काठमाडौं । नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ । नेपालसँगै दक्षिण भारतीय दर्शकले यो फिल्म हेर्न पाउने भएका छन् ।
दुवै छिमेकी मुलुकका चर्चित कलाकारले अभिनय गरेको यो फिल्ममा परिवार र सम्बन्धको कथावस्तु समेटिएको छ । एउटै भाग्य र नक्षत्र भएका जोडीले प्रेमका लागि गर्ने संघर्षको कथा वरपर फिल्मले फन्को मारेको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘कास्ट एण्ड क्रू’ले फिल्मबारे चर्चा गरे । एक्सन कोरियोग्राफरको रुपमा चर्चित चन्द्र पन्तको यो डेब्यु निर्देशकीय फिल्म हो । ‘यो फेमिली र लभस्टोरी ड्रामा हो । अहिलेसम्म नसुनिएको नदेखिएको कथा हो’ पन्तले भने, ‘यसमा धर्मसँग सम्बन्धित कुरा पनि छन् । तर यो धार्मिक फिल्म होइन । यसमा संवेदना र सम्बन्धको कथा छ ।’
उनले फिल्ममा नीता र हरिहरको अभिनयको प्रशंसा गरे । ‘मैले उनीहरुलाई लाउड एक्टिङ गर्न अनुमति दिएको छैन । उनले जस्तो अभिनय गरेका छन्, पर्फेक्ट्ली गरेका छन्’ उनले भने ।
अभिनेत्री ढुंगानाले एकैपटक अभिनय र निर्मात्री बन्दाको अनुभव बाँडिन् । ‘प्रोड्युसर मात्र बनेको भए पनि हुने रहेछ । दुई-तीनतिरको दबाब झेल्न निकै गाह्रो हुने रहेछ’ नीताले भनिन्, ‘क्यामेरा पछाडिको तनाव अर्कै छ, फेरि क्यामेराअघि शतप्रतिशत अभिनय दिनुपर्यो । त्यो चीज गाह्रो हुने रहेछ, मलाई पनि कठिन भयो ।’
आफ्नो अगुवाइमा नेपाली र भारतीय निर्माताको सहकार्यमा ६-७ करोड रुपैयाँको फिल्म बनाएको कुरा उनले गरिन् । ‘अहिले लगभग ६–७ करोडको फिल्म बनायौं होला । भोलि गएर ५० करोडको फिल्म बनायौं भनेपनि त्यो किसिमको आँट चाहिं बटुलेकी छु । फिल्मको म्यानेज गर्न सक्छु भन्ने छ’ उनले भनिन् ।
अभिनेत्री विपना थापाले यस फिल्मबाट पुनरागमन गर्नुको कारण खोलिन् । नेपाली कलाकारलाई विदेशमा समेत चिन्न सकून् भन्ने उद्देश्यले आफूले यो फिल्ममा खेल्ने निर्णय गरेको उनले सुनाइन् । ‘सानैदेखि हलिउड र बलिउड कलाकारलाई चिनिन्थ्यो । हाम्रा नेपाली कलाकारलाई पनि ती ठाउँका कालकारले चिनोस् न भन्ने सानैदेखिको मेरो सपना थियो । यो फिल्म माध्यम बन्ला जस्तो लाग्यो, त्यो सुनेर गर्ने निर्णय गरें’ उनले भनिन् ।
फिल्ममा आफूले हरिहरकी आमाको भूमिका निर्वाह गरेको उनले बताइन् । ‘ज्वाइँ साब (हरिहर) यसमा छोराको भूमिकामा हुनुहुन्छ । यसमा मेरो बलियो क्यारेक्टर छ’ उनले भनिन् ।
‘शुभलभ’ डेब्यु अभिनेता हरिहर अधिकारीले यो फिल्म धार्मिक कथावस्तुमा आधारित नरहेको बताए । उनले यसको कथा लेख्नुअघि आफ्नो पेशाले पनि भूमिका खेलेको चर्चा गरे ।
‘फरक-फरक मान्छेको कथामा फरक-फरक घटना घटेको हुन्छ । मैले दैनिक १०-१५ जना मान्छेलाई काउन्सिलिङ गर्छु । उनीहरुले पनि मलाई आफ्ना कथा भन्छन् । मेरो कामै मान्छेको कथा सुन्ने हो’ हरिहरले भने, ‘मैले कथा लेख्दा कहींनेर एस्ट्रोलोजी र धर्मको कुरा टच भएको होला । समग्र फिल्म त्योसँग सम्बन्धित छैन ।’
फिल्ममा भएको कथावस्तु र चरित्र चित्रणजस्तै आफूले एउटै नक्षत्र र समयमा जन्मिएका मान्छे भेटेको चर्चा उनले गरे ।
आफ्नो अभिनय गुणस्तर सुधार्न डेब्यु फिल्म ‘शुभ लभ’ले मद्दत गरेको उनले बताए । ‘मेरो लागि त्यो फिल्म शुभ नै हो । काम गर्ने अवसर पाएँ । ह्रस्व दीर्घमा हाम्रो लगानी छ । ह्रस्व दीर्घ मेरो पहिलो फिल्म हुन्थ्यो भने सच्याउने अवसर पाउने थिइनँ होला । शुभ लभलाई युट्युबमा हेरेर सच्याउने मौका पाएँ’ उनले भने ।
‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते रिलिज हुँदैछ ।
प्रतिक्रिया 4