+

स्तनमा आउने ‘फाइब्रोसिस्टिक सिस्ट’ क्यान्सर हुँदैन

२०८१ असोज  १५ गते १६:४१ २०८१ असोज १५ गते १६:४१
स्तनमा आउने ‘फाइब्रोसिस्टिक सिस्ट’ क्यान्सर हुँदैन

स्तन वरपर छाम्दा गाँठागुठी देखियो भने चिकित्सकलाई देखाउनुपर्छ । किनकि महिलामा देखिने यस्ता गाँठागुठीले कहिलेकाहीं क्यान्सरको रुप लिन सक्छ ।

तर गाँठागुठी छ भन्दैमा डराउनु भने पर्दैन । किनकि स्तनमा देखिने ८० प्रतिशत गाँठागुठी क्यान्सररहित हुन्छ । यी क्यान्सररहित गाँठागुठीलाई चिकित्सकीय भाषामा ‘फाइब्रोसिस्टिक ब्रेस्ट सिस्ट’ भनिन्छ ।

के हो फाइब्रोसिस्टिक ब्रेस्ट सिस्ट ?

स्तनको दुवै भाग वा एकपट्टि देखिने स-साना गाँठागुठीलाई फाइब्रोसिस्टिक सिस्ट भनिन्छ । यी गाँठाहरु हानिकारक हुँदैनन् । तर पनि छुँदा दुख्न सक्ने हुँदा महिला तथा किशोरीहरूमा तनावको स्थिति हुनसक्छ । यस्तो गाँठो आएमा चुप लागेर परीक्षण नगराई बस्नु भने हुँदैन । चिकित्सकले परीक्षण नगरी कस्तो खालको गाँठो हो भनेर पत्ता लाग्दैन ।

किन देखिन्छ यस्तो समस्या ?

यो समस्या देखा पर्छ भन्ने ठोस कारण पत्ता लागेको छैन । विशेषगरी एस्ट्रोजेनको स्वरुपमा हुने गडबडले यो समस्या गराएको हुनसक्ने विज्ञहरूको अनुमान छ । वयस्क महिलामा मात्र नभई किशोरीहरुमा पनि तनाव, हर्मोनको गडबडी र जीवनशैलीका कारण स्तनको वरपर प्रायः गिर्खा देखिइरहेको हुनसक्छ ।

जुन महिनावारी हुँदा आकारप्रकार अलि बढ्ने र सकिएपछि घट्ने हुन्छ । यस्ता गिर्खामा क्यान्सर हुँदैन । यो समस्या भइसकेपछि मदिरापान र क्याफिनको सेवनले भने गाँठोको आकारमा परिवर्तन गराउन बढावा दिन्छ ।

के यो स्तनसम्बन्धी रोग भन्न सकिन्छ ?

पक्कै होइन, यो अवस्थालाई विगतका दिनमा फाइब्रोसिस्टिक ब्रेस्ट डिजिज भनिन्थ्यो । तर अहिलेको अवस्थामा भने स्वास्थ्यकर्मीले यसलाई रोग मान्दैनन् । किनकि फाइब्रोसिस्टिक ब्रेस्ट हुनु सामान्य हो, यसले कुनै ठूलो हानि गर्दैन । यो धेरैमा देखा पर्ने समस्या हो ।

कसले अनुभव गर्न सक्छन् ?

२० देखि ५० वर्ष उमेर समूहका ५० प्रतिशत महिलाले यो समस्या अनुभव गर्न सक्छन् । रजोनिवृति भएका महिलामा यो समस्या न्यून मात्रामा देखिन्छ । कहिलेकाहीं स्तनपान नगराउँदा, महिनावारी अनियमित हुँदा स्तनमा सिस्ट (पानीको फोका) देखिन सक्छ । यो चलाउँदा हल्लिने र नरम खालको हुन्छ ।

स्तनलाई कसरी प्रभाव पार्छ, कस्तो देखिन्छ लक्षण ?

यो समस्या भएमा सुरुमा एक वा दुवै स्तनमा गाँठागुठी देखिन सक्छ । जुन छाम्दा हल्का सुन्निएको र दुखेको अनुभव हुन्छ । सो गाँठो गोलो वा अण्डाकार आकारको हुन्छ । गाँठो सार्दा वरपर सर्ने खालको हुन्छ । महिनावारीमा हुने हर्मोन असन्तुलनको यसै पनि सामान्य अवस्थामा पनि स्तनमा गाँठो देखिने र दुख्ने गर्छ ।

यस्तोमा पहिलेदेखि नै गाँठो भएमा महिनावारी हुनुअघि नै थप दुखाई हुनसक्छ । किनकि यो समयमा सिस्ट बढेर स्तनको तन्तुमा दबाब दिन्छ । अरुबेलामा छाम्दा दुख्न सक्छ । कहिलेकाहीं काखीमुनि पनि दुखेको अनुभव हुनसक्छ । यी लक्षण ३० वर्षको उमेर पछि थप जटिल बन्ने र ३५ वर्ष पछि सामान्य हुँदै आउन सक्छ । तर दुई इन्चभन्दा ठूलो भएमा भने शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।

पहिचान

आफ्नो स्तन आफैं जाँच्ने

१८ वर्ष उमेरभन्दा माथिका महिलाले प्रत्येक महिना महिनावारी भएको पाँचदेखि सात दिनमा आफ्नो स्तन आफैं जाँच गर्नुपर्छ । महिनावारी सुकिसकेका महिलाले प्रत्येक महिनाको एउटै दिनमा आफ्नो स्तन जाँच गर्नुपर्छ ।

स्तनको आकार तथा प्रकारमा हुने परिवर्तनका बारेमा सुरूको अवस्थामा थाहा पाउनुपर्छ । केही परिवर्तन भेटिएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।

मेडिकल परीक्षण

यदि आफैं परीक्षण गर्दा गाँठोको अनुभव भएमा चिकित्सकको परामर्शपछि अल्ट्रासाउन्ड गर्न सकिन्छ । अल्ट्रासाउन्डबाट नै सिस्टको आकारप्रकारको अवलोकन गरी क्यान्सर हो वा फाइब्रोस्टिक सिस्ट हो भन्ने कुरा पत्ता लाग्छ ।

शंकास्पद लागे चिकित्सकले बायोप्सी वा एफएनएसी गर्न सुझाउँछन् । सिस्ट देखा परेमा ६-६ महिनामा स्तनको परीक्षण गराउनुपर्छ । आकारमा फेरबदल भए सो अनुसारको सावधानी अपनाउन सकिन्छ ।

उपचार

फाइब्रोसिस्टिक सिस्ट भएको पत्ता लागेमा यसमा उपचारको आवश्यकता पर्दैन । तर आफूलाई असहज भयो र दुखाइ बढिरहेको छ भने त्यसका लागि सामान्य उपचार र जीवनशैलीमा परिवर्तन गरेमा लक्षण कम गर्न सकिन्छ ।

यदि फाइब्रोसिस्टिक सिस्ट एकदमै सानो छ भने प्राथमिक उपचार र खानपानमा ध्यान दिएर नियन्त्रण गर्न सकिन्छ ।

त्यसका लागि अत्यधिक दुखाइ भएमा दुखाइ निवारक औषधि खाने, सहज खालको ब्रा लगाउने, सहन सक्ने तातो वा चिसो पस्तुले सेक्न सकिन्छ । त्यस्तै, अत्यधिक मात्रामा नुन, क्याफिनयुक्त खानेकुरा कम गर्नुपर्छ । केही अध्ययनले फ्ल्याक्स सिड खाने वा साँझमा तेलले मसाज गर्ने र भिटामिन ई सप्लिमेन्टले पनि सिस्टको लक्षण रोक्न मद्दत गर्ने देखाउँछ ।

यदि सिस्ट दुई इन्चभन्दा बढी छ भने चिकित्सकले फाइन निडल एसपिरेसन (एफएनएसी) गरी सिस्टमा भएको तरलपदार्थ सुकाउन सकिन्छ । अत्यधिक ठूलो र सहन नसक्ने खालको डल्लाडुल्लीलाई शल्यक्रिया गरी निकाल्न सकिन्छ ।

डा. मनिष थापा फाइब्रोसिस्टिक सिस्ट

धेरै कमेन्ट गरिएका

डा. मनिष थापा
लेखक
डा. मनिष थापा
इन्टरभेन्सनल रेडियोलोजिस्ट

डा. थापा हाल काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित  नीता पोलिक्लिनिक, बुढानीलकण्ठस्थित करुणा अस्पताल, ललितपुर जवालाखेलस्थित क्लिनिक वानमा कार्यरत छन् । उनले रेडियोडाइग्नोसिसमा एमडी र भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीमा फेलोसिप गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६७९२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय