+
+

डोनाल्ड ट्रम्पलाई सहयोग गर्नुमा एलन मस्कको स्वार्थ के छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते ९:२३

अमेरिकाको पेन्सिल्भेनियास्थित फोल्सोम सहरमा रहेको एउटा स्कुलमा आयोजित कार्यक्रममा अर्बपति एलन मस्कले भाषण गरिरहेको कुरा दिउँसो थाहा पाउँदा जान्डर मुन्डी आफ्नो अफिसमै काम गरिरहेका थिए ।

सबैभन्दा धनी मानिस मस्कल यसअघि आफ्नो सहरमा कति पटक आए ? भनेर उनले घोत्लिएर सम्झिने कोसिस गरे ।

९ हजार भन्दा पनि कम जनसंख्या भएको फोल्सोम सहर निकै शान्त सहर हो । यहाँका मानिसहरु राजनीतिक बारेमा खुल्ला रुपमा कुराकानी गर्न रुचाउँदैनन् र त्यहाँ राजनीतिको चासो र प्रभाव पनि खासै छैन ।

लिजिंग एजेन्ट कार्यालयमा काम गर्ने २१ वर्षीय मुन्डीले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा मतदान गर्ने कुनै योजना बनाएका थिएनन् ।

तर जब एलन मस्कको उपस्थितिसँगै भिड बढ्न थाल्यो तब उनमा पनि उत्साह बढ्यो र त्यहाँ गएर मस्कलाई सुन्ने विचार गरे ।

विद्यालय छाड्दै गर्दा आफ्नो झुकाव कमला ह्यारिस भन्दा डोनाल्ड ट्रम्पतर्फ रहेको उनी सम्झिन्छन् ।

उनी भन्छन् : यदि भविष्यको राष्ट्रपति हुने तथा विश्वलाई नै परिवर्तन गर्नसक्ने त्यस्तो व्यक्तिले आउने चुनावले तपाईंको भविष्य निर्धारण गर्नेछ भनेर भन्छ भने, त्यो निकै ठूलो तथा महत्वपूर्ण कुरा हो ।

पहिले अनौंठो खालका टेक जिनियसको रुपमा पहिचान बनाएका र राजनीतिबाट बाहिरै रहेका एलन मस्क पछिल्लो समयमा अमेरिकी राष्ट्रपतीय चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पको कट्टर समर्थक बनिसकेका छन् ।

यी ५३ वर्षीय अर्बपतिले ट्रम्पलाई जिताउनका लागि आफ्नो समय, सीप तथा पैसा खुल्ला रुपमा खर्च गरिरहेका छन् । राजनीतिलाई गोप्य रुपमा प्रभाव पारिरहने बिजनेस एलिटहरुको बीचमा एलन मस्कको यस्तो खुल्ला भूमिका निकै दुर्लभ मानिएको छ ।

यो तरिका पारम्परिक सीईओहरुको तरिकाभन्दा नितान्त भिन्न छ, जसले प्रायः आर्थिक सहायता संकलन लक्षित महंगा डिनरको आयोजना देखि ह्याम्पटनमा रहेका लक्जरी आवासहरुमा दातासँग भेटघाट गर्ने गर्दछन् । त्यस्तैले त्यसको विपरित देखिएको एलन मस्कको ट्रम्प पक्षीय सक्रियताले आम मानिसहरुमा मस्कको उद्देश्यका विषयमा केही प्रश्न स्वभाविक ढंगले उब्जाएको छ ।

मिचिगन विश्वविद्यालयस्थित रोस स्कुल अफ बिजनेसको उद्यमशीलता विभागका प्रमुख एरिक गोर्डोनका अनुसार सिइओहरुको परम्परागत शैली भनेको सार्वजनिक दृश्यमा नआउनु हो । तर मस्कले भने यो काम गर्वसाथ तथा होहल्लाका साथ गरिरहेका छन् ।

मस्कको ट्रम्पलाई सहयोग गर्ने रानीतिक कार्य समिति, अमेरिका प्याकु ले अहिलेसम्म यो चुनावी अभियानमा ११ करोड ९० लाख डलर खर्च गरिसकेको एक रिपोर्टले देखाएको छ ।

त्यसका अतिरिक्त मस्कको आफै आर्थिक योगदानका कारण उनी यो राष्ट्रपतीय चुनावमा सबैभन्दा ठूलो व्यक्तिगत दाता समेत बनेका छन् ।

एलन मस्कको आर्थिक भरथेगकै कारण चुनावी नतिजामा ठूलो फरक पार्नसक्ने र मतदाताको अभिमत तत्कालै बदलिन सक्ने राज्यहरुमा ट्रम्पलाई घरदैलो अभियान सञ्चालन गर्न र मतदाता परिचालन गर्न सहज भएको छ । यसका लागि मस्कले आफ्ना निकट सहयोगी स्टिभ डेभिसलाई पनि परिचालन गरेका छन् ।

ट्रम्पको चुनावी अभियानमा एलन मस्कको लगानीको विषयलाई मुन्डीले प्रथम दृष्टिमै तत्कालै अनुभूति गरिहाले ।

उनी भन्छन् : यो कुराले म चकित भएँ । कुनै एकजना व्यक्तिले मतदातलाई प्रभावित पार्नका लागि यतिधेरै समय र पैसा खर्च गर्दो रहेछ । यसको अर्थ उनले कुनै उद्देश्यकै लागि यसो गर्दैछन् ।

एलन मस्कको लगानी र दौडधुपले डेमोक्रेटिक पार्टीलाई चस्का लागेको छ । पेन्सिल्भेनियाका डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानले चुनावअघि एलन मस्कले खडा गर्ने जोखिमलाई नजरअन्दाज नगर्न पार्टीलाई आग्रह गरिरहेका छन् ।

उनका अनुसार मस्कले उनलाई निकै मेधाबी ठान्ने जनसंख्या तथा पारम्परिक रुपमा डेमोक्रेटिकहरुको प्रभाव विस्तार गर्न कठीन हुने समुदायलाई आफूतर्फ आकर्षित गर्न सक्दछन् ।

गत जुलाई १३ मा पेन्सिल्भेनियाको बटलरमा आयोजित चुनावी कार्यक्रममा ट्रम्पको हत्या गर्ने प्रयास स्वरुप गोली प्रहार भएसँगै एलन मस्कले ट्रम्पको समर्थन गरेका थिए । त्यसयता उनी चुनावी अभियानको आम हिस्सा बनिसकेका छन् र केवल ट्रम्पले मात्रै अमेरिकी प्रजातन्त्र बचाउन सक्ने भाषण गर्ने गरेका छन् ।

चुनावी अभियानको उत्तरार्धतिर एलन मस्क प्रमुख चुनावी युद्धक्षेत्रको रुपमा रहेको पेन्सिल्भेनियामा केन्द्रित भएका छन् । यो राज्यलाई ट्म्प र ह्यारिस दुवैले केन्द्रमा राखेका छन् ।

ट्रम्पको चुनावी अभियान, राजनीतिक कार्यसमित अर्थात् प्याकले हालै एउटा आकर्षण घोषणा पनि गरेको छ । जस अनुसार मतदाताको रुपमा नाम दर्ता गर्ने तथा हस्ताक्षर अभियानमा दस्तखत गर्ने मतदाता मध्ये एक जनालाई हरेक दिन १० लाख डलर पुरस्कार दिइनेछ ।

ह्यारिसबर्ग र पिटर्सबर्गमा यो सप्ताहन्तभर आयोजित कार्यक्रममा मस्कले यस कार्यक्रमका बिजेताहरुले लट्री शैलीको चेक हस्तान्तरण समेत गरे । त्यहाँ मस्कको पक्षमा नारा पनि लाग्यो ।

सोमबार फिलाडेल्फियामा आयेजित एक र्यालीमा कंग्रेस सदस्य एलेक्जेन्ड्रिया ओकासियो कोर्टेजले मस्कको यस्तो पैसा बाँड्ने कदमको आलोचना गर्दै उनको पक्षमा नाच्ने मानिसहरुलाई मस्कले दशौँ लाख बाँडेको आरोप लगाइन् ।

उनी भन्छिन् : एलन मस्क जस्तालाई के लाग्छ भने जिवन मरणको रुपमा रहेको चुनावको बेलामा श्रमजिवीहरुलाई पैसा बाँड्नु राम्रो कुरा हो । अर्बपतिहरुले आफुले चाहे अनुसारको गर्दछन् ।

त्यस्तै कतिपयले ट्रम्पको चुनावी अभियानमा करोडौं डलर खर्चिने एलन मस्कको अभिप्रायप्रति प्रश्न गरेका छन् । मस्कले ट्रम्पसँगको सम्बन्धबाट व्यवसायिक लाभ लिन चाहेको उनीहरुको आशंका छ ।

विद्युतीय गाडी चार्जिंग प्लाटफर्म चार्जवेका सिइओ म्याट टेस्केको विचार पनि यस्तै छ ।

