+

नेपाल फेरि उपविजेतामै सीमित, बंगलादेश च्याम्पियन

२०८१ कात्तिक  १४ गते २०:२४ २०८१ कात्तिक १४ गते २०:२४
नेपाल फेरि उपविजेतामै सीमित, बंगलादेश च्याम्पियन

१४ कात्तिक, काठमाडौं । नेपाल एक पटक फेरि घरेलु मैदानमा फाइनलमा चुक्दा साफ वुमन्स च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै बनेको छ ।

बुधबार भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा घरेलु टोली नेपाललाई २-१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ५२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा मात्र एक गोल फर्काइन् ।

बंगलादेशका दुई डिफेण्डरले सुरुवातदेखि नै नेपालकी मुख्य खेलाडी सावित्रा भण्डारीलाई मार्क गरेका थिए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक-एक प्रहार बारमा लागेको थियो ।

पहिलो हाफको सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बनाएको थियो । दोस्रो मिनेटमै नेपालको गल्तीमा बंगलादेशले राम्रो अवसर पाएको थियो ।

गोल पोष्टबाट बल चलाउने बेला गीता राना बल हान्ने बेला चिप्लिएपछि बंगलादेशकी तोहुरा खातुनले वान भर्सेस वानको अवस्थामा हानेको प्रहार बारमा लागेर फर्कंदा नेपाल भाग्यमानी बनेको थियो । रिबाउण्डमा तोहुराले नै हानेको बल गोलकिपर एन्जिलाले समाइन् ।

अमिसाले त्यसपछि पनि गोल गर्ने अवसर पाएकी थिइन् तर फिनिसिङमा चुकिन् ।

१९ औं मिनेटमा नेपालकी अमिशा कार्कीले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार बारमा लागेर फर्कंदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो ।

३३ औं मिनेटमा बंगलादेशले बक्स नजिकै फ्रिकिक पाएको थियो । तर मोनिका चक्माको प्रहार पोष्टभन्दा बाहिर गयो ।

दोस्रो हाफमा नेपाली टिममा दुई परिवर्तन भएको थियो । पूजा रानाको स्थानमा समीक्षा घिमिरे र सरु लिम्बुको स्थानमा रश्मिकुमारी घिसिङ मैदान प्रवेश गरेका थिए ।

५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बंगलादेशले पहिले अग्रता लियो । कप्तान सबिना खातुनको पासमा मोनिकाले गोल गरेकी थिइन् । तर त्यो गोल धैरै समय टिकेन ।

त्यसको चार मिनेटपछि नै अमिशा कार्कीले नेपालको लागि बराबरी गोल फर्काइन् ।

त्यसपछि पनि दुवै टोलीले अगता लिने अवसर पाएका थिए । ६१ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले बायाँ साइडबाट हानेको बल पोष्ट नजिकबाट बाहिर गएको थियो ।

६७ औं मिनेटमा नेपाली गोलकिपर एन्जिलाले मोनिका चक्माको प्रहार उत्कृष्ट बचाउ गर्दा बंगलादेशले अग्रता लिने अवसर गुमाएको थियो ।
तर ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले उत्कृष्ट गोल गर्दै बंगलादेशलाई फेरि अग्रता दिलाइन् ।

उनले बायाँ साइडबाट बक्समा हानेको क्रस सिधै गोलमा परिणत भयो । नेपाली किपर एन्जिलाले बचाउने प्रयास गरे पनि असफल भइन् ।

ऋतुले गोल गर्दै दशरथ रंगशालमा उपस्थित १५ हजार भन्दा बढी दर्शकलाई साइलेन्ट बनाइन् । उनको सेलेब्रेसन पनि त्यस्तै शैलीको थियो ।

त्यसपछि नेपाली दर्शकले लगातार ‘नेपाल नेपाल’ भनेर हुटिङ गरिरहेका थिए । नेपाल बराबरी गोल फर्काउन प्रयास गरिरहे पनि सफल हुन सकेन ।

घरेलु मैदानमा साफको उपाधि जित्ने नेपालको लक्ष्य तेस्रो प्रयासमा पनि पूरा भएन ।

यसअघि २०१९ मा विराटनगरमा भएको साफमा भारतसँग फाइनलमा हारेको नेपाल २०२२ मा काठमाडौंमै बंगलादेशसँग पराजित भएको थियो ।

नेपाल साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशसँग दोस्रो पटक पराजित भएको हो । सन् २०२२ मा भएको छैटाैं संस्करणमा नेपाल बंगलादेशसँग दशरथ रंगशालामै ३-१ ले पराजित भएको थियो ।

साफमा नेपालले सर्वाधिक छैटाैं पटक फाइनल खेलेको छ । बंगलादेश तीन पटक फाइनल खेल्दा दुई पटक उपाधि जितेको छ ।

बंगलादेश सन् २०१६ को फाइनलमा भारतसँग पराजित भएको थियो। नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को फाइनलमा भारतसँग पराजित भएको थियो । सन् २०१६ मा नेपाल सेमिफाइनलमै भारतसँग पराजित भएको थियो ।

नेपालले साफ वुमन्स च्याम्पियनसिपमा घरेलु मैदानमा लगातार तेस्रो पटक फाइनल खेलेको हो ।

समग्रमा पछिल्लो डेढ दशकमा नेपाले १२औं पटक फाइनल खेलेको हो । सन् १९८६ मा एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको नेपाली महिला टोलीले सन् १९८९ र १९९९ मा पनि एएफसी च्याम्पियनसिप खेलेको थियो ।

को को ले पाए व्यक्तिगत पुरस्कार ? 

प्रतियोगितामा भुटानले फेयर प्ले अवार्ड पाएको छ भने भुटानकै देकी लाजोम सर्वाधिक गोलकर्ता बनिन् । उनले ८ गोल गरेकी थिइन् । उत्कृष्ट गोलकिपर बंगलादेशकी रुपमा चक्मा बनिन् भने सर्वोत्कृष्ट खेलाडी बंगलादेशकै रितु पोर्ना चक्मा बनिन् । उनले फाइनल खेलमा बिजयी गोल गरेकी थिइन् ।

विजेता टिम तथा खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेप सदस्यसचिव टंकलाल घिसिङ, साफ उपाध्यक्ष सुन्दरनरसिंह जोशी, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले पुरस्कार प्रदान गरे ।

तस्वीरहरु : विकास श्रेष्ठ र चन्द्रबहादुर आले

साफ वुमन्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय