६ कात्तिक, काठमाडौं । बहराइनको मानमामा हुने आईएसएफ जिम्नासाइड समर गेम्समा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को आयोजनामा अक्टोबर २३ देखि ३१ तारिखसम्म हुने २० औं संस्करणको आईएसएफ जिम्नासाइडमा पारासहित २६ खेल समावेश छ ।
आईएसएफ जिम्नासाइडमा सहभागी हुन ३२ खेलाडीसहित ५८ सदस्यीय नेपाली टोली बुधबार बहराइन प्रस्थान गर्दै छ । टोलीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, ब्राइट फ्युचर माविका संस्थापक प्रिन्सिपल दयाराम थापालगायतले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका आईएसएफका कार्यकारी सदस्य राजकुमार कार्की भने आईएसएफको वार्षिक साधारण सभा र बैठकमा भाग लिन तथा विभिन्न तयारीका लागि बहराइन पुगिसकेका छन् ।
बास्केटबलको पुरुष थ्री बाइ थ्रीमा नेपालबाट ४ टिम सहभागी हुने छ । खेलाडीमा प्रणयमान श्रेष्ठ, प्रणय बासी, प्रथम श्रेष्ठ, समराज श्रेष्ठ, अदम्य महर्जन, आसिप महर्जन, दावा छिरिङ लामा तामाङ, लक्की महर्जन, कृषन लाखे श्रेष्ठ, आशिषकुमार थापा मगर, सशान्त कार्की, आदर्श बस्नेत, अश्विन चालिसे, सागर परियार र कृष लामा रहेका छन् । प्रशिक्षकमा सदीश प्रधान, विशाल महर्जन, प्रेमसुन्दर होना र शरद् दर्शनधारी तथा अफिसियलमा नवीन न्यौपाने छन् ।
बक्सिङको पुरुष ७५ केजीमा नोर्बु थेन्डुप शेर्पा, ४६ केजीमा रोहित जनाला, ८० केजीमा सूर्यान वैद्य, ६३ केजीमा युनिक राई र महिला ५४ केजीमा स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा दीपक महर्जन, निर्णायकमा अनिलप्रसाद दाहाल र अफिसियलमा तीर्थबहादुर वैद्य रहेका छन् ।
टेबलटेनिसको पुरुषमा जेविश बुर्लाकोटी र आशिष महता तथा महिलामा वियंका राई, इभाना थापा, माल्सा नेपाल र विद्विशा मैनालीले खेल्ने छन् । उनीहरुले सिंगल्स र टिम इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल श्रेष्ठ तथा अफिसियलमा सुवास न्यौपाने, विष्णुप्रसाद पराजुली र सुशिला मल्ल ठकुरी रहेका छन् ।
तेक्वान्दोको पुरुष ६८ केजीमुनि उज्ज्वल वाग्ले र अविन श्रेष्ठ, ४८ केजीमुनि राजन तामाङ, एकल पुम्सेमा लवाङ लामा तथा महिला ४५ केजीमुनि निविता केसी सहभागी हुने छन् । प्रशिक्षकमा सुवास तामाङ र राधाबहादुर तामाङ तथा अफिसियलमा राजकुमार लामा र प्रकाश साउद रहेका छन् ।
ब्याडमिन्टनको पुरुष सिंगल्समा कविर केसीले प्रतिस्पर्धा गर्नेछन् । तिलक पाण्डे प्रशिक्षकको भूमिकामा रहने छन् ।
टोली प्रमुखमा नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष मोहनकुमार कार्की, टिम व्यवस्थापकमा सोविनराज रेग्मी तथा अफिसियलमा नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, माधव सापकोटा, चन्दा कार्की, निश्चित कार्की र पशुपति अधिकारी छन् ।
यू-२० उमेरसमूहको आईएसएफ जिम्नासाइड १९७४ मा पहिलोपटक जर्मनीमा भएको थियो । बहराइनमा हुन लागेको २० औं संस्करणमा पारासहित २६ खेल समावेश छन् । प्रत्येक २ वर्षको अन्तरमा हुने आईएसएफ जिम्नासाइडको १९ औं संस्करणमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो । त्यसबेला नेपालले पौडी, टेबलटेनिस, तेक्वान्दो र बास्केटबलमा भाग लिएको थियो । बहराइन जिम्नासाइडमा ६९ राष्ट्रबाट २ हजार १७२ पुरुष तथा १ हजार ५४२ गरी कुल ३ हजार ७१४ खेलाडीको सहभागिता रहने छ ।
 
                    










 २०८१ कात्तिक  ६ गते २१:४१
                        २०८१ कात्तिक  ६ गते २१:४१                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4