+

दशैंमा ताजा मासु कसरी जाँच्ने ?

२०८१ असोज  २३ गते १३:२१ २०८१ असोज २३ गते १३:२१
दशैंमा ताजा मासु कसरी जाँच्ने ?

नेपालका धेरै मासु पसल वैज्ञानिक तवरले निर्माण र सञ्चालन भएका छैनन् । त्यहाँ हुने लापरवाहीको कारण उपभोक्तामा ब्याक्टेरियल संक्रमण हुने,  जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा विभिन्न खालका रोग सर्ने जोखिम हुन्छ । त्यसैले मासु किन्दा केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

मासु किन्दा बिग्रिएको मासु परेको खण्डमा मासुबाट पौष्टिकताको सट्टा रोग प्राप्त हुने खतरालाई सबैले मनन गर्नुपर्छ । त्यसैले उपभोक्ताले स्वस्थ मासुका लागि यी कुराका ज्ञान राख्नुपर्छ ।

रङ : ताजा मासु गाढा प्राकृतिक रङको हुनुपर्छ । उदाहरणका लागि राँगा वा खसीको मासु, सुँगुरको मासु र कुखुराको मासु क्रमशः सामान्यतया गाढा रातो, गुलाबी र सेतो रङको हुन्छन् । यद्यपि मासुको रङ रातोको साटो हल्का बैजनी भएमा, अक्सिजनको सम्पर्कमा आएको भन्ने बुझिन्छ । तर यो खतरनाक वा हानिकारक भने हुँदैन ।

गन्ध : यो मासुको ताजापन जाँच गर्ने सबैभन्दा सजिलो तरिका मानिन्छ । ताजा मासुमा कुनै पनि प्रकारको गन्ध हुँदैन । विशेषगरी अनौठो प्रकारको गन्ध त झनै हुँदैन । अनौठो गन्धमा प्रायजसो अमिलो, ब्लिच, अमोनिया वा माछाको जस्तो गन्ध हुनसक्छ ।

स्पर्श : स्पर्श गरेर पनि मासुको गुणस्तर थाहा पाउन सकिन्छ । ताजा मासु छुँदा कडा हुन्छ । मासु ताजा छ कि छैन भनेर औंलाले मासुलाई बिस्तारै थिच्नुपर्छ । यदि मासु ताजा छ भने एकैछिनपछि मासु पुरानै आकारमा फर्किन्छ, मासुमा औंलाको डाम बस्दैन । ताजा मासु होइन भने यसमा औंलाको छाप बस्छ । यदि मासु छुँदा चिप्लो महसुस हुन्छ भने मासु कुहिएको संकेत हो ।

अत्यधिक ‘ड्रप लसको’ जाँच : ड्रप लस भनेको भण्डारण र ह्यान्डलिङको क्रममा गुरुत्वाकर्षणको कारण मासुबाट निस्किएको तरल पादर्थलाई बुझाउँछ । यदि मासुको ड्रप लस अत्यधिक छ भने मासु ताजा छैन भन्ने कुराको संकेत गर्छ ।

माछाको ताजापन जाँच गर्ने तरिका  

आँखा हेरेर : ताजा माछाको आँखा सफा, चम्किलो र हल्का बाहिर निस्किएको हुन्छ । बासी माछाको आँखा धमिलो र भित्र गाडिएको हुन्छ ।

गिल्स : ताजा माछाको गिल्स गाढा रातो वा गुलाबी रङको हुन्छ । साथै चिप्लो पदार्थ रहित हुन्छ । यदि गिल्सको रङ फुस्रो वा खैरो छ भने त्यो माछा पुरानो भएको संकेत हो ।

गन्ध : ताजा माछामा हल्का समुद्र वा पोखरीको सुगन्ध हुन्छ । माछाबाट एकदमै गन्ध आएको खण्डमा भने यसले बासी भएको संकेत गर्छ ।

भेन्ट : माछाको भेन्ट बाहिर निस्किएको हुनु हुँदैन । यसले पनि माछा पुरानो भएको संकेत गर्छ ।

मासु जाँच : ताजा माछाको पनि मासु कडा हुन्छ । यसको मासु हुँदा औंलाको छाप त्यसमा बस्नु हुँदैन । यसले पनि माछा बासी भएको संकेत गर्छ ।

(राई धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसकी शिक्षण सहायक हुन् । उनले खाद्य प्रविधिमा स्नातकोत्तर गरेकी छन् ।)

दशैं खानपान मासु जाँच सांगेन रुमा राई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय