+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सुनसरीमा बाढीले धान बालीमा बढी क्षति

रासस रासस
२०८१ असोज १५ गते १३:३२

१५ असोज, इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब रु ४० हजार खर्च गरेको थियो।

केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उनीसँगै जिल्लाका अधिकांश किसानका धान खेतीमा क्षति पुर्‍याएको समाजसेवी राजकिशोर मेहताले बताए । प्रतिबिघा रु ४० हजार लगानी गरेर खेती गर्नु आमकिसानका लागि समान्य कुरा नभएको उनको भनाइ छ ।

देवनारायणले खेतीमा लगानी गर्दा चिन्ता लिएका थिए। थिएन् तर अहिले बाढीबाट क्षति भएपछि वर्षभरि के खाने भन्ने चिन्तामा उनी हुन्छ। उनले करिब दुई बिघामा धानखेती गर्नुभएको थियो । देवनारायणले खेतीको बिमा नगरेकाले पनि थप चिन्ता थपेको समाजसेवी मेहताले बताए ।

देवनारायणले घुटराज जातको धान लगाउनुभएको थियो । पाकेर भित्र्याउने बेला आएको पानीले खेतीसँगै किसानको लाखौँको लगानीमा क्षति भएको स्थानीय किसान रामवृक्ष मेहताले उल्लेख गरे । भोक्राहा नरसिंहसहित जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएका उनले बताए ।

भोक्राहा नरसिंह गाउँपालिकामा मात्र घुटराज धान रोपाइँ गर्नेमा देवनारायणसहित जमाहर मेहता, श्यामदेव मेहता, जोगिन्दर मेहतालगायत छन् । यहाँ करिब ४० बिघा जमिनमा यो धान रोपाइँ भएको स्थानीय जमाहर मेहताले जानकारी दिए । लगातारको वर्षाले धान खेतमा खसेको र पानी नसुकेपछि खेतमै उम्रिने उनले बताए ।

किसानले वार्षिक रुपमा मजदुकारको अभावका साथै आर्थिक सङ्कट, मल तथा बिउ अभावका बीच पनि खेती गर्दै आएका जमाहरले बताए । ‘सिँचाइका लागि पानी आवश्यक भएका बेला नपर्ने, अहिले धान काटेर भित्राउने बेला परेको पानीले खेती सबै नष्ट गरेको छ’, उनले भने ।

यसैबीच लगातार वर्षासँगै आएको बाढीबाट विस्थापित भएकाहरु घर फर्किन थालेका छन्। जिल्लाको विभिन्न स्थानीय तहमा बाढीबाट विस्थापित भई सार्वजनिक स्थानमा बसेकाहरु फर्किन थालेका सशस्त्र प्रहरी बल ४ नं गण सुनसरीका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले राससलाई जानकारी दिए ।

कोशी–४ मा बाढीबाट डुबानमा परेका ४० परिवार घर फर्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । हरिनगर गाउँपालिकामा केही बाढीपीडित अहिले पनि सार्वजनिक स्थानमा रहेको भन्दै पालिकाले अस्थायी बासस्थान र खानाको व्यवस्थापन मिलाएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।

सुनसरी खोला र मरिया खोलाको बाढीले गाउँपालिकाका कतिपय स्थान आंशिक डुबानमा परेका भन्दै वडा नं २ र ४ का पीडित घर फर्किन थालेका छन्भने वडा नं ५ र ७ का पीडित अहिले पनि सार्वजनिक स्थानमा बसिरहेका उनले जानकारी दिए ।

बाढीले गाउँपालिकाको करिब एक सय बिघामा पाकेको धानखेती तथा एक सय बिघा तरकारी खेतीमा क्षति गर्नुका साथै दुई किलोमिटर सडक कालोपत्र भत्काएको अध्यक्ष अन्सारीले जानकारी दिए ।

खेती गर्ने बेलामा मजदुर, मल, पानी अभाव भए पनि गरिएको तरकारी, धान र सनपाटको खेती भित्र्याउने बेलामा आएको बाढीले नष्ट गरिदिएको किसान चन्दन मेहताले बताए ।  दसैँ नजिकिएसँगै बिक्रीका लागि तयार पारिएको कोपी, वैगुन, परबल, भिण्डी, करेला, लौका, फर्सी, घिरौँला, काक्रालगायत तरकारी बालीमा बाढीले क्षति पुर्‍याएको उनको भनाइ छ ।

बाढीले विभिन्न ठाउँमा भत्काएको सडकको सम्बन्धित स्थानीय तहले मर्मतसम्भार गर्न सुरु गरिसकेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीबाट जिल्लामा भएको क्षतिको यकिन विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?