काठमाडौं। नामिबियाका कप्तान जेरार्ड एरासमसले काठमाडौं गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
काठमाडौंले शुक्रबार दोसो विदेशी खेलाडीको रुपमा नामिबियाका कप्तान तथा अलराउण्डरलाई अनुबन्ध गरेको जनाएको छ ।
एरासमस एसोसियट राष्ट्रका उत्कृष्ट क्रिकेटर हुन् । उनी सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एसोसिएट प्लेयर अफ द इयर घोषित भएका थिए ।
एरासमसले नामिबियाका लागि ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ टी२० आई खेल खेलेका छन् ।
‘जेरार्ड एरासमस एसोसिएट क्रिकेट क्षेत्रका एक उत्कृष्ट खेलाडी हुन् । साथै उनी आफ्नो टोलीका सच्चा लिडर पनि हुन् । उनको आगमनले काठमान्डु गुर्खाजको ब्याटिङ, बलिङका साथै नेतृत्व टोलीलाई पनि ठुलो टेवा पुग्ने छ, हामी उनको आगमनको प्रतिक्षामा छौं,’ काठमान्डु गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले भने ।
एराससमस काठमाडौं आएर गुर्खाजबाट एनपीएल खेल्न निकै उत्सुक रहेको जनाए । ‘गुर्खाज परिवारको एउटा सदस्य हुन पाउँदा म आफुलाई अत्यन्तै गौरान्वित महसुस गरिरहेको छु । आफ्नो साहस र बलको लागि परिचित राष्ट्र नेपालमा एउटा आइकोनिक टोलीको प्रतिनिधित्व गर्न पाउदा मलाई गर्व छ,’ उनले भने, ‘हामी त्यहि निडर भावनालाई क्रिकेट मैदानमा ल्याउन र स्मरणीय बनाउन लागि तयार छौं ।’
एरासमस काठमाडौंले अनुबन्ध गरेको दोस्रो विदेशी खेलाडी हो । यसअघि काठमाडौंले नेदरल्यान्डस्का माईकल लेभिटलाई अनुबन्ध गरिसकेको छ ।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजको मार्की खेलाडीमा करण केसी रहेका छन् भने बसन्त शाही मुख्य प्रशिक्षकमा छन् । गुर्खाजको अन्य खेलाडीमा शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठ छन् ।
प्रतिक्रिया 4