्छेलाई के कस्तो सीप सहित पठाउने भन्ने बारेमा राज्यले ठोस कार्यक्रम ल्याउन आवश्यक छ।
विना सीपको भन्दा पनि हाम्रो श्रम गन्तव्यको रूपमा रहेका मुलुकहरूको श्रम बजारको आवश्यकता अनुरूपको जनशक्ति तयार गरी सीपयुक्त र जोखिममुक्त काममा हाम्रो जनशक्ति पठाउन सके यो नकारात्मकताभित्रको पनि सकारात्मकता हुन सक्छ।
मैले काम गरिरहेको क्यानडा र विशेषत: उत्तर अमेरिकी मुलुकहरूमा इन्जिनियरको भन्दा प्लम्बर, इलेक्ट्रिसियन, मेसिन अपरेटरको पारिश्रमिक बढी छ। यो खाले जनशक्ति तयार गर्न उति गाह्रो र ठूलो समय वा लगानी पर्दैन। अदक्ष र जोखिमयुक्त काममा श्रमिक पठाउन निरुत्साहित गर्दै दक्ष जनशक्ति पठाउन त कम्तीमा राज्यले पहल गर्न सक्छ। तर यसरी जनशक्ति तयार पार्दा कम्तीमा अन्तर्राष्ट्रियस्तरको सीप, काम गर्ने ठाउँमा पालना गरिने सेफ्टी र सुरक्षा सम्बन्धी कोर्षहरू, आधारभूत भाषाको ज्ञान र कतिपय लाइसेन्सिङ प्रक्रियामा सक्षम बनाएर पठाउने हो भने यसले बाह्य रोजगारी र यसबाट व्यक्ति, परिवर एवं देशलाई प्राप्त हुने आर्थिक लाभमा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ।
देशमै बस्छु भन्ने मान्छेलाई न्यूनतम वातावरण बनाउनु राज्यको दायित्व नै हो सँगै बाहिर छरिएर रहेका आफ्ना सबै नागरिकलाई दुत्कार्ने र अपमान गर्ने भन्दा पनि सम्मानपूर्ण व्यवहार गर्ने, तदनुरूपको नीति कार्यक्रम बनाउने र दह्रो कार्यान्वयन गर्ने हो भने आधारभूत पूँजी निर्माण गर्न यो एउटा टर्निङ पोइन्ट बन्न सक्छ।
आज युद्धले ग्रस्त मुलुकहरू रूस, युक्रेन, इजरायलमा समेत मान्छे जान लालायित हुनु राज्यको निम्ति निकै डरलाग्दो चित्र हो। सरकारले यस्ता देशमा जान वर्जित गरेको मिडियाबाट समाचार आउँछ तर यसरी जाने क्रम अझै जारी छ। कति देशमा भिजिटमा जान अतिरिक्त पैसा घुस ख्वाएर जानुपर्ने परिदृश्यकै बीचमा युद्धग्रस्त मुलुकहरूमै मान्छे पुगिरहनु साँच्चै नै राज्यको असफलता र गैरजिम्मेवारीपन हो।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4