२३ भदौ, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ को रामनगरविर्ता र ५ को सितापुर बीचमा रहेको बडहडी खोलामा सात वर्ष अघि बनेको पुल अझै प्रयोगमा आउन सकेको छैन ।
तत्कालीन जिल्ला विकास समिति (जिबिस) महोत्तरीबाट २०७४ सालमा निर्माण सम्पन्न भएको यो पुलको पूर्वतर्फ सडक नहुँदा प्रयोगमा आउन नसकेको हो । पुल अलपत्र हुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ ।
‘बनेको सात वर्ष भयो । तर सञ्चालनमा आएन । पुल बने पनि हामीलाई दुःख उस्तै छ,’ स्थानीय समिर मन्सुर गुनासो गर्छन् । महोत्तरीको गौशालादेखि धनुषाको सिक्सलेन सखुवा महेन्द्रनगरमा जोडिने यो सडकमा बनेको पुलको पूर्वतिर सडक नै छैन । सडक अलि उत्तरपट्टि छ ।
वडा नम्बर ५ का बासिन्दा शनिचर सदा पुल एकातिर सडक अर्कोतिर हुँदा आवत–जावत गर्न कठिन भएको बताउँछन् । सदा भन्छन्, ‘हेर्नुस् यहाँ बाटो छ, पुल उता छ । पुलमाथि चढ्ने बाटो नै छैन । कसरी त्यसमा आबत जावत गर्ने ?’
यो पुल जिल्ला विकास समिति (जिविस) महोत्तरीबाट २०७४ मा बनेको थियो । २९ असार २०७१ मा ठेक्का सम्झौता गरेर इलिट कन्सट्रक्सन, काठमाडौंले २ करोड ६२ लाख ४३ हजार १६ रुपैयाँ ५२ पैसामा ५० मिटर लामो पुल बनाएको हो ।
पूर्वाधार विकास कार्यालय महोत्तरीका इन्जिनियर विरेन्द्र साहका अनुसार सुरुमा २ करोड ४२ लाख ५९ हजार १३३ रुपैयाँ ८० पैसामा २८ असोज २०७२ मै पुल निर्माण गरिसक्ने सम्झौता कम्पनीसँग भएको थियो । तर उसले चार वर्ष लगाएर आर्थिक वर्ष २०७४÷७५ मा पुल निर्माण सम्पन्न गर्यो । भेरियसन मार्फत ठेकेदार कम्पनीलाई थप २० लाख रुपैयाँ दिनुपर्ने भयो । हालसम्म निर्माण कम्पनीले २ करोड २४ लाख भुक्तानी पनि पाइसकेको इन्जिनियर साहले बताए ।
निर्माण कम्पनीका प्रतिनिधि दिपेन्द्र झाका अनुसार २०७४ को जेठमा पुल निर्माण सम्पन्न भएको थियो । सञ्चालनको तयारीमा रहेकै बेला त्यसै वर्ष आएको ठूलो बाढीले पुलको पूर्वतर्फको विङ्गल बगायो । सरकारले बजेट नछुट्याउँदा मर्मत अभावमा पुल सञ्चालनमा नआएको उनको भनाइ छ ।
‘पुल सञ्चालनको तयारी थियो । तर ठूलो बाढी आउँदा पूर्वतर्फको विङ्गल नै बगाइदियो । संघीयतापछि जिविस पनि विघटन भयो । सरकारले बजेट छुट्याएन । जसको कारण मर्मत गरेर पुल सञ्चालन हुन सकेन । हाम्रो भुक्तानी पनि बाँकी रह्यो’ उनले भने ।
अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा भौतिक पूर्वाधार कार्यालय जनकपुरबाट छुट्याएर महोत्तरीमा छुट्टै स्थापना गरिएको छ । अब फाइल पूर्वाधार कार्यालय महोत्तरीमा लगिएको छ ।
निर्माण व्यवसायी झाले जिविसले उपलब्ध गराएको डिपीआर अनुसार नै पुल निर्माण गरेको तर्क गरे । ‘बाटो अनुसार नै बन्नुपर्छ भन्ने छैन । हल्का बाङ्गो भएर पनि पुल निर्माण गर्न सकिन्छ । डिपीआर अनुसार पुल निर्माण गरेका हौं,’ उनले भने, ‘बाढीले पूर्वतर्फको विङ्गल बगाउँदा सञ्चालनमा आएन । नत्र पुल सञ्चालनमा हुन्थ्यो ।’
पुलको पचास मिटर पूर्व भंगहा नगरपालिका कार्यालय छ । तर नगरपालिकाले पनि मर्मत गरेको छैन । अन्य निकायले बनाएको पुल भएका कारण नगरपालिकाले मर्मतका लागि लगानी नगरेको भंगहाका मेयर सञ्जिवकुमार साहको तर्क छ । पुल सञ्चालनका लागि प्रदेश सरकारमा पटकपटक गएर मर्मत गरी सञ्चालनमा ल्याउन पहल भने गरेको उनी बताउँछन् ।
‘पुल जिविसले बनाएको छ । त्यसमा नगरपालिकाले लगानी गरेर सञ्चालनमा ल्यायो भने दोहोरो लगानीको कारण फँस्ने सम्भावना छ । अख्तियारमा उजुरी पर्यो भने हामीले झेल्नुपर्छ’ मेयर साहले भने, ‘प्रदेश मातहतमा यो योजना गइसकेकाले पटक–पटक भौतिक पूर्वाधार मन्त्रालयमा गएर मर्मत गरी सञ्चालनमा ल्याउन पहल गरेँ तर अहिलेसम्म काम भएन ।’
पूर्वाधार विकास कार्यालयका इन्जिनियर साहले चालु आर्थिक वर्षमा पुल मर्मतका लागि डेढ करोड रुपैयाँ विनियोजन गरिएको बताए । उनले भने, ‘त्यो पुल सञ्चालनमा ल्याउन यस वर्ष एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसपालि सञ्चालनमा आउन सक्ने सम्भावना छ ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4