काठमाडौं । निर्माणाधिन नेपाली कथानक फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फन्ड पोस्ट-प्रोडक्सन अनुदानका लागि चयन भएको छ । यस अन्तर्गत यस फिल्मले ६०,००० युरो (८७ लाख रुपैयाँ) आर्थिक सहयोग प्राप्त गर्ने भएको छ ।
निर्देशक साहारा शर्मा ह्युबर्ट बाल्स फन्डको पोस्ट-प्रोडक्सन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक बनेकी छन् । गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी), र क्रोमोजोम फिल्म (जर्मनी)को सह-निर्माण रहेको यो फिल्म नेपालकै पहिलो महिलाप्रधान अन्तर्राष्ट्रिय स्तरमा सह-निर्मित फिल्म समेत हो ।
नेपालबाट ‘मन प्रडक्सन’ र ‘अन्डरग्राउन्ड टकिज’ पनि निर्माणमा सहभागी छन् । फिल्मका अन्य निर्मातामा नेपालबाट अनुप पौडेल र सामीप्यराज तिमल्सेना छन् । कार्यकारी निर्मातामा निकुन श्रेष्ठ संलग्न छन् । जर्मनीबाट रोक्शाना रिचर छिन् ।
विवाहको पृष्ठभूमिमा बुनिएको ‘एक मुठ्ठी बादल’ले घरभित्रको सीमित दायराभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा पेश गर्छ । युवतीमाथि समाजले राखेका अनेकन अपेक्षा र आफूभित्र निसास्सिरहेको उनको स्वतन्त्रताको चाहनाबीच उत्पन्न द्वन्द्वलाई फिल्मले उजागर गर्छ ।
गृहिणी हुनुका साथै पारिवारिक जीवनको पनि केन्द्रमा रहेका नेपाली समाजका कैयौँ महिलाका अनेक अदृश्य त्याग, संघर्षलाई र निःस्वार्थ योगदानलाई फिल्मले कथामा समेटेको छ । फिल्ममा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव बिष्ट, अविरल प्रताप अधिकारी, भीमा मैनाली, अश्मिता गौतमको अभिनय छ ।
निर्देशक शर्माले फिल्मले पोस्ट-प्रोडक्सनको लागि प्रिितष्ठित फन्ड पाएकोमा खुसी व्यक्त गरेकी छन् । ‘नेपाली नारीहरूका दुःख, सुख, त्याग, तपस्या, बलिदान, यिनका अनेक पक्ष र क्षमतालाई विश्व स्तरमा चिनाउने मेरो सँधै प्रयत्न रहेको छ । यो पुरस्कारले त्यहीतर्फ चलेको हाम्रो यात्रालाई उडान भरेको छ, म अत्यन्तै खुसी छु’ शर्माको भनाइ छ ।
निर्माता दीक्षित महिला केन्द्रित फिल्म निर्माणका लागि समर्पित अभियन्ता हुनुका साथसाथै गौथली इन्टरटेन्मेन्टका सञ्चालक पनि हुन् । दीक्षित रोटरडम ल्याब तथा कान्स फिल्म फेस्टिभलको प्रडुसर नेट्वर्कका सहभागी पनि हुन् ।
उनको नेतृत्वमा ‘एक मुठ्ठी बादल’ लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी, इण्डियन फिल्म बजारलगायत ढाकाको ‘वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याब’मा पनि छनोटमा परेको छ । सह-निर्माता सारा फाजिलात अनुभवी अन्तर्राष्ट्रिय फिल्मकर्मी र कलाकार पनि हुन् ।
‘निको’ (२०२१) र ‘होली स्पाइडर’ (२०२२)जस्ता प्रख्यात र पुरस्कृत फिल्मका निर्माता र अभिनेत्री समेत रहेकी फाजिलात समानता र विविधता प्रवद्र्धन गर्ने अभियानमा सक्रिय भूमिका खेल्दै आएकी छिन् ।
ह्युबर्ट बाल्स फन्डमा छनोट भएपछि ‘एक मुठ्ठी बादल’ को अन्तर्राष्ट्रिय सम्भावना बढेको छ । फिल्म पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेकोले फन्डकोे आर्थिक सहयोगले यसलाई उच्च गुणस्तर पुर्याउन महत्वपूर्ण सहयोग पुर्याउने विश्वास निर्माताले लिएका छन् । फिल्मलाई २०८२ सालमा प्रिमियर गराउने योजना रहेको निर्माता दीक्षितले बताए ।
प्रतिक्रिया 4