काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इन्डियन चेम्बर अफ कमर्स एसआईसीसीआई बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ ।
चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र एसआईसीसीआई बीच नेपालको जलविद्युत्, पर्यटन, खनिज लगायत अन्य प्राकृतिक स्रोतहरूमा लगानीका लागि समझदारी भएको छ ।
सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसँग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराए ।
नेपालमा जलविद्युत्, पर्यटन, खानी एवम् प्राकृतिक अन्य स्रोतहरूमा लगानीका लागि सिंगापुरका लगानीकर्ताहरू समक्ष उनले आग्रह गरे ।
नेपालमा हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालले प्रतिबद्धता जनाए ।
नेपालमा राजनीतिक स्थिरता, कानुनी पाटोमा सुधार हुँदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको बारे उनले लगानीकर्तालाई जानकारी गराए ।
पर्यटकीय दृष्टिकोणले समेत नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्दै गएको भन्दै उनले व्यापारिक साझेदारी मार्फत आर्थिक फाइदा लिन सक्नुपर्नेमा जोड दिए ।
नेपाल भ्रमणका लागि समेत उनले एसआईसीसीआईका पदाधिकारीलाई आग्रह गरे ।
प्रतिक्रिया 4