काठमाडौं । अनमोल केसीको शीर्ष भूमिका हुने फिल्म ‘जेरी अनटप’को शीर्षमध्येको भूमिकामा अभिनेत्री सुरक्षा पन्तको पनि प्रवेश भएको छ । निर्माता सरोज न्यौपाने र उनीबीच लिखित सहमति भएको छ ।
यसअघि यो फिल्ममा आँचल शर्मा र जसिता गुरुङ पनि अनुबन्धित भइसकेका छन् । ‘फिल्ममा उहाँको महत्वपूर्ण भूमिका छ’ न्यौपानेले भने, ‘सरप्राइज तुल्याउने हिसाबले अन्य कलाकार पनि जोडिंदै हुनुहुन्छ ।’
आगामी सातादेखि छायांकन सुरु हुने फिल्ममा अनमोल केसीको शीर्ष भूमिका छ । लगातारको कास्टिङ हेर्दा फिल्म ‘मल्टिस्टारर’ हुने देखिन्छ । त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्मको छायांकन काठमाडौं र भारतको लद्दाखमा हुनेछ ।
यतिबेला फिल्मको कार्यशाला पनि चलिरहेको छ र अभिनेता केसी पात्र सुहाउँदो ज्यान बनाउँदैछन् । ‘फर्की फर्की’पछि अनमोल र जसिताको यो सहकार्य हुन लागेको हो । आँचल र सुरक्षाले पहिलोपटक अनमोलसँग फिल्ममा काम गर्न लागेका हुन् ।
निर्माता न्यौपानेले नेपाली फिल्ममा अहिलेसम्म नसुनिएको कथा र परिवेशमा फिल्म निर्माण हुन लागेको बताए । ‘फर्की फर्की’ फेम्ड सुयोग गुरुङले यो रोमान्टिक फिल्मलाई निर्देशन गर्दैछन् ।
फिल्मको कथा हेमराज बिसीको हो । फिल्मको पटकथामा चर्चित कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल पनि जोडिएका छन् ।
प्रतिक्रिया 4