उनका अनुसार एलन मस्कको राजनीतिक पल्टाबाजी विद्युतीय सवारी उद्योगका अधिकांसको लागि निकै कठीन विषय बनेको छ । तर, पछिल्ला वर्षहरुमा राजनीतिमा सक्रिय बनेका कारण खासै आश्चर्यजनक भने नभएको उनको भनाई छ ।

उनी भन्छन् : मस्कका स्वार्थ केन्द्रिकृत छन् केही निश्चित चिजहरुमा, जुन उनको व्यवसायसँग सम्बन्धित छन् । उनको चासो खासगरी विभिन्न नीति नियमहरुका विषयमा छ । कोभिडका बेला क्यालिफोर्नियामा लगाइएका बन्देजहरुको मस्कले तीव्र रुपमा विरोध गरेका थिए ।

मिचिगन विश्वविद्यालयका प्राध्यापक गोर्डोन पनि यसमा सहमत छन् । उनका अनुसार मस्कलाई के लागेको छ भने नियामकहरुकै कारण उनलाई अड्चन पैदा भएको छ र सरकारी हस्तक्षेपले गर्दा स्वचालित ड्राइभिंग लगायत उनले विकास गर्न लागेका प्रविधिका क्षेत्रहरुमा अवरोध सिर्जना भएको छ । त्यसैले उनी कुनैपनि नियमनले आफुलाई रोक्न नसक्ने गरी नयाँ मार्ग प्रसस्त गर्न राजनीतिको अग्रभागमा देखिन चाहन्छन् ।

उनी भन्छन् : मस्क अर्को बाटो जान चाहन्छन् । उनी मंगल ग्रहमा जान चाहन्छन् ।

यदि आफुले राष्ट्रपति चुनावमा जित हात पारे एलन मस्कलाई अमेरिकी सरकारको खर्च कटौतीको विषयलाई हेर्ने जिम्मेवारी प्रदान गर्ने डोनाल्ड ट्रम्पले बताइसकेका छन् । यदि त्यस्तो निश्चित जिम्मेवारी प्रदान नगरे तापनि मस्क वास्तवमा ट्रम्पका मुख्य सल्लाहाकार भने हुनेछन् । अनि ट्रम्प प्रशासनका निर्णय निर्माणहरुमा उनको ठूले प्रभाव हुनेछ ।

मस्कले भने खुल्ला रुपमै के भनेका छन् भने अमेरिकामा सरकारी नियमनका अवरोधको अन्त्य गर्नका लागि सरकारको दक्षता विभागको नेतृत्व गर्न उनी तयार हुनेछन् ।

तर मस्कको यस्तो भूमिकाले निकै जटिल स्वार्थको द्धन्द सिर्जना हुने डेमोक्रेटहरुको मत छ । किनकि एलम मस्कका कम्पनी स्पेस एक्स र टेस्लाले अर्बौ डलरको सरकारी ठेक्का पाएका छन् ।

त्यसैले ट्रम्प सरकारमा एलन मस्कलाई महत्वपूर्ण जिम्मेबारी दिनु अनैतिक र अवैध हुने क्यालिफोर्निया राज्इका गभर्नरकी पूर्व सल्लाहकार लेनी मेन्डोन्का बताउँछिन् ।

उनका अनुसार सरकार तथा नियामक सम्बन्ध भएका हरुले आवाज राख्न सक्छन् तर आफ्नो स्वार्थपूर्ति हुनेगरी सरकारी पद ओगट्न पाउँदैनन् ।

उता अमेरिकाको संघीय निर्वाचन आयोगकी पूर्व जेनेरल काउन्सेल लरेन्स नोबलले चाहिं ट्रम्पको चुनावी अभियानमा मस्कले गरिरहेको खर्चको वैधानिकतामै प्रश्न उठाएका छन् । यस्तो खालको अभियानले सुरक्षित कार्यवातावरण तथा उपभोक्ता संरक्षणलाई महत्व दिने अमेरिकी हरुमा चिन्ता उत्पन्न गरेको उनको भनाइ छ ।

यद्यपि नोभेम्बरको चुनावी नतिजा जे आएपनि आफुलाई तहल्काबाजको रुपमा चिनाउन मन पराउने मस्कले अमेरिकी सरकारसँगको आफ्नो नाफामुलक सम्बन्धलाई जारी नै राख्नेछन् ।

तथापि अहिले उनको ब्राण्ड र प्रतिष्ठा डोनाल्ड ट्रम्पसँगै जोडिएको छ, जुन कुरा मस्कलाई पनि थाहा छ ।

-बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?